Pages

Tuesday, April 17, 2018

जो एक्लै छ, त्यो सिध्दिन्छ


जो एक्लै छ, त्यो सिध्दिन्छ
   -आनन्दराम पौडेल

   सङ्गठित दादागिरी फेरि शुरु भएको छ। यातायात ब्यवशायी सङ्घले देशै ठप्प पारिदिन्छु भनेर घोषणा गरेको छ। यो भनेको सिष्टमबिरुध्द मात्र हैन, जनता र सिङ्गै राष्ट्रबिरुध्द धावा बोलेको हो भनेर बुझ्नुपर्छ। उनीहरुले ऐन,कानुनको धज्जि उडाएर सिण्डिकेटको एकछत्र राज चलाउन पाउनुपर्ने, राज्य निरीह बनिदिनुपर्ने र जनताले चुपचाप सहिदिनुपर्ने, यो मध्ययुगीन बर्बरताको स्थितिमा ल्याउन खोजिंदै छ।
   सङ्गठित दादागिरीको अर्को पाटो पनि छ। सङ्गठित दादागिरी चल्नुमा उनीहरु मात्र दोषी छैनन्। राज्यको शीर्षस्थ, निर्णायक स्थानमा रहेका उच्च पदाधिकारी र नेताको सपोर्ट पनि त्यत्तिकै छ। यातायात ब्यवशायीको यो दादागिरीलाइ अघिल्लो सरकारले पनि तोडिसकेको थियो। त्यहीबेलामा शक्ति बस्नेत गृहमन्त्री भएर आए। यातायात ब्यवशायीको सिण्डिकेटलाइ पुनर्जीवन दिन र पुनर्स्थापित गर्न उनी आफैं अग्रसर भए। र, आर्यघाटमा पुगिसकेको सिण्डिकेटलाइ पुनर्स्थापित मात्र गरेनन्, झन् जब्बर बनाइदिए।
     नेपालमा सङ्गठित दादागिरीलाइ प्राणप्रतिष्ठा हाल्ने, संरक्षण गर्ने र मलजल गर्ने काम गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलाले गरे। २०६३ सालपछि उनीहरुकै सकृयतामा सङ्गठित दादागिरीलाइ राज्यले अनुमोदन गर्नथाल्यो। तराईमा र पूर्वी पहाडमा समेत् खुङ्खार अपराधी र गुण्डाहरुले अपराधिक कृयाकलाप तिब्र पार्थे। सरकारले चाहीं तिनीहरुलाइ राजनीतिक आवरण दिएर भेटघाट गर्थ्यो। त्यो सङ्गठित गिरोहका साथि जेल परेको रहेछभने छुटाइदिन्थे, मुद्दा फिर्ता लिइदिन्थे। हुँदो-नहुँदो सबै मागहरु पूरा गरिदिन्थे। उनीहरुको मनोबल बढाइदिन कुनै कसर बाँकि राख्दैनथे। ती दिनमा सङ्गठित भएर हूलदङ्गा र ढुङ्गामुढा गर्दै आउने जति सबैलाइ राज्यले स्वागतसत्कार गर्थ्योभने अर्कोतिर राज्यले गर्नैपर्ने कर्तब्यको ध्यानाकर्षण गराउन कुनै सज्जन आयोभने त्यस्लाइ दुत्कार्थे र अपमानित गर्थे। सङ्गठित अपराधीको गिरोहतिर राज्य ढल्केको थियो र सज्जनहरुलाइ लात हानिरहेको स्थिति थियो।
     “सवै रोगको औषधि हिमालय तेल” भनेझैं के त अव जेमा पनि हिंसाकै प्रयोग गर्ने हो ? सरकारका ब्यवहार र सरकारी मनोबिज्ञानले त त्यही भन्छ। जस्ले बढी हिंसाको प्रयोग गर्न सक्छ सरकारले त्यसैको कुरा सुन्छ। निमुखा भूईंमान्छेहरु, जस्लाइ न त आफ्नो हकअधिकारकै बिषयमा ज्ञान छ, न त सङ्गठित हुन सक्छन्, न त हिंसाकै प्रयोग गर्छन्। जव सरकारले नै हाक्काहाक्की हुलहुज्जत र ढुङ्गामुढालाइ स्वीकार र असङ्गठित आवाजलाइ अस्वीकार गर्छ, तव पिल्सिएर बसेका सीमान्तकृत वर्गको मझेरीमा घाम लाग्दैन भनेर वुझे हुन्छ। केही बर्षअघि मेरो जिल्लाबाट आएको डेलिगेशनले सिंहदरबारबाट फर्केपछि भनेको सम्झना छ। उनीहरुले भनेका थिए, “गृह मन्त्रालयमा साइनबोर्ड विजय गच्छेदारको छ, तर मन्त्रालय गणेश लामाले चलाइरहेछन् कि विजय गच्छेदारले, छुट्याउन नसकेर मान्छे अलमलमा पर्दारहेछन्। 
         चर्चित व्यक्तिका हत्या हुँदा जनदबावलाइ पर्गेल्न सरकारले न्यायीक आयोग बनाइटोपल्ने गरेको छ। त्यस्ता आयोग अनगिन्ती बने। तर, ती आयोगका प्रतिवेदनका पानासम्म कसैले पल्टाएन। हरिप्रसाद शर्मा आयोगले प्रतिवेदनमा यस्तो लेखेको थियो, “शान्तिसुरक्षा  र व्यवस्थाको चर्को नारा घन्काउनेहरु नै अपराधीको संरक्षक, अभिभावक र पृष्ठपोषक हुनु दुर्भाग्य हो। उच्चस्तरका राजनीतिक व्यक्तिले नै अपराधी पाल्ने, संरक्षण गर्ने र अभिन्न मित्र बनाउने कार्य गर्छनभने शान्तिव्यवस्था कायम हुन सक्दैन।” हिंसाको माध्यमबाट आएको अभिव्यक्तिलाइ सरकारले मान्यता दिने मात्र हैन, विशिष्ट व्यवहार गर्ने भएपछि सवैले विस्तारै हिंसालाइ रोज्न थाल्छन्। ७ बर्षअघि हाम्रा मित्रहरु डडेल्धुरा पुगेका थिए। डडेलधुरा, आलिताल गाविस स्थित स्यालचौडी माविमा वैठक वसिरहेको थियो। माओवादीका तत्कालीन सभासद हरिलाल थापा वैठककक्षमा प्रवेश गरे र आउनासाथ प्रअ महादेव भट्टमाथि लात्तिमुङ्ग्री वजार्न थाले। सर्वथा अयोग्य व्यक्तिलाइ नियुक्ति गर्न दिएको दबावलाइ इन्कार गरेको कारणले गर्दा भट्टजीले त्यो आक्रोशको शिकार हुनुपरेको थियो। त्यत्रा मान्छेका सामुन्ने एकजना निर्दोष व्यक्तिलाइ निर्घात् चुटिरहेछन् तर रामबहादुर कुँवरबाहेक कसैले वीचवचाउ गरेन। वैठक कक्षमै पसेर हरिलाल थापाले हेडसरलाइ निर्घात चुट्नु घिनलाग्दो होभने, त्यहाँ उपस्थित समूह चुपचाप हेरेर बस्यो त्योचाहीं भयावह स्थिति हो। यिनै हरिलाल थापाले एउटा आमभेलामा दुर्गा उच्च माविका प्रअ प्रताप धामीलाइ देखे। देख्नासाथ, “राजिनामा गर्छस् कि तँलाइ जिउँदै जलाइदिऊँ” भनेर झम्टिहाले।
       दुष्हरुको दुष्टताले यो संसार जति बिग्रिएको छ, त्योभन्दा हजारौं गुना बढी सज्जन भनाउँदाहरुको निस्क्रियताले बर्वाद भएको छ। लाग्छ, नेपालीहरुमा प्रतिरोधचेत निख्रिसकेको छ। हिजो उद्योग व्यवशायीलाइ आक्रमण हुँदा अरु वोलेन। तिनीहरुलाइ मात्रै गरेका हुन्, हामी किन वोल्ने भने। हिजो शिक्षा क्षेत्रमा आक्रमण हुँदा अरुले मतलव गरनन्। भोलि अर्को क्षेत्रमा आक्रमण हुँदापनि कोही वोल्ने छैनन्। उनीहरु छानिछानि आक्रमण गरिरहने छन्, हामी शिकार भैरहने छौं। सूर्य टोबाकोका म्यानेजर रवि केसीले भनेअनुसार नै शरद दुलाल, शालिकराम जम्मरकटेलहरुको हालिमुहालि चलिरहने छ र बद्री बजगाईंहरु सकिने छन्।
     जव मुख्य श्रोत र मुहान नै रचनात्मक र श्रृजनात्मक नभएर सर्वनाशी छभने त्यसबाट निसृत प्रवाह अमृतधारा होला भनेर अपेक्षा राख्नु मुर्खता सिवाय केही होइन। हरेक पार्टीमा शीर्षस्थ नेताहरु यो दुनियाँमा केवल मैमात्र सही छु भन्ने देखाउन अरुलाइ सिध्याउने एक सूत्रीय अभियानमा छन्। यो सरासर फासिवाद नै हो। यो फासिवादको नेपाली संस्करण हो। आफैंलाइ मात्र ठीक ठान्ने, आफैंले भनेको हुनुपर्ने, असहमतिलाइ निषेध मात्र हैन दमनै गर्ने र जवर्जस्ति गर्ने सोच, चरित्र, ब्यवहार र कर्म नै फासिवादको मूलभूत प्रबृत्ति हो। यो प्रवृत्ति हिटलर र मुसोलिनीको तानाशाही ब्यवहारमा मात्र सीमित छैन, झन-झन जरा हाल्दै र फैलिंदै गएको छ, केवल यस्को अनुहार र शैली मात्र फेरिएको छ। हिटलर र मुसोलिनीको फासिवाद त बरु घोषित थियो। जो घोषणा गरेर सामुन्ने आउँछ र घोषणा अनुसारकै कर्म गर्छभने त्योसँगको ब्यवहार कठिन होला तर जटिलचाहीं हुँदैन। उस्ले के गर्दै छ भन्ने पत्तो भएपछि आफूले के गर्नुपर्ला भनेर सोच्न सहज हुन्छ।  क्रूरता,निर्दयता र कठोरतामा आनन्द लिने (स्याडिष्ट) प्रवृत्ति अरुलाइ पूर्ण नियन्त्रणमा राख्ने अनुराग हो भनेर एरिक फोमले चिन्ता गरेपनि र एउटा मान्छेको चाहना अनुसार नै अरु सवैले चल्नुपर्छ भन्ने सोच जत्तिको भयावह अरु केही हुँदैन भनेर दार्शनिक इमानुएल काण्टले कराएपनि आफूलाइ विकसित भनेर दावी गर्ने आजको मान्छे झन-झन आत्मकेन्द्रित हुँदै गएको छ।
      २१औं शताब्दी जनताको लागि हुनुपर्छ भन्ने उद्देश्यप्राप्तीको लागि गठन भएको “पिपुल्स प्लान एण्ड सेञ्चुरी-२१(पिपि-२१)” को सन १९९५ फागुन २५गते काठमाडौंमा भएको मुख्य सम्मेलनमा गणेशमान सिंहले भन्नुभएको थियो, “मानवताबिरोधी प्रवृत्तिहरुलाइ बारम्बार धराशायी पार् यौं  भनेपनि तिनीहरुले आफ्नो नाम,चाल र अनुहार बदलेर पुन-पुन हाम्रो सामु आइरहेका छन्। आज मानवीय शोषणका रुप फेरिएका छन्,अन्यायका अनुहार बदलिएका छन्, दासताका बन्धन रुपान्तरित भएका छन्, क्रूरताले नयाँ मुखुण्डो लगाएको छ र साम्राज्यवाद तथा अधिनायकवादले नौला भावभङ्गिमाका साथ नयाँ-नयाँ क्षेत्रमा आफ्नो पञ्जा पसारेको छ।” गणेशमान सिंहको यो कथन उहाँको आफ्नै पीडाको अभिब्यक्तिपनि हुन सक्छ। राणा शासनबिरुद्ध र पञ्चायती शासनबिरुद्ध लडेर नथाकेका गणेशमान आफैंले ल्याएको बहुदलकालमा आफ्नै पार्टीका सहकर्मी गिरिजाप्रसाद कोईरालाको चक्रब्यूह तोड्न नसकेर अभिमन्यु बन्न पुग्नुभएको थियो। पिपि-२१मा उहाँले भन्नुभयो, “मानवीय अस्मितालाइ आहत पार्ने र मानवतालाइ कलङ्कित पार्ने दानवी दुष्प्रबृत्तिहरुले हाम्रो चेतना र विवेकलाइ बारम्बार चुनौती दिइरहेछन्, जस्लाइ सधैंको लागि परास्त गर्न त्यति सजिलो छैन।” गणेमान सिंह त बित्नुभो, तर उहाँले दिनुभएको चेतावनी आज हाम्रो आकासमाथि घना कालो बादल भएर मडारिईरहेछ।
      लाखौं बर्षदेखिको मानवीय इतिहासमा एउटा स्वतन्त्र मान्छे आजको यो काल खण्डमा जति एक्लो, निरीह र बवुरो कहिल्यै थिएन। आज नेपालमा जो जति बचेका छन्, तिनीहरु मारिन, अपहरित हुन र धम्क्याउन आवश्यक नठानिएकाले मात्र बचेका हुन्। ४०-५०बर्ष अघिसम्म समाज थियो, समाजको सशक्त उपस्थिति थियो र सकृय तथा प्रभावकारी भूमिका थियो। आज शहरमा समाज छैन। गाउँघरमा समाज कतै भेटिएपनि अत्यन्तै निम्छरो र प्रभावहीन छ। एउटा सामान्य नेपालीको लागि एकातिर समाज छैन, अर्कोतिर ‘देश आफ्नो, राज्य पराई’ को अवस्था छ। सरकार कतै छभने पनि भ्रष्टाचार गर्न र अपराधीलाइ संरक्षण गर्नका लागि मात्रै  छ। हिजोका मूल्यहरु निख्रिएका छन्, नयाँ मूल्यले प्रवेश पाएको छैन र आस्थामा धमिरा लाग्दै गएको छ। यो कोलाहलमा एउटा एक्लो नेपाली टेक्ने, समाउने र आड लिने ठाउँ नपाएर छट्पटिरहेको छ। अव प्रत्येक नेपालीले सोचे हुन्छ, जो सङ्गठित छैन, समूहमा छैन र एक्लाएक्लै छन् तिनीहरु सिद्धिन्छन्।
Tuesday, April 17, 2018



No comments:

Post a Comment