Pages

Friday, July 30, 2021

 

नेपालको बर्तमान स्थिति

कुमार-अगस्त्य सम्बादे

    -आनन्दराम पौडेल

 

कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि, अब म बर्तमान नेपालको स्थितिको सर्लक्क चित्र उतार्छु; ध्यान दिएर सुन्नुहोस्। गएको आर्थिक बर्षमा नेपालको मुद्रास्फिति सवाचार प्रतिशतले बढेको छ। ब्यापारघाटा बेपत्तै बढेको छ। शोधनान्तर स्थिति पूरै भत्किएर १५ अरब १५ करोड घाटामा छ। वैदेशिक सहायता स्वात्तै घटेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ११ महिनाको (२०७७ साल साउनदेखि २०७८ जेठसम्मको) तथ्याङ्क हेर्दा उपभोक्ताहरूको ढाडै भाँच्चिनेगरी मूल्यवृद्धि भएको छ। तेलको भाउ तेब्बर बढेको छ। दाल दोब्बर बढेको छ। कृषिप्रधान देश नेपालले २०७७ साउनदेखि २०७८ बैशाख मसान्तसम्म १० महिनामा ४७ अरब ९४ करोडको चामल आयात गर्यो। १४ अरब ६९ करोडको खानेतेल आयात गर्यो। १३ अरब ९२ करोडको तरकारी आयात गर्यो।

हे अगस्त्य मुनि,  एकातिर देशको अर्थतन्त्र खोक्रोभएर धराशायी हुने अवस्थामा पुगेको छभने अर्कोतर्फ यी नेताहरूले अनावश्यक फर्माइसी संरचना स्थापना गरेर राष्ट्रको ढाडै भाँच्चिनेगरी खर्चको भयङ्कर बोझ थपिदिएका छन्। प्रदेशसंरचना राष्ट्रको आवश्यकता थिएन र जनताको माग पनि थिएन। भारतले लाद्योभन्दैमा अनावश्यक संरचना (प्रदेश संरचना) जबर्जस्ति स्थापनागरेर भारी बोझ थपिदिएका छन्। नेताका खल्तिका मान्छेहरूलाइ जागिर ख्वाउनकै लागि समानुपातिक दरबन्दी राखेका छन्। जात-जातका नामममा जथाभावि आयोगहरू बनाएका छन्। निरपेक्ष गरिबीको रेखामुनि रहेका बिपन्नहरूलाइ दिनुपर्ने आरक्षण, जात-जातका नाममा सम्भ्रान्तहरूलाइ दिईराखिएको छ। प्रधानमन्त्री रोजगार कोष भनेर बालुवामा पानी हालेसरी बजेट बगाएका छन्। हरेक साल प्रत्येक सांसदलाइ ६ करोडका दरले विकासे पकेटमनि दिईराखेका थिए।

   हे अगस्त्य मुनि, राष्ट्र जोगाऔं भनेर  हेटौंडा नवलपुरका नन्दरामलगायतका अकिञ्चनहरूले अमृतसरहका सुझाव दिएका थिए। तीमध्ये तीन-चारओटा यहाँ राख्छु। जुन योजनामा भ्रष्टाचार गर्नु छ, त्यो योजनाको स्विकृति मन्त्रिपरिषदबाट गराउने र ‘मन्त्रीपरिषदबाट स्विकृत गराएको योजना भएकोले जति भ्रष्टाचार गरेपनि अख्तियारले हेर्न पाउँदैन’ भनेर निर्वाध भ्रष्टाचार गर्ने प्रथालाइ अन्त गरियोस्। भ्रष्टाचारबाहेक अख्तियारले अनुचित कार्य भएको पनि छानबिन गर्थ्यो, त्यो रोकिदिए; पुन चालु गरियोस्। अवकाश हुनासाथ पदाधिकारीहरूलाइ नानाथरी सुविधा थपिएका छन्; त्यो बन्द गरियोस्। न्यायपरिषद जस्तो पवित्र स्थानमा राजनीतिक गन्ध आउने ब्यक्तित्वलाइ निषेध गरियोस्।  पार्टीगत भागवण्डामा न्यायाधीशहरू र संवैधानिक निकायमा भर्ति गर्न बन्द गरियोस्। माओवादी लडाकुका नाममा निकासा गरेर ७-८ अरब रकम झ्वामपारे; त्यो असुल गरियोस्।  वाइडबडी जहाज खरिद गर्दा ४ अरब ३५ करोड रकम हजम गरे; त्यो असुल गरियोस्। न्यारोबडी जहाज खरिद गर्दा १ अरब २६ करोड हातलगाए; त्यो असुल गरियोस्। आयल निगमको लागि जग्गा खरिदगर्दा ९५ करोड झ्वामपारे; त्यो असुल गरियोस्।

    हे अगस्त्य मुनि, नेपालका नेता र शासकहरू कस्ता छनभने यिनीहरूले जनताको आवाज सुन्दैसुन्दैनन्। प्रश्नलाइ छल्छन् र दरीमुनी लुकाउँछन्। जनभावनाको कदर गर्दैनन्। जनताको आवाजलाइ मुखरित गर्योभने युरो, डलर र भारुबाट पालितपोषितहरू उफ्रिन थालिहाल्छन्। साझा पार्टीका रविन्द्र मिश्रजीले जनताको मुटुको ढुकढुकी सुनेर राष्ट्रबाणि बोलेका मात्र थिए, यी डलरे र भारुरामहरूलाइ हन्हन्ति ज्वरो आउन थालिहाल्यो। जनताका मुटुको ढुकढुकी छामेर राष्ट्रबाणि बोलेबापत उहाँमाथि अहिले चौतर्फि आक्रमण भैरहेछ।

 हे अगस्त्य मुनि, जनभावना बुझेर राष्ट्रबाणि अभिव्यक्त गर्न थाल्नासाथ यी डलरेहरूले चौतर्फि आक्रमण गर्ने भएकोले हुलमूलमा जिउ जोगाउने हो कि ? यति भनेर कुमारजी मौन बसे।

ईतिश्री स्कन्दपुराणे, हिमवत्खण्डे, नेपाल महात्म्ये शुभम्।

Friday, July 30, 2021

No comments:

Post a Comment