Pages

Thursday, March 29, 2018

यसरी भयो नेपाल राष्ट्रको पतन



-आनन्दराम पौडेल


       चैत्र ११ गते आइतबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरकार्यपालिकाको औपचारिक बैठक शुरु भएको थियो। बजेट बिनियोजन बिषयमा छलफल हुँदैथियो। वडा नम्बर १० का अध्यक्ष रामकुमार खँड्काले वडा नम्बर ९ का अध्यक्ष प्रकाश राउतबिरुध्द पहिले शब्दबाण प्रहार गरे; त्यतिले धित नमरेपछि पानीका बोतलहरुले पनि प्रहार गरे।
    निर्वाचित भएदेखि नै भक्तपुर थिमी नगरपालिकाका मेयर र उपमेयरले एकले अर्कोलाइ आरोप-प्रत्यारोप मात्र गरेर दिन बिताइरहेछन्।
     उदयपुरकै खसीबासको राष्ट्रिय वनभित्र अत्तो-न-पत्तोसँग आफूखुशि डोजर लगेर खनिरहेको देखेपछि सेक्टर वन कार्यालयका वरिष्ठ वन अधिकृत नारायण श्रेष्ठले रोकिदिए। वनभित्र खन्न रोकेको भन्दै कटारी नगरपालिका-१ का वडासदस्य काशीराज पोखरेललगायत जनप्रतिनिधिहरु वन कार्यालय गए र वन अधिकृतलाइ चड्कन हाने।
    यी प्रतिनिधि उदाहरण मात्र हुन्। हाम्रा नवनिर्वाचित जनप्रतिनिधिहरु योभन्दा तल्लो स्तरमा उत्रेको र जगहँसाई गरिरहेको लाजमर्दो स्थिति अनगिन्ति छन्। तर, बिडम्बना के भैरहेछभने सबैको लागि उदाहरणीय बन्नुपर्ने जनप्रतिनिधिहरु नै धेरै तल गिरेपछि त्यस्को ‘ट्रिकल डाउन इफेक्ट’  समाजको तल-तलसम्म परिसकेको छ।
    मुगुको सदरमुकाम गमगढीमा एसईई परीक्षा सञ्चालन भैरहेको थियो। चैत्र १२ गते सोमबार गणितको परीक्षामा परीक्षार्थिहरुले चिट चोर्न भरमग्दुर प्रयास गरे। प्रहरीले पनि त्यस दिन अलि बढी नै निगरानि गरेछ। प्रहरीले निगरानी बढाएर चिट चोर्न नपाएकोमा परिक्षार्थीहरु रीसले आगो भए। बिद्यार्थीहरुले प्रहरीमाथि झम्टे र ढुङ्गाले हाने। त्यतिले नपुगि प्रहरी पोष्टमा ढुङ्गामुढा गरे। प्रहरीहरु घाइते भए।
     “यातायात ब्यवसायी महासङ्घलाइ चित्त बुझाएर र महासङ्घको अनुमति प्राप्त गरेर मात्र नेपालमा गाडी चल्नसक्छन्। नेपालको कानुन, नियम र नेपाल सरकारको प्रकृया पुर्याउनुको कुनै मतलब छैन”, भनेर महासङ्घले नेपाल सरकारलाइ खुल्ला च्यालेञ्ज दिईरहेको छ।
     नेपाल यातायात ब्यवसायी महासङ्घले नेपालको ऐन-नियमअनुसार हैन सङ्घको निर्देशनमा चल्नुपर्छ भनेर च्यालेञ्ज गर्ने हिम्मत, साहस कहाँबाट आयो ? दूर्गम, अनकण्टार जिल्लाका बिद्यार्थीहरुलाइ कस्ले अपराधी बनायो ? यो अत्यन्तै गम्भीर र सम्वेदनशील सवाल हो र राष्ट्रलाइ जोगाउने होभने यो सवालमा घोत्लिनैपर्छ।
    २०४७ सालमा भर्खर बहुदल आएको बेलामा एमाले र काङ्ग्रेसका नेताहरुले हामी सर्वसाधारण जनतासँग पनि सम्वाद, छलफल, विमर्श गर्थे। “राजनीतिक परिवर्तन भन्दा आर्थिक परिवर्तन कठीन छ र सांस्कृतिक परिवर्तन त निकै उकालो छ। सांस्कृतिक परिवर्तनको लागि लामै समय लाग्नेभएकोले अहिल्यैबाट तैयारी शुरु गर्नुपर्छ”,  त्यसबेला हामीले भन्थ्यौं। काङ्ग्रेसका नेताहरुले यो सुझाव सुन्नैचाहेनन्, एमालेका नेताहरुले चाहीं एक कानले सुनेर अर्को कानले उडाइदिन्थे।
     नेपालमा परिवर्तनको नाममा भत्काउने र ध्वङ्स मात्रै गर्ने अर्को राजनीति अगाडी आयो। तर,विस्थापनको सिध्दान्त के होभने कुनैपनि संस्थापनलाइ भत्काउनु, फाल्नुअघि तपाईंसँग वैकल्पिक खाका हुनुपर्छ। अनिवार्य शर्त केहोभने वैकल्पिक खाका साविकभन्दा उन्नत र बैज्ञानिक हुनुपर्छ। सशस्त्र द्वन्दकालमा माओवादीले एकोहोरो बिध्वङ्स मात्रै गरिरह्यो, वैकल्पिक खाका प्रस्तुत गरेन। वैकल्पिक सोच नभएकैले दशैंमा मान्यजनले लगाइदिने टीका,जमरा तथा तिहारमा दिदीबहिनीले लगाइदिने टीका,मालालाइ धेरै बर्षसम्म बहिस्कार गरेका प्रचण्डले “ब्यर्थै बहिस्कार गरिछु” भन्दै र पश्चाताप गर्दै पुन ग्रहण गर्न थालेका छन्।
    राष्ट्रिय चरित्र र लोकतान्त्रिक संस्कृतिको निर्माणलाइ पटक्कै वास्ता नगरेकोले आज हामी यो स्थितिमा आइपुगेका छौं। हजुरबाले चिनेको चौतारो हामीलाइ भद्दा लाग्छ। हाम्रा बाउले बनाएको पँधेरो भन्न शरम लाग्छ। होलीमा पुरातनको गन्ध आएकोले आधुनिकताको स्वाद चाख्न भ्यालेण्टाइन पुग्छौं। हाम्रा मूल्यमान्यता निख्रिएका छन्। मौलिकताको रङ्ग खुइलिईसकेको छ। मानवीय मूल्यहरु खोटासिक्का भएका छन्। राष्ट्र, समाज, समुदायको लक्ष हराएको छ। जीवनयात्राको बाटो र दिशा भुलिसकेका छौं। भूईंफुट्टा वर्गको विकास भएको छ र टपर्टुईंयाँ संस्कृति स्थापित भएको छ।
    नेपाल राष्ट्र र नेपाली जातीको सांस्कृतिक पतन भएको त छर्लङ्गै देखिएको छ, तर यस्का जिम्मेवार को-को हुन् ? भन्ने सवाल पनि खडा भएको छ। यो भाँडभैलोको जिम्मेवार को हो ?  भन्ने सवालको उत्तर खोज्दैजाँदा सत्य-तथ्य-यथार्थ यो फेलापर्छ।
    राज्यव्यवस्था बिग्रेर भाँडभैलो मच्चिनुको कारण हाम्रा नेता र शासकहरु हुन्। उनीहरु ढोंगी, पाखण्डी र आडम्बरी छन्। भित्र-भित्र एकथोक सोच्छन्, ठाउँअनुसार बोल्छन् र अर्थोकै गर्छन्। शब्द र कर्मबीच इमान छैन। उनीहरुकै कर्म, चरित्र र ब्यवहारले गर्दा नेपालको राजनीति बिद्रुप भएको छ। पार्टीका नेताहरुको छवि ध्वस्त भएको छ। जनताको नजरमा भँडुवा भएका छन्। आस्था सिध्दिएको छ र विश्वासको सङ्कट पैदाभएको छ।
   त्यस्तै, समाज बिग्रनुको कारण र जिम्मेवार बाहुनहरु हुन्। किनभने, केही बर्ष अघिसम्म उनीहरु नै समाजका अगुवा हुन्। हाम्रा बाहुनबाजेहरुले गहीरो अध्ययन गर्न छाडे। खोज, अनुसन्धान, उत्खनन त गर्दैगर्दैनन्। आत्मविश्वास हराएको छ। बाहुनहरुमा आत्मविश्वास नभएकोले समाज रूढी र अन्धविश्वासले ग्रस्त छ। यिनीहरु फेरि आफूलाइ अति जान्नेसुन्ने ठान्छन्। अहङ्कार र घमण्ड चर्को छ। मै हुँ भन्छन्। यिनीहरुमा टीम स्पिरिट र टीम कल्चर छैन। छलफल, विमर्शको सम्भावना न्युन छ। आफ्नै कारणले यी बाहुनहरुको पतन भएको छ। यिनीहरुको पतनसँगै समाज अनाथ भएको छ।
     नेपाल राष्ट्रको पतन र नेपाली समाजको पतनका कारण डाइग्नोशिस भएकोले यो राष्ट्रलाइ जोगाउने होभने यस्को उपचारतिर लाग्नुबाहेक अर्को बिकल्प छैन।
बिहीवार, मार्च 29, 2018
    


  





No comments:

Post a Comment