ब्युरोक्र्यासि
निजामति सेवा दिवसको
सन्दर्भमा मेडियाले योअकिञ्चनसँग अन्तर्वार्ता लिएको थियो।
१. मान्छेहरु घुस खानकै लागि सरकारी सेवा रुचाउँछन् भनिन्छ। यस बिषयमा के भन्नुहुन्छ ?
घुस, भ्रष्टाचार राज्यसत्ताको स्थापनासँगै जन्मेको विकृति हो। नेपालको
सन्दर्भमा २०३६ अघिसम्म घुस,भ्रष्टाचार खुल्लेआम थिएन। निकै नै चनाखो,सतर्क रहेर र वुध्दि लगाएर घुस खाने र भ्रष्टाचार गर्नेगर्थे। २०३६
सालमा सूर्यबहादुर थापाले घुस,भ्रष्टाचारलाइ संस्थागत गरिदिए। २०४८ पछि
गिरिजाप्रसाद कोइरालाले घुस,भ्रष्टाचारको दायरालाइ बढाइदिए र २०६३ पछि त घुस,भ्रष्टाचार यति व्यापक भयोकि अब त घुस खानु र भ्रष्टाचार गर्नु मौलिक
हक नै बनेको छ। तीन दशक अघिलाइ सम्झने होभने, त्यो कालखण्डमा लोकसेवा आयोगप्रति
सबैको आस्था र विश्वास थियो। त्यसबेला उस्को परीक्षाप्रणालिमाथि कसैले पनि शङ्का
गरेको थाहा छैन। त्यसैले, लोकसेवा आयोगको प्रतिस्पर्ध्दा उत्तीर्ण गरी
नियुक्त भएका अधिकृतप्रति समाजले हेर्ने दृष्टिकोण निकै सकारात्मक थियो। समाजले
इज्जत नै गर्थे। त्योबेला क्रिम फिगरहरू निजामति सेवामा प्रवेश गर्थे। तीन
दशकअघिको स्थितिसँग अहिलेको स्थितिलाइ तुलना गर्न सकिंदैन।
२.कर्मचारीले गर्नुपर्ने काम गर्दैनन्, गर्नैनपर्ने काममा हात हाल्छन् भन्ने कुरामा कति सत्यता छ ?
अत्यन्तै पुरातन
कार्यशैलिमा नेपालको प्रशासन,कर्मचारीतन्त्र चलेको छ। परिणाममुखि हुनुपर्ने
कार्यप्रणालि प्रकृयामुखि नै छ। नियम,कानुनको आड लिएर प्रकृया
पूरा गरिदिनु नै कर्तव्य,जिम्मेवारीको इतिश्री सम्झने मनोविज्ञानले बलीयो
जरा गाडेको छ। कुनैपनि कामको परिणामसँग जोडेर हेर्नुनपर्ने भएकोले कर्मचारीहरुले
काम गरिरहेकै हुँदैनन्; मात्र प्रकृया पूरा गरिरहेका हुन्छन्। जवकि, के हुनुपर्थ्योभने उस्ले गर्ने कामको परिणाम मात्र हैन त्यस्को असर,प्रभावसमेतको ख्याल गरेर जवाफदेहिता र जिम्मेवारीवोध सहित् काम
गरिरहेको हुनुपर्थ्यो। प्रणालि र कार्यशैलि नै गलत (उल्टो) भएकोले आफूले गरिरहेको
कामसँग कर्मचारीको भावनात्मक सम्बन्ध र अपनत्व नै हुँदैन। “सरकारको काम, कहिले जाला घाम” शैलिमा
झारा टारिरहेका हुन्छन्। नेपालका कर्मचारीहरुमा, “शक्तिकेन्द्रलाइ रिझाउने र
आफू सुरक्षित रहेर अवसरको फाइदा लिने” जागिरे मनोवृत्ति छ। राजनीतिक नेताहरुले पनि यसैलाइ प्रवर्ध्दन
गरिरहेका छन्।
३.
नयाँ नेपाल निर्माणका क्रममा पुराना कर्मचारीको भूमिका के हुन्छ होला ?
समयको माग र चापसँगै आफूलाइ
बदल्न नसक्ने, पुरातन सोचले ग्रस्त, थोत्रा कर्मचारीबाट नयाँ नेपाल निर्माण हुँदैन। कर्मचारी मात्र हैन
यी थोत्रा नेताहरुबाट पनि नयाँ नेपालको निर्माण हुँदैन। नयाँ नेपाल निर्माण गर्न
पुराना सोच फालेर नयाँ सोच भर्नुपर्छ। डिजिटल जमाना छ, त्यस्मा अभ्यस्त हुनुपर्छ। विवेकशील, सृजनशील, रचनात्मक, कल्पनाशील, जीवनमुखि, देशभक्त कर्मचारी अहिलेको आवश्यकता हो। यान्त्रिक, शुष्क, रुखो, टर्रो
हैनकि मानवीय गुणले ओतप्रोत कर्मचारीको खाँचो यो राष्ट्रले महसुस गरेको छ।
४. योग्यता र क्षमता भएको तर गैरकानूनी क्रियाकलाप नगर्ने कर्मचारीहरू अहिलेको सेवा-सुविधामा बाँच्न सक्छन् ?
निकै कठिन छ। बजेट मार्न
पाइने, कमिशनको तर मार्न पाइने र घुस खान पाइने ठाउँमा
तैनाथ कर्मचारीहरुको संख्या बढीमा २० प्रतिशत होला। बाँकि ८० प्रतिशत निजामति
कर्मचारीहरु सुख्खा,खडेरीमै पिल्सिएर, तड्पिएर
बाँचिरहेछन्। छिमेकी देशहरुकै तुलनामा नेपालका निजामति कर्मचारीहरुको तलब-स्केल
अत्यन्तै न्युन छ। नेपालभित्रै पनि राष्ट्र बैंक, टेलिकम, बैंक, संस्थानका कर्मचारीलाइ, निजामतिको तुलनामा भत्तासुविधा अकल्पनीय बढी छ। घुस,कमिशन खान पाइने र बजेट मार्नपाइने ठाउँमा भएका ती २० प्रतिशत
कर्मचारीको बिषयलाइ छाडिदिउँ। बाँकि ८० प्रतिशत निजामति कर्मचारी जुन दयनीय हालतमा
छन्, यस्तो हरिकङ्गाल अवस्थामा राख्नुहुँदैन।
५. दिनभरि कार्यालयमा निदाउने र सबै काम भोलि हुन्छ भन्ने कर्मचारी, क्यान्टिन कर्मचारी र डपिंग कर्मचारीलाई कसरी तह लगाउने होला ?
“गोल्डेन ह्याण्डसेक” नै
उपयुक्त होला। पुरातन सोचका, थोत्रा कर्मचारीलाइ “गोल्डेन ह्याण्डसेक स्किम” बाट बिदा
गर्ने। कोर अधिकृतहरु मात्र स्थायी नियुक्ति गर्ने। बाँकि सबै कर्मचारी
कण्ट्याक्टमा राख्नुपर्छ।
६. मन्त्रीले गरिदिनुस् भनेको काममा खुरुखुरु गरिदिने, जे भन्यो त्यहि मानिदिने कर्मचारी र आफ्नो प्रष्ट रायसहित विवेकको निर्णय गर्ने कर्मचारीबीचको अन्तर केही पाउनु भयो कि ?
ठूलो मात्र हैन, भयङ्कर अन्तर छ। प्रतिभावान, योग्य, सक्षम कर्मचारीहरु स्वाभिमानी हुन्छन्। जिम्मेवारी र वातावरण पाएमा
केही विशेष गरेर देखाउन लालायित र तत्पर रहन्छन्। तर ती कर्मचारीका कमि-कमजोरी के
हुन्छभने तिनीहरु चाकडी, चाप्लुसि गर्दैनन्। चाकडी,चाप्लुसी नगरेवापत यिनीहरुलाइ सधैं पाखा पारिन्छ। शक्तिकेन्द्रहरूमा
पहूँच बनाइराख्ने धूर्त, चलाक, छट्टुहरूको एकलौटी हालिमुहालि छ।
(७) समग्र प्रशासन
भाँडिनुमा को जिम्मेवार छन् ?
नेपालमा पार्टीनेताहरुले
आफ्नो स्वार्थ घुसाउँदा थिति बिग्रेको छ र सिष्टम भाँडिएको छ। त्योभन्दा बढी
विदेशीहरुले उनीहरुको स्वार्थ घुसाउँदा नेपालको राज्यव्यवस्था मात्र हैन समाजसमेत
दुर्गन्धित बनेको छ। नेपालमा इण्डो-वेष्ट गठवन्धनको नाङ्गो हस्तक्षेप अत्यन्तै
घीनलाग्दो छ। विदेशीहरु, विशेषगरी इण्डो-वेष्ट गठवन्धनको ताण्डवनृत्य
चलिरहँदा पनि नेपाली जनताले “ऐया, आत्थो” सम्म गर्दैन, कुनै
प्रतिकृया दिंदैन; यो अर्को आश्चर्यको बिषय छ।
८. सेवाग्राहीले सहजै सेवा पाउने गरी सरकारी निकाय र संरचनाको सुधार कसरी हुन सक्छ ?
नेपालको प्रशासनमा
कार्य-उत्प्रेरणाको अभाव छ। मूल्याङ्कनप्रणालि नभएको कारणले गर्दा कसैले विशेष
योगदान दिईरहेको भएपनि दुनिञाको नजरमा पर्दैन। जनताको नजरमा पर्दैन, समाजको नजरमा पर्दैन र राष्ट्रको नजरमा पर्दैनभने
उत्कृष्ट कर्म समेत् निरर्थक हुनजान्छ। निस्पक्ष, विवेकशील, सक्षम, योग्य
व्यक्तिहरु भएको, शक्तिशालि मूल्याङ्कन संयन्त्र निर्माण गर्नुपर्छ।
यो संयन्त्रले आग्रह पूर्वाग्रहबाट मुक्त रहेर, परोक्षरुपमा, सुक्ष्म तवरले हरेक कर्मचारीको स्वस्थ मूल्याङ्कन निरन्तर
गरिरहनुपर्छ। मूल्याङ्न गर्दा सेवाग्राहीहरुको राय वुझ्ने गर्नुपर्छ। त्यही
मूल्याङ्कनको आधारमा तीन प्रकारका पुरस्कारको परिपाटी बसाल्नुपर्छ। एउटा, हरेक महिना कर्मचारीको तलब जम्मा गर्दा त्यससँगै पुरस्कृत रकम पनि
उस्को बैंकखातामा जम्मा गरिदिने। दुई, सार्वजनिक
समारोहमा सम्मान गर्ने। तीन, अन्य अवसरहरु प्रदान गर्ने।
मङ्गलवार, सेप्टेम्बर 21, 2021
No comments:
Post a Comment