Pages

Sunday, November 22, 2020


2063 सालको एक दिन साध्यबहादुर भण्डारीजीले बोलाउनुभयो। उहाँले नागरिकता ऐन संशोधनको मस्यौदा हात पार्नुभएको रहेछ। फङ्ल्याङफुङ्लुङ पारेर रछानै बनाएका रहेछन्। यस्को विरोधमा अभियान नै चलाउने निर्णय गर् यौं। करिब १ बर्ष अभियान चलायौं। धेरै उपलब्धी त भएन, तर राष्ट्रलाइ माया गर्ने एउटा समूह नजिक भयो। यो समूहले राष्ट्रलाइ असर पर्ने हरेक बिषयमा आवाज उठाउन थाल्यो। प्रेस-बिज्ञप्ति निकाल्दा र ब्यानरमा लेख्नका लागि समूहको नाम आवश्यक पर्न गएकोले 'राष्ट्रिय जागरण परिषद' नाम राखियो। हाल डेढ महिनादेखि यो समूहले नाकाबन्दीको सेरोफेरोमा छलफल, विमर्श गरिरहेको थियो। छलफलका निस्कर्षलाइ सम्वन्धित स्थानमा पुर् याउने सल्लाह भयो। सोही सल्लाह मुताविक सर्वप्रथम प्रधानमन्त्रीसँग भेट्ने समय मिलाएर हिजो मङ्सीर ५ गते प्रधानमन्त्रीकहाँ गयौं। साध्यबहादुर भण्डारी, विहारीकृष्ण श्रेष्ठ, डा.द्वारिकानाथ ढुङ्गेल, डा.सुरेन्द्र केसी, डा.सुरजराज आचार्य, डा.भूवप्रसाद त्रिपाठी, हिरण्यलाल श्रेष्ठ, रत्नसंसार श्रेष्ठ, आदित्यमान श्रेष्ठ लगायत २० जना गयौं।
प्रधानमन्त्रीको स्वकीय सचिवालय अब्यबस्थित मात्र हैन भद्रगोल नै रहेछ। हामीलाइ १०.३० वजेको समय दिइएको थियो। हामी १० वजे पुगिसकेका थियौं। १२.१५ वजेसम्म प्रतीक्षा गरेर बस्यौं। चियाको त कुरै छाडौं पानीसमेत् पिउन पाइएन। पानी पिलाउने त परको कुरो हाम्रो छेउमा कोहीपनि आएन। अत्यन्तै उपेक्षित र तिरस्कृत 'फील' गरेर खुम्चिएर बस्यौं। पट्यारलाग्दो पर्खाईदेखि वाक्कदिक्क भएर ५ जना साथीहरु हिंड्नुभयो। धेरै ढुकेर ज्ञापनपत्र वुझाइयो। तर, अत्यन्तै तीतो र खल्लो अनुभव बोकेर साथीहरु फर्कनुभयो।
( November 22, 2015 मा पोष्ट भएको।)

उपरोक्त स्थिति ५ बर्षअघिको पुरानो हो। तर, अहिले पनि त्यहाँको स्थिति यथावत छ।

No comments:

Post a Comment