Pages

Friday, November 23, 2018

शैन पल्टिएका गहीरा घाउहरु


शैन पल्टिएका गहीरा घाउहरु                 
                    -आनन्दराम पौडेल

   
      मङ्सिर पहिलो हप्ताको टिभी अन्तर्वार्तामा डा.बाबुराम भट्टराईजीले द्वन्दकालका घाउ र पीडालाइ बिर्सिदिन अपील गर्दै फर्गिभ एण्ड फर्गेटभनेको देखेर र सुनेर ईश्वर देवकोटाजी स्तब्ध र क्षुब्ध हुनुभयो। भावबिह्वल हुँदै ईश्वर देवकोटाजीले यो अन्तर्ब्यथा ओकल्नुभयो -

   आजभन्दा ठीक २० बर्षअगाडी, २०५५ साल असार २४ गते भएको घटना हो। त्यसबेला जिल्ला प्रहरी प्रमुखमा डीएसपी पशुपति उपाध्याय (उनि अहिले एआइजी पदमा छन् ) थिए र घ्याम्पेसाल प्रहरी चौकीका इन्चार्ज आनन्द मरहट्ठा थिए | राज्यको नेतृत्वमा नेपाली काङ्ग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए |
    मेरो बुबा गुणनिधि देवकोटा, सूर्यज्योती माध्यमिक विद्यालय, ताकु(कोट),पाल्खुमा स्थायी शिक्षक हुनुहुन्थ्यो | दिउँसो हामी सपरिवार रोपाईंमा थियौं | बेलुकीको खाना खाएर करिब नौ बजे हामी सबै सुतिसकेका थियौं | ९:३० बजे घरको मुलढोका तोडेर २०५५ साल असार २४ गते राती सरकारी बर्दीधारी प्रहरी एकहूल घरभित्र एकतलामाथि सपरिवार सुतिरहेको ओच्छ्यानमै पुग्यो |  केहीबेर कुरा गर्नु छ” भनेर बुबालाई ओछ्यानबाट उठाए | आमाले सलाई कोरेर बत्ति बाल्ने प्रयास गरिरहँदा ‘फु’ गरेर पटक-पटक प्रहरीले बत्ति निभायो | प्रहरीले मधुरो टर्च बुबाको अनुहारमा पर्नेगरि बाल्यो
    एकदमै हतारगरि बुबालाई हातमा समातेर ओछ्यानबाट तान्दै भर्यांङ्गतर्फ घिसारे| आमाले "कहाँ लगेको ? भनेर सोध्नुभयो | "केहीबेर कुरा गर्नुछ, एकछिन हामीसँग हिंड" भन्ने घ्याम्पेसाल प्रहरी चौकीका तत्कालीन इन्चार्ज आनन्द मरहट्ठा थिए | बुबाले, "मलाई कपडा फेर्न दिनुस्" भन्नुभयो | भर्यांग नओर्ली बुबा आफ्नो कपडा झुन्डिएको दलानतर्फ लाग्नुभयो | आमालाई दलानतर्फ जान प्रहरीले रोक्यो | म बुबाको पछि-पछि थिएँ | पुर्णिमाको जुन मधुरो थियो | दलानदेखि आँगनसम्म काला मान्छेहरुको ओहोरदोहोर थियो | घरको पूर्वपट्टी नजिकै रहेको धन्सारको बरन्डामा उक्लने सिंढीमा २ जना काला मान्छे थिए | बरण्डाको छेवैमा सेतो देखिने पोशाकमा एउटा अर्को मान्छे थियो | सेतो पोसाकको मान्छे बरण्डाबाट हामफाल्यो र ओझेल पर्यो | पानी रोकिएको थिएन | बुबाले सेतो चेक सर्ट ढाकाको टोपी र कालो पाइन्ट लगाउनुभयो | बुबा भर्यांग झर्दैगर्दा समेत् सर्टको टाँक लगाइसक्नु भएको थिएन | बुबालाई घरबाट निकालेर लैजाँदा बिरामी हजुरबुबा, बहिनी सुनिता र भाई दिवस निदाई नै रहेका थिए | बुबालाई आँगनमा झारेपछि आमाले छाता दिनुभयो | एउटा पुलिसले खोसेर छाता आफैं लियो | बुबालाई लगेको बाटोतिर आमा पछिपछि जानु भयो
    केहीबेरमा नै आमा हतासिंदै घर फर्किनुभयो | "मलाई बाटो छेक्यो जान दिएन, बुबालाई कुन बाटो लग्यो मैले देखिन" भन्दै हजुरबुबा र म बसिरहेको ओछ्यानमा पुग्नुभयो | बुबाको केही कपडा झोलामा हालेर आमा घरबाट फेरी निस्कनुभयो | हप्तौंदेखि बिरामी पर्नुभएको हजुरबुबा रुनुभएको पहिलोपटक देखें; त्यो पनि निकैबेर | बुबालाई घरबाट लगिएको आधाघण्टा नबित्दै तीनपटक बन्दुक पड्किएको आवाज आयो | बन्दुक पड्किएको आवाजलाई हामीले वास्ता गरेनौं | झमझम पानी परिरहेको थियो | बुबालाई खोज्दै आमा तिनको बधशाला ‘घ्याम्पेसाल’ पुग्नुभयो | मेरो श्रीमानलाइ कहाँ लगिस्” भनेर प्रश्न गर्दा उत्तर दिएनन् | दिउन् पनि कसरी !! ती राक्षेसहरुले बुबालाई बाटोमानै खाइसकेका रहेछन् | भोलिपल्ट असार २५ गते मध्यदिनमा बुबाको निस्प्राण शरीर खोलामा भेटियो | प्रहरीले, “हतियारधारी जत्थाले गोलिहानी मारेको” भन्ने कागज तयार पर्यो | शव पोस्टमार्टम गर्नसमेत् दिएन।
    रगतले लतपतिएका तिनका घृणित अनुहारमा छर्लङ्ग दानवस्वरूप अझै पनि देख्छु म |  योभन्दा भयङ्कर पीडा अर्को के थपियोभने, २०६३ पछि माओवादीकै नेताहरुले हाम्रो आलो घाउमा नुन-चुक दल्ने काम मात्र गरिरहेका छन्। हिजो ज-जस्ले जनताका घाँटी रेटे, चरम यातना दिए, अङ्गभङ्ग पारे र नरपिचाशले भन्दा चर्को अत्याचार गरेका थिए, माओवादीका नेताहरुले सत्तामा पुग्नासाथ तिनैलाइ काखिच्याप्न थाले। प्रधानमन्त्री भएकाबेला डा.बाबुराम भट्टराईले कर्णेल कुमार लामालाइ जोगाउनका लागि ६ करोड खर्च गरे। 
    विचार सिद्धान्त अनि न्यायका ढोका साँघुरो हुँदैगयो। अहिले कथित न्यायका ढोकाहरु पूर्णत: बन्द गरिएका छन् | उनका दरबार ठडिंदा हामी उजाडिईसकेका थियौं | शहीदका सपना’ एउटा भजन जानेका छन्; त्यत्ति हो | कैयौं जघन्य हत्यामा प्रत्यक्ष मुछिएका यिनीहरुले हामीजस्तै "गुणनिधि देवकोटा" हरुका सन्तानलाई जवाफ दिनुपर्दैन ?  हामी युगौंयुग जवाफ खोजिरहने छौं; न्यायका निम्ति |
शुक्रवार, नोभेम्बर 23, 2018



No comments:

Post a Comment