मोदीको चालमा पर्लान् त केपी ओली ?
-आनन्दराम पौडेल
पछिल्लोकालमा भारतीय नेतृत्वले नेपालको आत्मसम्मानप्रति
सम्वेदनशील भएको हो कि भन्ने भान पार्न खोजेको छ। स्थानीय तहको निर्वाचनको परिमाण
केलाउँदा नेपाली जनताले केपी ओलीलाइ रोजेको प्रष्ट देखिएकोले ओलीसँग लहसिएर यिनलाइ
पगाल्नसके विगतमा घुसाइएका आफ्ना कुत्सित स्वार्थलाइ बरकरार राख्न र नयाँ स्वार्थ
घुसाउन सकिन्छ भन्ने मनोबिज्ञानले काम गरेको विश्लेषण गरिएको छ। यही सोचअनुसार प्रतिनिधिसभा निर्वाचनअगावै भाजपा
पार्टीका महासचिव नेपाल आए, र केपी ओलीसँग लामै बातचित गरे। निर्वाचनपछि केपी ओली
बैंकक गएका थिए; भाजपाका तिनै महासचिवले त्यहीं पुगेर पुन लामै बातचित गरेका थिए। यही
बातचितको परिणामस्वरुप केपी ओली सत्तारुढ नहुँदै ओलीसँग भेट्न भाजपाका वरिष्ठ नेता
तथा परराष्ट्रमन्त्री सुष्मा स्वराज आइन्। सुष्मा स्वराज भारतको परराष्ट्रमन्त्री
मात्र हैनन्, भाजपाका वरिष्ठतम नेतृ नै हुन्। सत्तारुढ भैनसकेका ब्यक्तिसँग भेट्न
बरिष्ठ नेता तथा परराष्ट्रमन्त्री आउनु कुटनीतिक इतिहासमा बिरलै घटना हो। सुष्मा
स्वराज आउनुअघि मोदीले ओलीलाइ पटक-पटक फोन गरेको र फोनबार्तामा दर्शाइएको आत्मियता
पनि अस्वाभाविक नै थियो। केपी ओलीलाइ भारत भ्रमण गराउनु र बैशाख २८ गते नरेन्द्र
मोदीको नेपाल भ्रमण तय हुनु पनि यही मनोबिज्ञानको परिणाम हो भनेर बुझ्नसकिन्छ।
त्यसोभए नेपालप्रति
भारतको ब्यवहार के साँच्चै बदलिएको हो त ? के भारतले खुला दिलले नेपालको आत्मसम्मानको
मर्यादा राख्नखोजेको हो त ? तर, सुक्ष्म
दृष्टिले नियाल्दा सारमा त्यस्तो देखिंदैन।
नरेन्द्र
मोदीको नेपाल भ्रमणको तिथि तय गरेको बिषयलाइ लिउँ। केपी ओलीले चीन भ्रमणमा जाने
सुरसार गरेको थाहा पाउनासाथ चीन जानुअघि केही डिक्टेशन गर्ने भित्री उद्देश्य
राखेर नरेन्द्र मोदीको भ्रमण मिति तय गरिएको छर्लङ्ग छ। कुटनीतिक मर्यादा उल्लङ्घन
गरेर नेपालसँग परामर्श नगरी दिल्लीले एकतर्फि र अकस्मात् मिति तय गरिदियो। उता
दिल्लीले एकतर्फि र अकस्मात् भ्रमण मिति तय गर्नासाथै यता भारतीय राजदूत
मञ्जीवसिंह पुरी जनकपुर कुदे र मुख्यमन्त्रीसँग भेटेर अभिनन्दनलगायत स्वागतका
कार्यक्रम तय गरेर फर्के। यता, नेपालले भने अरुण तेश्रो आयोजनाको शिलान्यास र
जनकपुर तीर्थाटनबाहेक अरु कुनै कार्यक्रम बनाउनैसकेको छैन।
तैयारीकै बिषयमा
भन्नुपर्दा द्विपक्षीय बार्ताको टेबुलमा बस्दा नेपालले कहिल्यै पूर्वतैयारी नगर्नेगरेको
यथार्थ त जगजाहेरै भैराखेको छ। १ महिनाअघि भारत भ्रमण गर्दापनि पूर्वतैयारी
नपुगेको भनेर केपी ओलीले नै भनेको सुनिएको हो।
केपी ओली भारत
भ्रमण गर्दापनि नेपालले मिति तय नगर्दै भारतले नै एक्कासि घोषणा गरिदिएको थियो।
चीनमा हुने बोआओ सम्मेलनको मितिमै खप्टेर केपी ओलीको भारत भ्रमण गराएको थियो। बोआओ
सम्मेलनको मितिमा केपी ओलीलाइ भारत भ्रमण गराएपनि बोआओ सम्मेलनमा राष्ट्रपति
बिद्या भण्डारी जानसक्थिन्। बोआओ सम्मेलनको शुरुदेखि नै नेपाल सहभागि हुँदैआएको
थियो। यस्पालि नेपालको उपस्थिति शुन्य पार्नुको कारण नेपालीले बुझ्नसकेका छैनन्।
भारतको प्रभाव र दबाबकै कारणले हो त ? भन्ने अजङ्गको प्रश्न पनि खडा भएको छ।
अढाई बर्षअघि सम्मको
दाउपेचको चालले मात खाएपछि भारतले यो अर्को चाल चलेको हो भनेर प्रष्टै
बुझ्नसकिन्छ। यो दाउपेचको चालमा केपी ओली पर्छन् कि सर्लक्कै उम्कन्छन् ; नेपाली
जनताले नियालिरहेका छन्।
शनिवार, अप्रिल
28, 2018
No comments:
Post a Comment