अफगानी
राज्यब्यवस्थाको आन्तरिक जीवन
पश्चिमा जगत फिर्ता हुनासाथ अमेरिका, बेलायत लगायतका सैन्य प्रशिक्षण प्राप्त
३ लाख सेना भएको अफगानी सरकार दिनादिन खुम्चिँदै गईराखेको देख्दा कतिलाई अचम्म
लागेको होला । तर त्यहाँको सुरक्षा संयन्त्र बुझेका कारण मलाई भने अचम्म लागेन र
परिस्थिती सप्रिँदैन भन्ने मैले यसअघि नेपाललाइभ अनलाइनमा लेखिसकेको थिएँ । तर यति
चाँडो त्यो स्थिति आइहाल्ला जस्तो लागेको थिएन ।
मजारे शरिफमा नियन्त्रण जमाएपछि त्यहाँको विद्रोही शक्ति तालिबानले
जलालाबाद हातमा लिन्छ । काबुललाई कब्जा गर्नुभन्दा पहिले जलालाबाद आफ्नो पकडमा
लिनुको रणनीतिक र सामरिक महत्व छ । अफगानिस्तानले निर्यातको ठूलो हिस्सा
पाकिस्तानसँग भर परेको छ । पाकिस्तानबाट अफगानिस्तान सामान भित्र्याउने मुख्य
मार्ग हो, जलालाबाद । जलालाबाद नियन्त्रणमा लिनु
भनेको राजधानी काबुलको घाँटी समात्नु हो । त्यसैले जलालावाद तालिबानको नियन्त्रणमा
आएपछि मलाई हप्तादिनसम्म राजधानी काबुल आफ्नो काबुमा राख्छन् भन्ने लागेको थियो ।
तर द्रूत गतिमा काबुल कब्जामा पर्यो ।
अहिले आएर
अफगानी सेनाको संख्याका बारेमा बहस सुरु भएको छ । ३ लाख भनेको संख्या ३० हजार पनि
छ कि छैन । त्यस्तै २ लाख जति भनेको प्रहरीको संख्या यथार्थमा कति छ थाहा छैन । म
त्यहाँ कार्यरत रहँदा ‘घोष्ट‘ कर्मचारीको
कुरा बारम्बार उठ्ने गरेको थियो ।
प्रहरीका परिचय पत्रका पुलिन्दा प्रदेश प्रहरी प्रमुखको घर्रामा फेला पर्दा
भर्ना नै नगरिएका प्रहरीको तलब प्रहरी प्रमुखले एकमुष्ट लिएको प्रमाणित भएको थियो
। यसले त्यहाँ भ्रष्टाचारको अवस्था कुन स्तरमा संगठित छ भन्ने सहजै अनुमान लगाउन
सकिन्छ । म्यादी प्रहरीलाई तालिम दिएजस्तो गरेर बर्दी भिराउँदै हतियार भिडाएर
मात्रै सैनिक या प्रहरी हुँदैन । तर, अफगानिस्तानको
सुरक्षा संगठनको ताल यस्तै छ । यसरी भर्ना भएकाहरूले जिम्मेवारी पूरा गर्न
सक्दैनन् । त्यसमाथि अर्काको भरमा काम गरेको र मनोबल खस्किएको अफगानी सुरक्षा
फौजले एक्लै तालिबानसँग भीड्न सक्दैन भन्ने सबैले
बुझेका थिए।
अफगानिस्तान आफैँमा थुप्रै राष्ट्र मिलेर बनेको राष्ट्रजस्तो अहिले पनि छ ।
जिर्गा प्रमुखको दबदबा नीति, निर्णय, निर्माण विकास लगायतमा छ । सरकार
चाहेर पनि आफ्नो निर्णय जिर्गा प्रमुखको स्वीकृतिबिना लागू गर्न सक्दैन यसकारण अफगानिस्तानलाई एउटा सूत्रमा
बाँध्न सजिलो छैन ।
नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन (नाटो) समर्थित सेनाको तालिबान विरुद्धको कारबाही
गाउँकेन्द्रित थियो र त्यस्ता कारबाहीमा धेरै जस्तो सर्वसाधारण पर्ने हुँदा जनमत
सरकार र विदेशी सेनाविरोधी हुँदै थियो । यसरी तालिबानलाई आफ्नो ठाउँ बनाउन सजिलो
भएको थियो ।
अफिम खेती नियन्त्रण नहुँदा त्यसबाट प्रप्त रकम
पनि तालिबानको आमदानीको श्रोत थियो
भ्रष्टाचार चरम सिमामा थियो । जसरी हुन्छ पैसा कमाउनैपर्ने उनीहरूको ध्येयजस्तो अवस्था थियो र यसमा नियन्त्रण
गर्ने प्रयास पनि कतैबाट भएको देखिएन । न्यायमा पहुँच नहुँदा सरकारभन्दा तत्काल
न्याय तालिबानबाट पाइन्छ भन्ने सोच विकास भएको थियो । यसै कारण विदेशीविरुद्ध जनमत
बढ्दै गएको थियो ।
किनभने अफगान सरकार, राष्ट्रपतिदेखि
मन्त्री पदमा बसेकाहरूमध्ये धेरैजसो अमेरिका, क्यानाडा, बेल्जियमलगायतका देशका
स्थायी बसोबास (पीआर, ग्रीनकार्ड आदि) को कागजात
लिएकाहरू छन् । लामो समय विदेश बसेर उतैको स्थायी बसोबासको सुविधा लिएकाहरू स्वदेश
फर्किएर सत्ता सञ्चालन गरिरहेका छन् । सेना, प्रहरी, निजामती कर्मचारीका माथिल्ला तप्काको अवस्था पनि त्यही हो
। मेरो व्यक्तिगत चीनजान भएका त्यस्ता अफगानी साथी थुप्रै छन्, जो मन्त्रीदेखि सुरक्षा संगठनसम्म काम गरिरहेका छन् ।
No comments:
Post a Comment