Pages

Thursday, April 5, 2018

भारतीय दादागिरीका पीडा झोलीभरी बोकेर प्रधानमन्त्रीको भ्रमण


भारतीय दादागिरीका पीडा झोलीभरी बोकेर प्रधानमन्त्रीको भ्रमण
-आनन्दराम पौडेल

   खास एजेण्डा छैन भनेपनि भारतभ्रमणमा जाँदा प्रधानमन्त्रीले झोलीभरी, भारतीय दादागिरी र थिचोमिचोको कारणले भोग्नुपरेका, नेपालीका पीडा बोकेर जानुपर्ने बाध्यता छ। नेपाली भूमि जबर्जस्ति कब्जा गरेको लिम्पियाधुरा, सुस्ता, लिपुलेकका बिषयहरु त जिउँदै छन्, त्यसबाहेक १७४ स्थानमा सीमा मिच्दै अतिक्रमण गरेको पीडा छ। सीमाको मर्यादा र अन्तर्राष्ट्रिय कानुनलाइ उल्लङ्घन गर्दै दशगजामा सटाएर अग्लो बाँध बनाउँदैलगेको छ। अहिलेसम्म २२ स्थानमा बाँध बाँधिसकेको छ।
   नेपालको पानी, जलश्रोतमा भारतले गिध्देदृष्टि राखेको जगजाहेरै छ। जलविद्युतका लाइसेन्स हत्याउने र होल्ड गरिराख्ने काम गरिराखेको छ। यो होल्ड गरिराख्ने षडयन्त्र आधारभूत संरचनाको विकासनिर्माणमा समेत् यथावत् छ। उदाहरणको लागि हुलाकि राजमार्ग नै काफि छ।
     केपी ओलीको हकमा अन्यथा होस्, कामना गरौं; हैनभने भारतीय नेतृत्वको अगाडी हाम्रा नेताहरु लम्पसारवादी नै देखिएका हुन्। कहीं नभएको बिचित्रको चरित्र नेपालका राजनीतिक नेताहरुले देखाइरहेका हुन्। आफ्नो राष्ट्रप्रति पटक्कै माया छैन। जनताप्रति भरोसा छैन। भारतका नेता रिझाउनपाए सबैथोक हुन्छ भन्ने ठानेका हुन्। शेरबहादुर देउवा, प्रचण्ड जस्ता पहाडीया नेताहरु पनि पहाडीया जनताको घाउ, पीडालाइ निर्ममतापुर्वक कुल्चेर, दबाएर साउथब्लक र ‘रअ’ ले उचालेका तराईका नेतालाइ काँधैमा बोकिरहेका हुन्।
     पाँच बर्षअघि विकिलिक्सले प्रकाशित गरेको नेपालसम्बन्धि सूचनाहरुमध्ये केही सूचना सम्वेदनशील र गम्भीर थिए। त्यस्मा, नेपालमा ६ हजार भारतीय-तिब्बती सेना रहेको खुलासा थियो। अर्को, नेपाल-भारत सचिवस्तरीय बैठकले लुम्बिनी र पशुपतिनगरमा भारतको इमिग्रेशन चेकप्वाइण्ट राख्न दिने निर्णय थियो। तेश्रो, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाइ भारतको केन्द्रीय सरकारले पाँच बर्ष झारखण्ड क्षेत्रमा संरक्षण दिएर राखेको खुलासा थियो। माथि उल्लेखित तेश्रो सूचना नेपाली जनताको लागि नौलो रहेन। एसडी मुनीको पुस्तक, विवेक शाहको “मैले देखेको दरबार”, सुधीर शर्माको “प्रयोगशाला” लगायत धेरैतिरबाट खुलस्त भैसकेको छ। दोश्रो भन्दापनि पहिलो जानकारी जिब्रो टोक्नुपर्नेसम्मको भयङ्कर छ।        विकिलिक्सले प्रकाशित गरेअनुसार भारतले भारतीय सेनामा ‘स्टाविल्सिमेण्ट २२’ नामक युनिट स्थापना गरेको छ। जस्मा ३० हजार तिब्बती शरणार्थीलाइ सैनिक र आवश्यकताअनुसारका तालीम, प्रशीक्षण दिएर तिखारेर राखेको छ। त्यही ३० हजार मध्येबाट नेपालीको अनुहारसँग मिल्दोजुल्दो देखिने अनुहार र बनोट भएका त्यो युनिटका छ हजार सदस्यलाइ नेपालभित्र कृयाशील गराएको भनेर खुलासा गरेको छ।
      यहाँ दुइटा पक्षको –याङकोठ्याङ ठ्याक्कै मिलेको छ। पहिलो हो भारतको ठूलदाई बन्ने चाहना र अर्को हो नेपाली नेताहरुको लम्पसार स्वामीभक्ति। भारतले नेहरुकालदेखि नै छिमेकीहरुसँग ठूलदाईको रुपमा प्रस्तुत हुँदै दादागिरीकै ब्यबहार गर्दै आयो। शुरुकालमा त अन्तर्राष्ट्रिय जगतमा सम्बन्ध बढाउन र विदेशीहरुलाइ नेपालमा आउन दिने बिषयमा समेत् कसीलो नियन्त्रण राख्यो। मातृकाप्रसाद कोइरालाले आफ्नो संस्मरण पुस्तक “ए रोल इन ए रिभोल्युशन” २०६६ सालमा प्रकाशित गरे। त्यहाँ उनले लेखेका छन्, “जवाहरलाल नेहरुले भारतसँग संयोजन नगरी परराष्ट्र मामलाका कुनैपनि बिषय अघि नबढाउन नेपाल सरकारलाइ बारम्बार दबाब दिएको उल्लेख गरेका छन्। जनवरी १९५१ मा अमेरिकासँग आर्थिक सहायताको लागि सहमतिपत्रमा ह्स्ताक्षर भएको बिषयमा समेत् अब्जेक्शन गर्दै, “अमेरिकालगायत अन्य कुनैपनि मुलुकसँग सम्बन्ध राख्दा भारतमार्फत् मात्र राख्नुपर्ने” भनि कडिकडाउ निर्देशन दिएका छन्। चीनले पनि नेपालसँग दौत्य सम्बन्ध राख्न विशेष रुचि राखेको थियो। त्यो थाहा पाएर नेहरुले नेपाल सरकारलाइ यस्तो पत्र लेखेका थिए, “उनी (चाउ एन लाइ) कुनैपनि हिसाबले सङ्कीर्ण सोचाईका व्यक्ति होइनन्, जुन प्राय कम्युनिष्टहरु हुन्छन्। जहाँसम्म नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको कुरो छ अहिलेको अवस्थामा र निकट भविष्यमा तपाईंहरुले यस बिषयलाइ प्रोत्साहन गर्नुहुँदैन।” भारतले रोक्दारोक्दैपनि पञ्चशीलका आधारमा कुटनीतिक सम्बन्ध स्थापना गर्ने भनेर अगष्ट १९५४ मा चीनबाट औपचारिक पत्र प्राप्त भयो। यो सन्दर्भमा पनि भारतले कुटनीतिक सम्बन्ध स्थापना गर्ने वार्ता पेकीङमा नगर्नु दिल्लीमा गर्नु। दिल्लीमा गर्न सम्भव नभएमात्र काठमाडौंमा गर्नु भनेर हस्तक्षेप गरेका थिए।
    नेपालका नेताका बिषयमा भारतीय दृष्टिकोण वुझ्नको लागि कलकत्ताबाट प्रकाशित हुने ‘दि टेलिग्राफ’ मा केही बर्षअघि प्रकाशित केपी नयरको लेखलाइ पढ्दा छर्लङ्ग हुन्छ। उनले लेखेका छन्, “नेपालका राजनीतिक दलका नेताहरुले भारतको साथ, सहयोग र समर्थन नपाई कहिल्यै खुट्टा टेक्न सकेका छैनन्। प्रष्ट देखिएकै कुरो हो, नेपालका पार्टीनेताहरुले भारतको प्रभाव कसरी कटाउने र घटाउने भनेर कहिल्यै प्रयास गरेका छैनन्, बरु भारतलाइ कसरी रिझाउने र कसरी भारतका प्रभावशाली व्यक्तिहरुको सामिप्य पाउने भन्ने प्रयासमै केन्द्रित छ।”
     भारतको तत्कालको लक्ष भनेको नेपालको पानी हत्याउनु र तराई अलग्याउनु मात्र हो। यस्को लागि उस्ले तराईका नेतामात्र प्रयोग गरेको छैन शेरबहादुर देउवा, प्रचण्डलगायतका नेताहरु तथा उस्ले तैयार गरिराखेका नेपाली लेण्डुपेहरुलाइ समेत् पूरै प्रयोग गरिराखेको छ। तराईलाइ अलग्याउनकै लागि वहुराष्ट्रिय राज्यको सूत्र प्रयोग गरी सोबमोजिम व्यापक प्रशीक्षण चलाइएको छ। तराईकै नेताहरुको बिषयमा भन्नुपर्दा उहाँहरुले पहाडीयालाइ शत्रु भनेर ब्याख्या-विश्लेषण गर्नुभएको छ। तराईमा जेजति कमि छन् त्यो सबैको दोष यिनै पहाडीया हुन् भनेर तराईका जनताको दिमागभरी पहाडीयाविरुद्ध जहर भरिएको छ। जबकि, यथार्थ के होभने २०६४ सालमा कार्यान्वयन गर्न खोजिएको भूमिसुधार योजनालाइ तराईका नेताहरुले नै रोक्नुभयो। भारतकै योजनाअनुसार नै २०६३ सालमा मकैभटमास बाँडेसरी जथाभावी नागरिकता बाँड्न उहाँहरुले नै लगाउनुभयो। राष्ट्रिय परिचयपत्र वितरण योजना नै तुहाइदिनुभयो। भारतको अत्यन्तै वृहत् र विशिष्ट परियोजना नदीजडान परियोजनाअन्तर्गत नेपालको सीमामा सटाएर सडकको नाममा बनाएको बाँधले गर्दा लक्ष्मणपुर, महलीसागर, रसियावालखुर्दलोटन, लुना, बैरगनिया, कैलाशपरी, कोइलावास, कलकलवा, कुनौली, लालबकैया, खाँडो, बागमती, डोंडाफरेना, सिराहा, कमला बाँधले तराईकै जनताको उठिबास गरेको छ, यस बिषयमा उहाँहरुले एक शब्द बोल्नुभएको छैन। नेपाली भूमि हडपेको र सीमा अतिक्रमण भैराखेको बिषयमा तराईका नेताहरुले कहिल्यै आवाज उठाएनन्। भारतले कालापानी र लिपुलेकलाइ जबर्जस्ति कब्जा गरेको छ र लिम्पियाधुरासम्मै हडप्न खोजेको छ। यस बिषयमा तराईका कुनै नेतालाइ असहज महसुस भएको छैन। सीमासुरक्षा बलले नेपालीलाइ दुर्ब्यवहार गरेको, सताएको, यातना दिएको बिषयमा उहाँहरुले कहिल्यै आपत्ति जनाउनुभएन। दश बर्षअघि बनिसक्नुपर्ने तराईको हुलाकी सडक भारतीय निर्माण ब्यवसायी (ठेकेदार) हरुकै कारणले मात्र आजसम्म अलपत्र परेको छ। भारतीय नेतासँग भेट्दा उहाँहरु यो बिषयलाइ कोट्याउनुहुन्न। तराईका नेताहरुले मात्र हैन, नेपाली काङ्ग्रेसका नेताहरुले र प्रचण्डले समेत् यी बिषय उठाएनन्। नेपाली नेताहरुको भारतप्रतिको स्वामिभक्ति र लम्पसारवादी चरित्रको कारणले गर्दा नेपाली जनता अनाथ भएका छन्।
    भारतीयहरुले चाहीं  आफ्नो ग्राण्ड-डिजाइन अनुसार भित्रभित्रै षडयन्त्रका योजना बनाइसकेका हुन्छन् र मीठो चास्नीमा घोलेर प्रस्तुत गर्न शिपालु छन्। केपी ओली सतर्क रहुन् र जोगिएर आउन्; अहिलेलाइ यही कामना गरौं।
बिहीवार, अप्रिल 05, 2018



No comments:

Post a Comment