Pages

Thursday, March 1, 2018

यो सुशासन पनि आसेपासे र पार्टीका झोलेकै लागि -आनन्दराम पौडेल




   
     वामगठबन्धनले भ्रष्टाचारमुक्त प्रशासन र सुशासनको नारालाइ दिनदिनै घोकाइरहेपनि अविश्वास कहाँबाट शुरु हुन्छभने आफ्नो स्वार्थमा प्रशासनलाइ मनपरी प्रयोग गर्ने हस्तिहरुकै अहिले पनि रजगज र हालिमुहालि छ।
    यो पङ्क्तिकारको घर चुरेछेउमै भएकोले अग्नि सापकोटा वनमन्त्री हुँदा उहाँले चुरे संरक्षण विकास समितिलाइ आफ्नो स्वार्थमा घीनलाग्दो हदसम्म प्रयोग गरेको दृष्य हाम्रो आँखासामु छर्लङ्ग छ। सर्वप्रथम उनले समितिमा आफ्ना आसेपासे र पार्टीका झोलेहरु मात्र नियुक्त गर्नका लागि रामेश्वर खनाल जस्ता ब्यक्तिहरुलाइ मिल्काए। उनले नियुक्त गरेका ती आसेपासे र झोलेहरु पनि यस्ता थिए, जोसँग बिषयगत ज्ञान पटक्कै थिएन। बिषयगत ज्ञान पटक्कै नभएका मात्र हैन, न त उनीहरुसँग अनुभव नै थियो न त भिजन। उनीहरु संस्थालाइ दोहन गर्नचाहीं चौपट्टै शिपालु थिए र यथावत छन्। गलत ब्यक्तिहरु नियुक्त गरेको बिषयमा महालेखापरीक्षकको विभागले बारम्बार प्रश्न उठाइरहेको छ र बार्षिक प्रतिवेदनमा समेत् उल्लेख गरेको छ। अग्नि सापकोटाले गलत बाटोतिर लगेर संस्थालाइ रछान बनाइदिएपछि, आफ्ना आसेपासे र झोलेहरु भर्ना गर्न पछिल्ला वनमन्त्री बिक्रम पाण्डेलाइ झन् सहज हुनगयो। यिनै अग्नि सापकोटा यो वामगठबन्धनका एउटा महारथि भएर रहेका छन्।
    खाद्य संस्थानमा कामभन्दा कर्मचारी बढी भए भनेर बारम्बार प्रतिवेदन आइरह्यो। ती पटक-पटकका प्रतिवेदनलाइ लुकाइयो र मन्त्रीको दबाबमा नेताका आसेपासे र पार्टीका झोलेहरुलाइ मनपरीसँग जथाभावि नियुक्त गरेकोगर्यै गरे।
    पहिलोपटक प्रधानमन्त्री भएको बेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना आसेपासे र पार्टीका झोलेहरुलाइ राज्यकोषबाट बितरण गर्न सुन्दर देखिने आवरणमा भव्य योजना बनाएका थिए। जस्लाइ युवा स्वरोजगार कोष नाम दिइएको थियो। सर्सर्ति हेर्दा आकर्षक लाग्नेगरी सुन्दर आवरणमा लपेटिएको भएपनि यस्को भित्री उद्देश्य र मनशायचाहीं राज्यकोषबाट आफ्ना आसेपासे र पार्टीका झोलेहरुलाइ पोष्ने नै थियो। युवा स्वरोजगारको रकमको अवस्था अध्ययन गर्ने टोलीले केही महिनाअघि धनगढीमा र हालसालै दोलखामा अध्ययन गर्दा युवा स्वरोजगार कोष भनकै नेताका आसेपासे र पार्टीका झोलेहरुलाइ पोष्नका लागि तैयार गरिएको योजना हो भन्ने सबैले बुझेका र सोही अनुसार उक्त रकमलाइ ढुक्कैसँग आफ्ना ब्यक्तिगत मनमौजीमा खर्च गरेको पाइयो। त्यही कार्यकालमा प्रचण्डले केही निजामति कर्मचारीलाइ मात्र सुटुक्क मासिकभत्ता थपिदिएका थिए। सुटुक्क भत्ता मासिक रुपमा नियमित पाउने निजामति कर्मचारिको संख्या अहिले १० हजारभन्दा बढी छ। यस्बाट प्रचण्डले जर्ज अरवेलको ‘एनिमल फार्म’ मा लेखिएको “अल एनिमल आर इक्वेल, बट सम एनिमल आर मोर इक्वेल” सूत्र राम्रैसँग घोकेका रहेछन् भन्ने प्रष्ट बुझिन्थ्यो।
     अल्लि अघि सूचना तथा सञ्चार मन्त्री हुँदा कृष्णबहादुर महराले टेलिकमको शेयर सरकारी कर्मचारीको लागि ९० रुपैयाँ र जनताको लागि छ शय रुपैयाँमा नघट्नेगरी बढाबढ गराइदिएका थिए। यही गलत नजीरको परिणाम के भयोभने कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषको सञ्चित रकम जुन-जुन कम्पनीमा लगानी गर्नखोज्यो यी कोषका कर्मचारीहरु हमला गर्न पुगिहाल्छन् र कर्मचारीको लागि मनग्गे शेयर अग्राधिकारमा नराखेसम्म डेग चल्न नदिने स्थिति सृजना गर्छन्।
     प्रचण्ड र कृष्णबहादुर महरा मिलेर क्याण्टोन्मेण्टका लडाकुको नाममा छ-सात अरब रकम ठाडै हजम गरिदिएको दृष्य त दुनिञासामु छर्लङ्गै छ। यिनै करष्णबहादुर महरा पनि अहिलेको वामगठबन्धनका अर्का महारथि हुन्।
   आत्महीन हूललाइ साथ लिएर यत्रो स्वतन्त्रता आन्दोलन कसरी सफल होला भनेर एकपल्ट जवाहरलाल नेहरुले महात्मा गान्धीलाइ पत्र लेखेका थिए। अङ्ग्रेज सरकारले ‘गभर्नमेण्ट अफ इण्डिया एक्ट’ पास गरेर छद्म लोकतन्त्रको मिष्ठान्न भोजन पस्कने तैयारी ग-यो। यो कानुनले सत्तामा जनप्रतिनिधिहरु सम्मिलित संरचनाको कल्पना गरेको थियो। कानुन पास भएर लागू हुन वाँकि नै थियो, कांग्रेसका नेता र कार्यकर्ताहरु सत्ताको लोभले छचण्डाउन थाले। यो दृष्य देखेर चिन्तित भएका जवाहरलालले १३अगस्त १९३४मा महात्मा गान्धीलाइ यस्तो पत्र लेखे: “आज एकाएक काङ्ग्रेसका नेता ती ब्यक्ति बन्न आइपुगेका छन्, जस्ले हाम्रो बाटोमा अवरोध श्रृजना गरेका थिए। जस्ले हाम्रो खुट्टा तानेका थिए। जो सङ्घर्षमा कहिल्यै सामेल भएनन्, बरु छलेर र भागेर हिंडे। र, जो सङ्कटका बेलामा विरोधीसँग मिल्न पुगेका थिए। तिनीहरु आज हाम्रो स्वतन्त्रता-मन्दिरमा महापूजारी बन्न आइपुगेका छन् र जो सङ्घर्षको मैदानमा अग्रमोर्चामा थिए, तिनीहरुलाइ छेउमा पर्न दिइरहेका छैनन्।”      सायद यो दक्षिणएशियाकै रोग होला,तर नेपालमा अलि चर्को छ। धेरै टाढा जानैपर्दैन, हाम्रो संझना भित्रकै दृष्यलाइ लिउँ न। २०४७ को परिवर्तनपछि सत्ताधारीको छेउमा, चोटाकोठामा र भान्छामा डाडुपन्यूँ समाउन को-को आइपुगेका थिए ? २०६३पछि चोला बदलेर हस्याङफस्याङ गर्दै बैठक कोठामा ढसमस्स को बसिरहेका छन् ? यो प्रवृत्ति आजको त हैननि ! पानीपत विजय गरेर वावर जव दिल्लीतिर कूच गरे, बाटामै स्तुति गाउन भाट कविहरु पुगे। बिश्रामस्थल र चौतारामा ओस्तादहरु मधुर गानवजान गर्न थाले। ब्यापारीहरु धन चढाउन पुगे। निम्नमध्यम वर्गले आफनै छोरी खिदमतमा पेश गरे। यस्लाइ हाम्रो नेपालको २०४६देखि यताको विहङ्गम दृष्यसँग तुलना गरी हेर्नुहोस्। एउटा दृष्य टड्कारो देख्नुहुनेछ। जो २०४६सम्म दरबारियाको चाकरी गर्थ्यो, त्यही रातारात वहुदलीय नेताको ढोका चाहार्न थाल्यो। २०५९\ \ १९ को भोलिपल्टै तिनै ब्यक्ति पुन दरबार हाजिर भैसकेका थिए। २०६३\ \ १२पछि तिनै ब्यक्ति १नम्बर क्रान्तिकारी वनेका थिए। यिनै १नम्बर क्रान्तिकारीहरुले तराईमा राष्ट्रिय झण्डा जलाइरहेका थिएनेपाल विद्युत प्राधिकरणमा दिपेन्द्रनाथ शर्मालाइ तिरिमिरी झ्याईं पारेका थिए र कुलमान घिसिङलाइ पनि शुरुमा निकै अवरोध गरे।
    यदि साँच्चै भ्रष्टाचारमुक्त प्रशासन र सुशासन कायम गर्ने होभने हिजो गरेका अपारदर्शी, मनपरी कर्मका बिषयमा पश्चाताप गर्नुपर्छ। स्वच्छ, पारदर्शी, सुशासनको लागि सर्वप्रथम अगुवाहरु आफैंले नमुना बनेर देखाउनुपर्छ। प्रशासनभित्रका सदाचारीहरुलाइ खोजी-खोजी सम्मान गर्नुपर्छ। जनसमुदायले गलत भनेका ब्यक्तिहरुलाइ किनारा लगाउँदै जानुपर्छ। आफ्ना आसेपासे र पार्टीका झोलेहरुलाइ काखीच्याप्ने प्रथा बन्द गर्नुपर्छ।
बिहीवार, मार्च 01, 2018
  



No comments:

Post a Comment