‘रिसोर्ट राजनीति’को रोग
-सम्बृद्ध घिमिरे
‘रिसोर्ट राजनीति’मा आवश्यक संख्याका सदस्यहरू या त किनबेच हुन्छन्,
या किनबेच हुनबाट जोगाइन्छन्।
प्रसिद्ध आयरिस नाटककार तथा राजनीतिक
सक्रियतावादी जर्ज बर्नार्ड साका अनुसार ‘राजनीति बदमासहरूको अन्तिम उपाय हो’ (‘पोलिटिक्स इज द लास्ट रिसोर्ट फोर स्कोउन्द्रेल्स’) । जब मैले यो सुनेँ, म पूर्ण रूपले निश्चित थिइनँ कि साको यो भनाइ
नेपालको परिवेशमा लागू हुनेछ वा हुनेछैन । तर, जसरी अवस्थाहरू विकसित हुँदै छन्, ‘रिसोर्ट्स’
वस्तुतः रूपले
राजनीतिज्ञका लागि अन्तिम शरण स्थान हो ।
हालै दर्ता भएको नेकपा
(एकीकृत समाजवादी) पार्टी दर्ता हुनुअघि यसका केन्द्रीय सदस्यहरूको भेला
चन्द्रागिरि रिसोर्टमा भयो । चन्द्रागिरि रिसोर्टलाई नेताहरूको भेलास्थल छनोट
गर्नुको पछाडि रिसोर्टको गुण मात्रै नभई हाम्रो राजनीतिक संस्कारको अवगुण पनि
मिसिएको छ ।
नेपालमा सरकारहरूको
उठान र पतन कुनै नयाँ रोग होइन । यस राष्ट्रले विगतका २७ वर्षमा १४ अलग–अलग प्रधानमन्त्री देखिसकेको छ । रिसोर्ट
राजनीतिमा आवश्यक संख्याका सदस्यहरू या त किनबेच हुन्छन्, या किनबेच हुनबाट जोगाइन्छन् । यो हाम्रो
पारम्परिक राजनीतिक विकृतिबाट बिल्कुलै भिन्न हुन्छ । यो प्रचलन हाम्रो दक्षिण
छिमेकी मुलुक भारतबाट अब नेपालमा पनि भित्रिइसकेको छ ।
रिसोर्ट राजनीति भारतीय
राजनीतिका अनेकौँ उदाहरणको एक सन्दर्भ मात्र हो, जहाँ विधानसभाका सदस्यलाई लक्जरी रिसोर्ट्समा
पठाइन्छ । यस्तो कार्य या त सत्ता हस्तान्तरण सुनिश्चित गर्न गरिन्छ या सत्ता
परिवर्तन रोक्नका लागि । यसबाहेक यो एक विशिष्ट÷ठेट भारतीय घटना हो, जहाँ पार्टीहरू आआफ्ना विधायकको सत्यनिष्ठा वा
इमानदारीबारे अनिश्चित हुन्छन् वा आफ्ना प्रतिद्वन्द्वीद्वारा आफ्ना सदस्यलाई
प्रभावित गर्ने क्षमतासँग अभीभूत हुन्छन् । त्यसैले, आफ्ना सदस्यलाई वस्तुवाद र प्रलोभनको खतराबाट
बचाउन उनीहरूले आफ्नो सांसदहरूको ‘बथान’लाई हंगामाबाट जोगाउन टाढा रिसोर्ट्मा राख्ने
गर्छन् ।
यो अवधारणाको स्थापना
भारतमा कांग्रेस प्रभुत्वको युगमा भएको थियो । सन् १९८२ मा हरियाणा चुनावको
नतिजापश्चात् इन्डियन नेसनल लोकदल सशक्त बन्यो र उसले भारतीय राष्ट्रिय कंग्रेसलाई
चुनौती दियो । लोकदलले आफ्नो गठबन्धन साझेदार भारतीय जनता पार्टीका साथमा ९० मध्ये
३७ सिट जित्न सफल भयो । यसबाहेक, यो गठबन्धन ११ निर्दलीय सदस्यको समेत समर्थन प्राप्त गर्न सफल भयो । तर, प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो पार्टीका
रूपमा उभिएको थियो । राज्यपालले कांग्रेसका नेतालाई सरकार बनाउन आमन्त्रित गरे ।
इन्डियन नेसनल लोकदलका नेता देवीलाल त्यतिवेला खरिद–बिक्री रोक्न आफ्ना विधायकलाई रिसोर्टमा सार्न
बाध्य भए । तर,
उनको प्रयास नराम्ररी
विफल भयो र कांग्रेसले रिसोर्टबाट भाग्न सफल भएका केही विधायकको समर्थनमा सरकार
गठन गर्यो ।
यस्तै समान प्रकृतिको
प्रयास त्यसपछिका दिनहरूमा पनि एकीकृत आन्ध्र प्रदेश, विहार, गुजरात,
कर्नाटक, मध्यप्रदेश र तमिलनाडुमा दोहोर्याइएको थियो ।
तर, कर्नाटक र मध्यप्रदेशको रिसोर्ट राजनीतिसम्म
आइपुगुन्जेल कायापलट भइसकेको थियो भारतीय राजनीतिमा । परिणामस्वरूप दुवै राज्यमा
कांग्रेस नेतृत्वको सरकारको पतन भयो । कांग्रेसलाई सरकार बनाउनबाट रोक्नका लागि
आविष्कार गरिएको एक उपकरण अब कांग्रेस सरकारलाई असफल बनाउनका लागि प्रयोग हुन
थालेको थियो । यद्यपि,
यो घटना कांग्रेस युगमा
सुरु भएको थियो,
यसको तीव्रता र
दायरालाई यसको प्रमुख प्रतिद्वन्द्वी भारतीय जनता पार्टीद्वारा अधिकतम प्रयोग भएको
थियो । यो उपकरणको प्रयोग मात्र सरकार गठन र गिरावटका लागि नभई राज्यसभा चुनावमा
पनि सत्ता सुनिश्चित गर्नका लागि प्रयोग गरिएको थियो । २०२० को राज्यसभा चुनावमा
गुजरात प्रदेशमा यो रिसोर्ट विधि प्रयोग गरिएको थियो ।
हाम्रो देशमा अहिलेसम्मका सबै क्रान्तिको
नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसले यो ‘कु–क्रान्ति’को पनि नेतृत्व गरेको हो, जसको नाम हो,
रेसोर्ट राजनीतिको
कुक्रान्ति । २०औँ शताब्दीको अन्तिम दशकमा पहिलोपटक प्रधानमन्त्री बनेका वर्तमान
प्रधानमन्त्री शेरबहादुर देउवा नेपालमा यस राजनीतिक उपकरणका संस्थापक हुन् । ०५३
मा आफ्नो सरकार ढल्नबाट बचाउन र एमालेको अविश्वास प्रस्ताव असफल पर्न देउवाले
नेपालमा यस उपकरणको पहिलो परीक्षण गरेका थिए । यस योजनाअन्तर्गत केही सांसदलाई
राजधानीका होटेलहरूमा राखिएको थियो । यसअतिरिक्त मन्त्रिपरिषद्का केही सदस्यलाई
ब्यांकक पठाएर त्यहाँका होटेलहरूमा राखिएको थियो । नेपाली राजनीतिमा यस कार्यलाई ‘सुरासुन्दरी काण्ड’ भनेरसमेत चिनिन्छ । यतिखेर राप्रपाका मुख्य
दुई गुट (थापा र चन्द गुट) ले सरकार र प्रतिपक्षीलाई समर्थन दिने निर्णय गरेका थिए
।
नेकपा (एकीकृत समाजवादी) गठनअघि चन्द्रागिरि रिसोर्टलाई नेताहरूको भेलास्थल
छनोट गर्नुको पछाडि रिसोर्टको गुण मात्रै नभई हाम्रो राजनीतिक संस्कारको अवगुण पनि
मिसिएको छ
हालै कांग्रेस र
माओवादी पार्टीका प्रदेश सभा सदस्यलाई पोखराको होटेल कुटीमा राखिएको थियो भने जनता
समाजवादी पार्टीका सदस्यलाई नजिकैको अर्को होटेलमा राखिएको थियो । अविश्वास
प्रस्ताव दर्ता गर्ने यी २९ सदस्यमध्ये १५ कांग्रेसका, १२ माओवादी र दुई जनता समाजवादी पार्टीका थिए
।
त्यसैगरी प्रधानमन्त्री
केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर हटाउने कांग्रेसलगायत विपक्षीको
योजनाका कारण जनता समाजवादी पार्टी दुई पक्षमा विभाजित भयो, ठाकुर र यादव समूह । यादव समूहबाट आफूनिकटलाई
तान्ने भयले सरकारकै प्रबन्धमा महन्थ ठाकुरले दर्जनभन्दा बढी सांसदलाई २९ वैशाखमा
०७८ मा भक्तपुरको डोलेश्वर भिलेज रिसोर्ट पुर्याए ।
देशको सबैभन्दा नयाँ
पार्टी नेकपा एकीकृत समाजवादीले पनि दल दर्ता गर्नुभन्दा ठीकअघि आफ्नो समूहलाई
चन्द्रागिरि रिसोर्टमा राखेको थियो । विश्लेषकहरूका अनुसार यसको मुख्य कारण
नेताहरूको मनको भय थियो । आफ्नो साथमा रहेका बचेखुचेका नेताको पनि हृदय परिवर्तन
होला वा प्रलोभनका कारण मूल पार्टीमा फर्केर जालान् भन्ने भयले गर्दा नेतृत्वले
सबैलाई दुई दिनसम्म रिसोर्टमा राखेको थियो ।
रिसोर्ट राजनीतिको गुँज
हरियाणा मिसालपछि भारतका विभिन्न राज्यसँग सिंगो राष्ट्रभर अझै महसुस गर्न सकिन्छ
। त्यस्तै नेपालका अन्य राजनीतिज्ञ र दलहरूले ‘सुरासुन्दरी काण्ड’
तथा गण्डकीको उदाहरणबाट ‘पाठ’ सिकेर यो कुख्यात कर्मलाई वेलावेलामा बढावा दिइरहेका छन् । यसबाहेक, ‘रिसोर्ट राजनीति’ले पार्टी परिवर्तन गर्न इच्छुक विधायकका लागि
आगामी दिनमा निष्ठाको दर पनि तय गर्नेछ, जसले हाम्रो शासन प्रणाली र शासकबारे गम्भीर शंका पैदा गर्छ ।
नेपालजस्तो नयाँ र
कमजोर लोकतन्त्रमा यस्तो राजनीतिक गतिरोधको कुसंस्कारले व्यवस्थालाई अझै कमजोर
बनाउँछ कि मजबुत ?
स्थिर सरकारको मुद्दामा
मतदान गरेका जनताको मन यो सब राजनीतिक विकृति हेर्दा र सुन्दा कति खिन्न भयो होला ? के यस्ता घटनाले जनताको बहुदलीय लोकतन्त्रमा
रहेको विश्वासलाई समाप्त गर्छ ? के हामी मध्ययुगीन अर्ध–सामन्ती
कुलीन प्रणालीको एक पुनरुत्थानतिर फेरि फर्किंदै छौँ ?
यी प्रश्नको उत्तर दल, नेता र समयसँग मात्र छ । तर, राष्ट्रका शासक वर्गका लागि ‘रिसोर्ट राजनीति’को उपयोगसामु लम्पसार हुनुको सट्टा यसको
निहितार्थबारे विचार विमर्श गर्नु लाभदायक हुनेछ ।
No comments:
Post a Comment