‘गौप्राणि’ को सवाल
-आनन्दराम पौडेल
हेटौंडामै बसेर जीवनभरी सङ्गीतसाधना गरिरहेका,गराईरहेका तथा साङ्गितीक
प्रवर्ध्दनलाइ संयोजन गरिरहेका प्रमेन्द्र महर्जनको घरमा हाम्रा ‘गौप्राणि’ सँग जम्काभेट
भयो। आफ्नो सदावहार स्वभावअनुसार नै यो अकिञ्चनसँग उनले एउटा रचनाको मागदावी गरे। पछिल्लोकालमा
हाम्रा ‘गौप्राणि’ ले आफूलाइ साहित्यिक गतिविधिमा मात्र सीमित राखेका छन्। र,
साहित्यिक द्वैमासिक ‘मातृभूमि’ लाइ पनि नियमित प्रकाशन गरिरहेका छन्।
यो अकिञ्चनले यी गौप्राणिसँग किशोरावस्थादेखि
नै निकटतम सम्बन्ध बनाएर सहकार्य गर्दैआएको हो। सिङ्गै जीवनभरीको जीवन्त सम्बन्धको
ग्यारेण्टी राखेर ठोकुवा गर्न सक्छु, यी गौप्राणि आफूलाइ गुँडुल्क्याएर राख्ने
ब्यक्ति थिएनन्। आफ्नो समाज, आफ्नो राष्ट्र र हाम्रो सभ्यताप्रति सम्वेदनशील भएर
चासो राख्ने, चिन्ता लिने तथा टिप्पणि र प्रतिकृया ब्यक्त गर्ने ‘आलोचनात्मक चेत
भएका जागरुक मनुष्य’ नै हुन्। सही र गलत छुट्याउने तथा ‘गलत’ लाइ ‘गलत’ भन्नसक्ने
र भन्ने नै हुन्। यस्ता जागरुक्, गतिशील विश्वनागरिकले किन आज आफूलाइ गुँडुल्क्यार
राखे ? बिनाकारण, त्यत्तिकै यी सङ्कुचित भएका होइनन्। प्रमेन्द्रको घरमा
गौप्राणिसँग सँगै बसुञ्जेल यो अकिञ्चनको दिमागमा यो प्रश्न जुर्मुराएर उठ्यो।
२०४६ सालमा जनआन्दोलन भैरहँदा गौप्राणि
परिवर्तनको पक्षमा देखिएको थियो। २०४८ पछि राजनीतिक पार्टीका नेताहरु आ-आफ्ना
क्षुद्र स्वार्थ, गुटगत स्वार्थ र सत्तालिप्सामा लिप्त रहेको देखेर दिक्क भएको
थियो। नेताहरु जेजसरि भएपनि सत्तामा पुग्ने र राज्यसंयन्त्रलाइ नै आफ्नो स्वार्थमा
प्रयोग गर्ने एकसूत्रीय अभियानमा रहेका पाएपछि निराश हुनथालेको थियो। २०६३ सालपछि
त भारतसँग पश्चिमा (अमेरिकन एलाइन्स र युरोपीयन युनियन) ले गठजोड गरी नेपाललाइ
आफ्नो रणमैदान बनाएको देखेर अत्तालियो। यो राष्ट्रलाइ विखण्डित गर्न र छिन्नभिन्न
पार्न यो गठजोडले ठूलै धनराशि लगानि गरे। घुलमिल भएर मिलिजुली बसेको नेपाली समाजलाइ
यो गठजोडले जात-जातमा पुन विभाजित गर्दै र जातीय विद्वेषको बिष घोल्दै एकआपसमै
भिडाइदिन थाल्यो र यति सुन्दर नेपाली समाजलाइ रणभूमि बनायो। साम्प्रदायिक विभाजन
गर्न कस्तोसम्म सूत्र प्रयोग गर्योभने ‘आर्य’ भन्नाले पहाडीया बाहुन-क्षेत्री
मात्र हुन्; तराईका बाहुन-क्षेत्री ‘आर्य’ होइनन् भनेर अपब्याख्या गर्दै ब्यापक
प्रशिक्षण चलाइयो।
झापाका लोकप्रिय, आदर्श नेता
राजेन्द्र लिङ्ग्देनले प्रतिनिधिसभाको बैठकमा उठाएको सवाल सुनेर गौप्राणि सन्न
भयो। राजेन्द्र
लिङ्देनको प्रश्न थियो, “आरक्षण मलाई कि मेरो घरमा काम गर्ने बाहुन-बाहुनीलाई ? म लिम्बुको छोरो हुँ । तराई आएपछि दुईचार कक्षा पढियो, केही कमाइयो । मेरो घरमा एक जोडी बाहुन-बाहुनी काम गर्छन् । बाहुनी किचनमा र
बाहुन गोठमा । अब जातीय आरक्षणको कोटा म र मेरा सन्तानले पाउने तर उनीहरु त्यहीं थिचिइरहने हुन्छ ? यो न्याय भयो ?”
झापाका लोकप्रिय नेता, निर्वाचित सांसद राजेन्द्र
लिङ्ग्देनको उपरोक्त सवाल सुनेर गम्भीर भएका गौप्राणि, पत्रकारितामा स्थापित भएका
सकृय पत्रकार रञ्जित तामाङको यो जिज्ञाशा सुनेर विह्वल भयो। रञ्जित तामाङको
जिज्ञाशा थियो –
“क्रसर चलाउनेहरू एकाध बर्षमै सम्पन्न भए र नेता बने, चारखाल अड्डातिर कागजपत्र
मिलाइदिनेहरू रिङरोड भित्रका हवेलीमालिक भए... । तर कुखुरा, बाख्रा, बङ्गुर पाल्ने, टनेलमा तरकारी खेति गर्ने, गाईभैंसी पाल्ने नयाँ पुस्ताका उद्यमीहरू उँभो लागेको कहिल्यै देखिँन । मेरो
आँखा फुटेको हो कि कृषि उद्यम गर्नेहरूको साच्चिकै दुर्गति भएको हो ?”
बाजुरा पुगेर मित्रहरुले त्यहाँका
गाउँबस्तिको बर्णन गरेपछि त गौप्राणिले भन्नथाल्यो, “नेताहरु आफू त कुहिए, सढे र
दुर्गन्धितै भए, त्यस्को असर-प्रभाव गाउँसमाजसम्म नै पुगेछ।” बाजुरा पुगेर आएका मित्रहरुले सुनाएका थिए –
“बाजुरा जिल्ला, गौमुल गाविस वडा नं ४ मा अक्कल रोकाया र सुके रोकाया दाजु-भाइ
हुन्। एउटै घर छ। मिलेर बसेका थिए। ४ बर्षअघि अक्कल रोकाया एमाले पार्टीतिर
लागेछन्। त्यो दिनदेखि सुके रोकाया आफ्नै भाइसँग बोल्दैनन्, आँखा तर्छन्। त्यही
वडामा ज्ञानबहादुर रोकाया र प्रेम रोकाया पनि दाजुभाइ हुन्। राम र लक्ष्मणको जोडी
जस्तै मिलेका थिए। प्रेम रोकाया एमाले पार्टीतिर लाग्योभनेर दाईले पानी बाराबार
गरे। पिता नन्द रोकायाको काजकिरिया समेत् अलग्-अलग् गरे। आफ्नी दिदी किट्टी
रोकायाको बिवाह एमाले समर्थक परिवारमा गरेको भनेर भाइ गोविन्द रोकायाले बिवाह
समारोहलाइ बहिस्कार गर्यो र दिदीसँग आवतजावत बन्द गर्यो। गाउँसमाज पूरै विभाजित छ।
विभाजनको असर-प्रभाव कतिसम्म छभने, आफ्नो समुदायमा साविक परम्परादेखि चल्दैआएको
मष्टा, धलपुरो, लागोदेउता, दशैं, भुवा समेत् अलग-अलग हुनथालेको रहेछ।”
हामीले ल्याएको परिवर्तनले मानवसभ्यतालाइ
सम्पुष्ट पार्छ कि छिन्नभिन्न बनाएर ध्वस्त पार्छ ? हामीले कस्तो परिवर्तन खोजेका
थियौं ? हामीले खोजेको परिवर्तन यही हो त ? टाउकोभरी यो अजङ्गको प्रश्न बोकेर
गौप्राणि थोत्रो साइकल डोर्याउँदै पिप्ले र हेटौंडा ओहोरदोहोर गरिरहन्छ। उस्ले
बोकेको यो प्रश्न सुन्न कोही तैयार छैन, त्यसैले साहित्यिक गतिविधिमै सीमित भएर
गुँडुल्किएर बस्छ। कुरो यत्ति हो; तर, रचनाचाहीं यो भएन। बिषय वा प्रसङ्गले अर्को
अर्थ नलागेमा ‘गौप्राणि’ भन्नाले ‘देवराज खरेल’ पनि हो भनेर बुझ्नुपर्ने हुन्छ। हाम्रा
गौप्राणिको नागरिकता प्रमाणपत्रमा चाहीं ‘देवराज खरेल’ लेखिएको छ।
No comments:
Post a Comment