नेपाल महात्म्ये
कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! अव म नेपालको
राज्यसञ्चालन र प्रशासनिक ब्यवस्थाको बिषयमा एक झलक बर्णन गर्दछु; ध्यानदिएर सुन।
अस्तिभर्खरैको
कुरो हो। मकहाँ आइरहने कोइराला भाइ, “सवारीकर तिरेर ब्ल्युबुक नविकरण गर्छु” भनि
गएको थियो। तीनदिनसम्म धाउँदापनि कर बुझाउन नसकेपछि आक्रोशित मुद्रामा बर्बराउँदै
भनिरहेको थियो, “कर तिरेर नविकरण गर्नैनसकिने भयो। कर तिर्छु, बुझाउँछु भनेर
तीनदिनसम्म धाएको, दुःख गरेको चाहीं हिसाब हुँदैन, उल्टै जरिवाना ठोकिदिन्छन्। अब
म मोटरसाइकल नै चढ्दिन।”
अधिकांश देशमा
अनलाइनबाटै काम हुनथालेको पच्चीशौं बर्ष भैसक्यो। तर, यो पसारोपरेको देश नेपालमा
मात्र, अनलाइनबाट नाम लेखेर टोकेन-नम्बर दिने, यतिजाबो प्रवन्ध गर्न अल्छिगरे।
भीडबढ्यो भन्दै कोरोना-भ्याक्सिन नै रोके। दुई बर्षअघि “काठमाडौंबाट घर
जानलागेकाहरुका लागि अनलाइनबाटै बसको सिट बुकिङ गरौं” भनेर अकिञ्चनहरु कराइरहेका
थिए, तर सरकारले मतलबै गरेन। त्यसपछिको भद्रगोल र जनताले पाएको सास्ति हेरिनसक्नु
थियो।
हाम्रो नातेदार
ब्युजिनेशको शिलशीलामा विभिन्न देशमा गैरहन्छ।
स्विट्जरल्याण्डको
जुरिकबाट दिल्ली आउँदा हवाईभाडा
औसतमा ७८ हजार नेरु तिर्दोरहेछ। तर
काठमाडौं आउनुपर्योभने १ लाख २९ हजार तिर्नुपर्ने रहेछ। दूरीचाहीं
लगभग बराबर नै छ। त्यस्तै लण्डनबाट दिल्ली आउन हवाईभाडा ५८ हजार तिर्दा काठमाडौं
आउँदा ९८ हजार तिरिरहेको छ। यस बिषयमा अकिञ्चनहरूले धेरैपटक लेखे र धेरैपटक बोले, तर सरकारले सुनेन।
विकासनिर्माणका कामको जिम्मेवारी र
अधिकार स्थानीय सरकारलाइ दिईसकेपछि मकैभटमास बाँडेसरी सांसदहरूलाइ ६-६ करोड
बाँड्नु उनीहरूको कार्यक्षेत्र र अधिकारमाथि ठाडो हस्तक्षेप हो;
ब्यवस्थाको बर्खिलाप मात्र हैन अपराध नै हो भनेर अकिञ्चनहरूले कराइरहे।
प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा निकासा हुने बजेट पनि बालुवामा पानी
छर्किनेबाहेक केही होइन भनेर अकिञ्चनहरू कराइरहेका थिए, तर सुन्दैसुनेनन्।
हे अगस्त्य मुनि, नेपालको शासनको
चरित्र हेर्दा केचाहीं छर्लङ्ग बुझिन्छभने, नेपालका शासक-प्रशासक र नेताहरूले
जनताको आवाज सुन्दैनन्। बिडम्बनाचाहीं के छभने जनताका आवाज नसुन्ने र प्रश्नहरूको
जवाफ दिनुनपर्ने ब्यवस्थालाइ उहाँहरूले ‘लोकतन्त्र’ भनिरहनुभएको छ। जवकि
जवाफदेहिताबिनाको लोकतन्त्र कल्पनै गर्न सकिंदैन। यो त सरासर लोकतन्त्रको उपहास
हो।
हे अगस्त्यमुनि, नेपालको प्रशासनले
सहजीकरण गर्नुपर्नेमा झन्झट मात्रै खडा गर्छ भन्ने एउटा उदाहरण यहाँ राख्छु। यस्ता
असङ्ख्य स्थितिको यो प्रतिनिधि उदाहरण मात्रै हो।
श्री सनतकुमार ढुङ्गेलजी अध्ययनको
शिलशीलामा अमेरिका जानुभयो। पीएचडी सम्मको अध्ययन सकेर २०४८ सालमा नेपालै
फर्कनुभयो। कस्तुरी मृगको
फार्मिङ गर्ने, बाख्रामा कस्तुरीको क्रस गरेर बाख्राबाट कस्तुरी उत्पादन गर्ने र
नेपालीको घरघरमा कस्तुरीको फार्मिङ गराएर १५वर्षमा मुलुकलाई कस्तुरीको हव बनाउने
योजना थियो। अमेरिकामा यही बिषयमा विद्यावारिधी गरेर स्वर्णपदक प्राप्त गरेका र
अमेरिकामा ठूलै संस्थाले अनुनय विनय गर्दापनि "आफ्नै देशमा गएर केही गर्छु" भनेर नेपाल
फर्किएका डा.सनतकुमार ढुङ्गेलले २०४८ साल पछि ८-९वर्षसम्म ठूलै सङ्घर्ष गरे। अनेकौं
प्रशासनिक झन्झट खडा गरेर यति दुःख-सास्ति दिइयो कि केहीशिप नलागेर उहाँले
प्रोजेक्ट नै हापिदिए। केही बर्ष वन मन्त्रालय अन्तर्गत जागिर खाएर अन्तमा न्युजिल्याण्ड
गए।
अल्पबिश्रामपश्चात् कुमारजीले भन्नुभयो – हे अगस्त्यमुनि, नेपाल राष्ट्रलाइ
बिगार्ने र भत्काउने अभियानलाइ
कसरी अघि
बढाइयो भन्ने सम्बन्धमा थोरै प्रकाश पार्छु; ध्यानदिएर सुन।
नेपाल राष्ट्रलाइ बिखण्डित गर्न र छिन्नभिन्न पार्न विदेशी शक्तिकेन्द्रहरू
कस्सिएरै लागे। जातीय विद्वेषको बिष घोलि सामाजिक सद्भावलाइ खल्बल्याएर
निमिट्यान्नै पार्न विदेशीहरूले बाबुराम भट्टराई एण्ड प्रचण्ड कम्पनिमार्फत् ठूलो
धनराशी लगानी गरे। जातीय-साम्प्रदायिक राजनीतितिर मोडेर वर्गसङ्घर्षलाइ तुहाइदिन
अमेरिकाले लगानी गर्यो। हिन्दुराष्ट्रलाइ फालेर क्रिश्चियन प्रवर्द्धन गर्न
युरोपियन युनियन लाग्यो। प्रदेश-संरचना भारतले लाद्यो।
अगस्त्यमुनि मुनि, यसरी
नेपालमा लोभीपापी, ठेट्नाहरूले राज्यसञ्चालन गरिरहेका छन् र नेपाल राष्ट्र
भ्रष्टाचारी, माफियाहरुको हब बनेको छ।
ईति श्री कुमार-अगस्त्य सम्बादे, नेपाल महात्म्ये अध्याय समाप्तम्।
No comments:
Post a Comment