Pages

Saturday, May 12, 2018

नरेन्द्र मोदीको चाल, केपी ओलीको काल


नरेन्द्र मोदीको चाल, केपी ओलीको काल 
 -आनन्दराम पौडेल


       प्रधानमन्त्री भएपछि नरेन्द्र मोदीको यो तेश्रो नेपाल भ्रमण हो। पहिलो भ्रमणमा नेपाली जनतासँग घुलमिल हुन र नेपालीको हार्दिकता प्राप्त गर्न सफल भएका थिए। तर, नेपाली जनतासँग गहिरिंदैगएको र गाढा हुँदैगएको हार्दिकतालाइ दोश्रो भ्रमणकालमै उनले आफैंले खुइल्याए। वीर अस्पताल ट्रमा सेण्टरको उद्घाटनभाषणमा उनले, “तराईको लागि अलग्गै विशिष्ट ब्यवस्था नगरी सम्विधान जारी भयोभने त्यस्को भयङ्कर परिणाम भोग्नुपर्ने छभनेर हामीलाइ धम्क्याए। सम्विधान निर्माणको काम सकिएर जारी हुनलाग्दा प्रधानमन्त्रीको विशेष दूत बनेर परराष्ट्र सचिव एस जयशङ्कर आए। यो सम्विधान जारी नगर, ३ महिना रोकभनेर नेपालका शीर्षस्थ नेताहरुलाइ यति चर्को हप्काए कि लम्किझम्कि गर्न मात्र बाँकिराखेका थिए। त्यति गर्दापनि सम्विधान जारी गर्योभनेर तराईका नेतालाइ उचाल्नथाले र नेपालबिरुध्द नाकाबन्दी नै लगाइदिए। त्यतिले नपुगेर अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको सम्विधानबिरुध्द खुल्लेआम अभियान चलाए। नाकाबन्दीकालमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय अडान राख्न सफल भयोरे भनेर प्रचण्डलाइ उचालेर ओली सरकारलाइ नै ढालिदिए। निर्वाचनमा केपी ओली नेतृत्वको वामगठबन्धनको पक्षमा जनमत देखिएपछि मात्र भारतको संस्थापन पक्ष लचीलो हुँदै यू-टर्न भएको हो।
        जवाहरलाल नेहरुकालदेखि नै भारतले नेपाललाइ रखौटीको ब्यवहार गर्दैआएको छ। भलै यस्को लागि नेपालकै लम्पसारवादी शासक र नेताहरु बढी जिम्मेवार छन्। भारतीय शासकवर्गले साविकदेखि नेपालमाथि गर्दैआएको थिचोमिचो र नेपालीबिरुध्द गरेका अत्याचारको सृङ्खला यति लामो छकि हजार जिब्रा भएका शेषनागले समेत् बर्णन गर्न नसक्ने छ। तर, दुःखद बिडम्बना के छभने हाम्रा नेताहरु भारतीय शासकको अगाडी लज्जावती झार भएर लत्रने हुनाले उनीहरुका नृशंस अत्याचारलाइ जनताले सधैं एक्लै झेल्नुपरेको छ। उनीहरुका अत्याचार तथा उनीहरुले पुर्याएका घाउ-चोटहरु अनगिन्ति छन्। धेरै घाउ त आलै छन् र कतिपय घाउ बल्झिरहेका छन्। ती घाउमा मल्हम लगाउनेतर्फ सोच्दैनसोचि त्यही अत्याचारी नै एक्कासि सामुन्ने आइपुग्दा जुन कहालिलाग्दो असमञ्जसको स्थिति हुन्छ, मोदी आगमनको बेलामा नेपाली जनताको मनोबिज्ञानमा ठीक त्यही देखियो।
      सामाजिक सञ्जालभरी नरेन्द्र मोदीबिरुध्द नाकाबन्दीको पीडा र आक्रोश मात्रै पोखिएको थियो। २ दिनको भ्रमणमा दुईपटक नागरिक अभिनन्दन किन ?  भनेर प्रश्न उठाइएको थियो। नरेन्द्र मोदीप्रति हामी जनताको सद्भाव नभएकोले अभिनन्दनसँग नागरिकशब्द नजोडभनेर सरकारमाथि चर्को दबाब पर्यो। नाकाबन्दीको आक्रोश ब्यक्त गर्नका लागि बैशाख २८ गते राति ८ बजे, १० मिनेट घर-घरका बत्ति निभाइएका थिए।
       उता, प्रदेश नम्बर २ मा चाहीं नेताहरु, हो-नहो उनीहरुको गड फादरनै आइपुगे भनेर, भूईंमा-न-भाराँ भएर उम्लिईरहेका देखिए । नरेन्द्र मोदीको आगमनमा जताततै “मधेश देश मे आपका स्वागत हैं” लेखिएका ब्यानरहरु थिए र “मधेश अलग देश” लेखिएका ब्यानरहरु थिए। नेपालको एक भाग जनकपुरमा यस्ता ब्यानरहरु जताततै प्रदर्शन भैरहँदा नेपालकै अर्को भाग काठमाडौंमा टाँगिएको, “नरेन्द्र मोदी, तपाईंलाइ स्वागत छ; तर नाकाबन्दी हामीले भुलेका छैनौं” लेखेको एउटा ब्यानरलाइ थुतेर फाल्न सरकारले प्रहरीलाइ खटायो। अभिनन्दनसभामा मैथिली वा भोजपुरी भाषामा सम्वोधन गर्न स्थानीय जनताले दिएको सल्लाह, सुझाव र दबाबलाइ नटेरेर मुख्यमन्त्री लालबाबु राउतले हिन्दीमा बोलेको पनि जनताले रुचाएनन्। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले रुञ्चे अनुहार बनाएर, “नेपालको सम्विधानले मधेशीलाइ पक्षपात, विभेद गरेको छ” भनेर नरेन्द्र मोदीसँग निवेदन गरेको दृश्य त्यहाँका स्थानीय जनताले नै अपाच्य ठाने। भारत सरकारले दिने भनिएको १ अरब रुपैयाँ कुनै खास योजनाको लागि होला भनेर सबैले सोचेका थिए, तर नरेन्द्र मोदीले त २ नं प्रदेश सरकारलाइ पो दिए। यस्लाइ पनि जनताले अस्वाभाविक र असहज नै ठाने। नरेन्द्र मोदीको जनकपुर भ्रमण तय हुनुभन्दा अघिल्लो दिनसम्म २ नम्बर प्रदेश सरकारको र स्थानीय तहका कोषमा सुको पैसा छैन भनेर चर्कै रुवाबासी गरिरहेको स्थितिमा एक्कासि पचाशौं करोड रकम अदृश्य भूमिगत तवरले त्यहाँ आएको र त्यही अदृश्य भूमिगत तवरले प्राप्त हुनआएको रकमबाट त्वमेवं बस्तु गोविन्दम् तुभ्यमेवं समर्पयेत्शैलिमा मोदी स्वागतको लागि भव्यभन्दा पनि भव्यतम तैयारी भएको बिषय पनि स्थानीय जनताको खासखुस चर्चाको बिषय रह्यो।
    

       निर्वाचनपछि नेपालको राजनीतिक मामलामा प्याराडाइम सीफ्टगरेर केपी ओलीतिर लहसिन आइपुगेका नरेन्द्र मोदीका दाउपेच र भ्रमजालमा परेभने केपी ओलीको राजनीतिक पूँजि क्षय हुँदैजाने सम्भावना देखिएको छ। प्रतिनिधिसभाको निर्वाचन लगत्तै मोदीले केपी ओलीलाइ पटक-पटक फोन गर्नुअघि नै भाजपाका महासचिव सुटुक्क आएर केपी ओलीसँग लामो भेटबार्ता गरेका थिए। निर्वाचनपश्चात् केपी ओली बैङ्कक गए। तिनै महासचिव त्यहीं बैंककमै पुगेर पुन भेटबार्ता गरेका थिए।
       नेपाली जनताले राष्ट्रवादी नेताभनेर स्थापित गरेका केपी ओलीमाथि अहिले नै दुइटा बात लागिसकेको छ। ओबाओ सम्मेलनमा राष्ट्रपति बिद्या भण्डारीलाइ पठाउँछन् कि भनेर चीनले मुख सुँघेको थियो। बिद्या भण्डारीलाइ पठाउनसकिने सङ्केत बुझ्नासाथ निमन्त्रणा पठाउन चीन तत्पर थियो। तर, यताबाट त्यो सङ्केत देखाइएन। नेपाली जनताको चाहना र चीनको आशयबिपरित यहाँबाट बिद्या भण्डारीलाइ समेत् नपठाउने नै भएपछि एउटा अजङ्गको प्रश्न खडा भयो। अर्को आरोप के छभने विदेशी राजदूतावासले आफैंले योजना छनौट गर्न र आफैंले लगानी गर्न नपाउने भनेर नेपाल सरकारले निर्णय गर्यो। यो निर्णयलाइ राष्ट्रले स्वागत गर्यो। यो निर्णय भारतीय राजदूतावास लैनचौरलाइ पनि लागु हुनुपर्छ भनेर जनताले माग गरिरहेका छन्।
 २ बर्षअघि चीनभ्रमणमा जाँदा केपी ओलीले चीनसँग पारवहन, ब्यापारलगायत केही महत्वपूर्ण सम्झौता गरेका थिए। पारवहन सम्झौतालाइ नेपाली जनताले ऐतिहासिक माइल स्टोननै भनेका थिए। तर, त्यो सम्झौतालाइ नेपालले थन्क्याएर राख्यो। त्यस्का प्रोटोकलहरु बनाउन चीनले बारम्बार ताकेता गरिरह्यो, तर यताबाट फाइल नै खोलिएन। शेरबहादुर देउवा र प्रचण्डको कोलिशन सरकारले त ती प्रोटोकलहरु बनाउने सम्भावना नै थिएन तर अहिले केपी ओली नेतृत्वको सरकारले पनि यस्मा तत्परता देखाएको छैन।
    नरेन्द्र मोदीको आगमनमा प्रदेश नम्बर २ ले देखाएका उत्ताउला ब्यवहार तथा एउटै ब्यक्तिलाइ २ दिनमा २ पटक नागरिक अभिनन्दन जस्ता बिषयलाइ लिएर अहिले सामाजिक सञ्जालहरुमा चर्को आलोचना भैराखेको छ। नरेन्द्र मोदीले चालेका दाउपेचका भ्रमजालमा केपी ओली फस्दैगएका हुन् कि भनेर आशङ्का ब्यक्त हुनथालेको छ। नरेन्द्र मोदीको भ्रमणपश्चात् नीति तथा कार्यक्रम, बार्षिक बजेट र चीन भ्रमणमा साबित गरेर देखाएननभने केपी ओलीको राजनीतिक छबिमा गम्भीर असर पर्ने छ।
Saturday, May 12, 2018     


No comments:

Post a Comment