Pages

Friday, May 18, 2018

पार्टीमा चैते र कात्तिके भरिने, निष्ठावानहरु पाखालाग्ने

पार्टीमा चैते र कात्तिके भरिने, निष्ठावानहरु पाखालाग्ने
-आनन्दराम पौडेल


नेपालको राजनीतिक क्षितीजमा, नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदैन कि भन्ने आशङ्काका काला बादल मँडारिईरहेकै बेलामा जेठ २ गते दुबै पार्टीका अध्यक्षहरु एक्कासि छलफलमा जुटे, र तत्कालै पार्टी एकताको घोषणा गर्ने निर्णय गरे। राष्ट्रलाइ सही दिशामा डोर्याउने मामलामा र ब्यवस्थापनको मामलामा नेपालका राजनीतिक पार्टीका नेताहरु असक्षम भएपनि ‘ड्यामेज कन्ट्रोल’ गर्नभने सक्षम सावित भएका छन्।
     ७-८ महिनायता पार्टी एकीकरण र ध्रुबिकरणको लहर चलेको छ र यो राष्ट्रको आवश्यकता र जनताको चाहनामुताविक छ। नत्र पहोरसम्मको स्थिति हेर्ने होभने बर्षामा च्याउ उम्रेसरी जथाभावि पार्टी खुलेका हुन्थे। आफ्नो परिवार, नाताकुटुम्ब र केही आसेपासेलाइ राखेर एउटा पार्टी घोषणा गर्थे, निर्वाचनमा देशैभरीको मतसंख्या जोडेर समानुपातिकमा दुइटा वा तिनौटा सिट हातपार्थे। यस्ता खुद्रा पार्टीहरुको सिण्डिकेट बनाउँथे, सत्ताको लागि बार्गेनिङ गर्थे र मन्त्री पद हत्याउँथे। यिनीहरुको कारणले समेत् नेपालको राजनीति रछान भएको थियो। ‘राजनीति’ त नामै लिन नहुने घृणा र तिरस्कारको बिषयबस्तु बनेको थियो।
   ७-८ महिनाअघि जब थ्रेसहोल्डको प्रावधान राखियो तब यी खुद्रा पार्टीहरुको अस्तित्व सङ्कटमा पर्यो। यस्ता खुद्रा पार्टीहरुलाइ निर्वाचनमा जनताले तिरस्कार गरेपछि बाध्यभएर एकीकरण र ध्रुबिकरण प्रकृयामा आएका हुन्।
     अहिले भएको एमाले र माओवादी पार्टीबीचको एकीकरणचाहीं थ्रेसहोल्डको कारणले नभएर उनीहरुको आफ्नै स्थिति, समयको माग र जनदबाबले भएको बुझ्न सकिन्छ। २०७० सालको निर्वाचनमा आइपुग्दासम्म पहिचानको नाम दिएर गर्ने जात-पात र सम्प्रदायको राजनीतिलाइ नेपाली जनताले तिरस्कार गर्न थालिसकेका थिए। यही एजेण्डा बोकेको हुनाले माओवादी केन्द्र पार्टीको समेत् तिब्र क्षयीकरण भैराखेको थियो। त्यसैले, कहिले नेपाली काङ्ग्रेससँग प्याक भएर र कहिले एमालेसँग प्याक भएर निर्वाचनमा जानुपर्ने बाध्यात्मक स्थितिको सृजना भएको थियो। उता नेकपा एमालेको हकमा भन्नुपर्दा, निर्वाचनमा माओवादीका उम्मेदवारले नजितेपनि एमालेको भोट काटेर एमालेका धेरै उम्मेदवारलाइ पराजित गर्ने सामर्थ्य राख्थ्यो। यसरी, माओवादी केन्द्रको हकमा राजनीतिक भविष्य जोगाउनकै लागि पार्टी एकीकरण अपरिहार्य भैसकेको थियोभने नेकपा एमालेको हकमा निर्वाचनमा विजय सुनिश्चित गर्न पार्टी एकीकरण आवश्यक थियो।
     “सन्तान जन्माउनु कुनै ठूलो कुरो हैन, त्यस्लाइ योग्य,सक्षम,असल मानव बनाउनुचाहीं कठिन कुरो हो” भनेजस्तै पार्टी हुनु र अझ ठूलो पार्टी हुनुभन्दा त्यस्लाइ गतीलो पार्टी बनाउनुचाहीं जिम्मेवारीपूर्ण कार्यभार हो। नेपालमा राजनीतिक पार्टीहरु सैध्दान्तिक आधारभूमिमा टेकेर चलेका छैनन् भन्ने नमुनाको लागि एउटा उदाहरण यहाँ प्रस्तुत गरिहालौं।
       पहिलो सम्विधानसभा निर्वाचनपछिको यो घटना हो। सम्विधानसभा निर्वाचनको परिणाम सत्ताधारी पार्टीभित्र तात्तातो वाफ बनेर पस्यो। भव्य इतिहास भएको तथा, कित सत्ताको नभए आन्दोलनको अगुवाई गरिरहेको पुरानो पार्टी नेपाली काङ्ग्रेसको आत्मसम्मानमै धक्का पुगेको पार्टीले महसुस ग-यो। निर्वाचन परिणामले दोश्रो ठूलो पार्टीको हैसियतमा राखिदिएपनि लज्जास्पद दोश्रो स्थानमा तुन्द्रुङ्ग झुण्डिएको वास्तविकता प्रकट भैरहेथ्यो। पहिलो र दोश्रोको ज्ञाप यति बढी थियोकि वीचमा अरु कोही नआएकोले मात्र संयोगले दोश्रो हुन पाएको स्थिति छर्लङ्गै देखिन्थ्यो। दुनिञालाइ भ्रम दिन र आत्मरतिको लागि दोश्रो ठूलो पार्टी भन्न पाइएपनि यथार्थमा शर्मनाक पराजय नै थियो। यो घटनाले पुराना निष्ठावान नेता तथा कार्यकर्तालाइ निकै सोचमग्न र गम्भीर बनायो। थोरै औपचारिक र धेरै अनौपचारिक बैठक, भेटघाट र जमघटमा आत्मसमीक्षा हुन थाल्यो। शिवप्रसाद हुमागाईंजी जस्ता पुराना कार्यकर्ताहरु पार्टीले विचार छाडेकाले नै पार्टी यो अवस्थामा आइपुगेको हो भन्ने निस्कर्षमा पुगे। तर, चैते, कात्तिके र नयाँ ठेट्नाहरु सङ्गठन विस्तार नै यस्को उपचार र एकमात्र विकल्प हो भन्नेमा एकमत भए। चैते, कात्तिके र ठेट्नाकै बाहुल्यता भएकोले पार्टीले दोश्रो प्रस्ताव पारीत ग-यो र सङ्गठन विस्तारमा हेलियो। जीवनभरी ठेक्कापट्टा गरेका, जग्गा दलाल, तस्कर र डनका सेनामेनाहरु लगायत सबै अराजनीतिक व्यक्तिहरु पार्टीका सम्मानित सदस्य भए। केन्द्रीय अधिवेशनको लागि प्रतिनिधि तिनै छानिए।
           अधिवेशन शुरु भैसकेको थिएन। शिवप्रसाद हुमागाईंजी केन्द्रीय कार्यालयमा बसिरहेका थिए। अधिवेशनका प्रतिनिधिहरु एकहूल आए। केन्द्रीय कार्यालय भवनको चोटाकोठा चाहारिसकेपछि त्यो हूल शिवप्रसादजी बसेको कोठामा आइपुग्यो। भित्तामा झुण्ड्याइएका बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान, कृष्णप्रसाद भट्टराईहरुको फोटोलाइ हेरे। “यी फोटाका बुढाहरु तैंले चिनेको छस् ?” भनेर एकले अर्कोलाइ सोधे। “खोई, चिनेको छैन” भन्दैथिए। गिरिजाप्रसाद कोइरालाको फोटोको छेउमा आइपुगेपछि एउटाले, “ए, यो बुढाको फोटो त मैले टेलिभिजनमा देखेको हो” भन्यो। यो दृष्य सवै हेरिरहेका शिवप्रसाद हुमागाईंजीको मन हुँडलियो। मस्तिष्क रन्थनियो। महाधिवेशनै छाडेर आफ्नो गाउँ फर्के। गाईभैंसी थपेर स्याहारसुसारमा जुटे। पार्टी कार्यालय र पार्टी काममा जान छाडेको ६ महिनाजति भएको थियो। एकदिन जिल्ला कमिटीका पदाधिकारीहरु शिव हुमागाईंजीलाइ खोज्दै घरमै आइपुगे र सम्झाउन थाले – “पार्टी सदस्यसंख्या पाँचगुना बढेको छ। पार्टी संरचनाहरु कृयाशील छन्। यताउती गरेर पार्टीकोष बढाएका छौं। हरतरहले पार्टीलाइ समृद्ध र सुदृढ पारेको प्रष्ट देख्दादेख्दै एउटा जावो त्यो..केरे.. ‘समाजवाद’ भन्ने विचारलाइ पार्टीले छाड्यो’रे भन्दैमा तपाईंहरु यति विरक्तिन सुहाउँछ ?” जिल्ला सभापतिले प्रष्ट र खरोसँग कुरा राखे। चुपचाप उनीहरुका कुरा सुनिरहेका शिव हुमागाईंजी जुरुक्क उठे। भित्तामा राखिएको एउटा फोटोतिर औंल्याए र सोधे, “यो फोटो कस्तो छ ?”
“एउटा ह्याण्डसम युवाको जीवन्त फोटो।” सभापतिले प्रतिकृया दिए, अरुले टाउको हल्लाएर सही थापे।
“यो हाम्रो युवाहरुको भातृसङ्गठन, जिल्ला कमिटी सदस्यको फोटो हो। पोहोर एक्सिडेण्टमा टाउको ठोक्किएर यिनको मृत्यु भयो। तिनको मृत शरीर हेरेको थिएँ। शरिर तन्दुरुस्त देखिन्थ्यो। घाउ, चोटपटक कतै थिएन। शरिरका अङ्गप्रत्यङ्गहरु सुदृढ देखिन्थे। जावो त्यही एउटा प्राणमात्र गएको थियो।”  शिवजीको प्रतिकात्मक कथनपछि जिल्ला कमिटीका पदाधिकारीहरुले राजनीतिक विमर्श गर्ने हिम्मत गरेनन्। केही व्यवहारिक कुराकानि गरेर सदरमुकाम फर्के।
    नेपाली काङ्ग्रेस पार्टीमा चैते र कात्तिके ठेट्नाहरु तथा जग्गा दलाल, तस्कर र डनका सेनामेनाहरुकै बाहुल्यता भएपछि शिवप्रसाद हुमागाईंहरु पाखा लागेजस्तै अहिले एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीमा पनि बोक्रा, छोक्रा, घाँस, पत्कर र कुँडरले भरिएर बैचारिक कार्यकर्ताहरु पाखापारिने स्थिति नआओस्; अहिले यत्ति कामना गरौं।
बिहीवारमे 172018

No comments:

Post a Comment