सरकारी अत्याचार
दोस्रो विश्वयुद्धमा ब्रिटिश उपनिवेशवादीहरुले गरेको नेपाली युवा केटाहरुको क्रूर शोषणको एक कहालीलाग्दो सानो झलक मैले पनि पाएकोछु। वि०सं० २०२४/२५ तिर मैले काठमाण्डौको धरहरा स्थित टक्सार विभागमा इन्जिनियर-इन्चार्जको रूपमा काम गरें lटक्सार विभागमा मैले एउटा कोठा सदैव ताल्चा मारेको देख्दथें। खासै चासो राखिन। नेपाली सिक्काहरूको दैनिक उत्पादनको लागी अन्य धातुहरु संग तामा पनि पगाल्नु पर्दथ्यो। अन्तर्राष्ट्रिय बजारमा तामाको मूल्य ह्वात्तै बढ्यो। तामामा आधारित सिक्काहरु उत्पादन गर्दा सरकारलाइ धेरै घाटा पर्ने भयो। भण्डारमा तामा सकिन लागेको थियो l मैले डाइरेक्टर साहेबलाइ आवश्यक मात्रामा तामाको आपूर्ति गर्न अनुरोध गरें l डाइरेक्टर साहेबले एक हप्ता वा दस दिन पर्खनुहोस् इन्जिनियर साहेब भन्नु भयो। नभन्दै केही दिन पछी अर्थ मन्त्रालयबाट अनुमोदन गराइ ताल्चा मारेको कोठाबाट आवश्यक तामा उपयोग गर्न निर्देशन दिनु भयो। ताल्चा मारेको कोठा खोली हेर्छु त चकित भएँ। लगभग एक लाख थान तामाका पदकहरु राणाकालदेखि कोठाभित्र थन्केर बसेका रहेछन्। दोस्रो विश्वयुद्धको क्रममा मारिएका वा हराएका बिभिन्न गोर्खा सेनाका जवानहरूलाइ सम्मानार्थ ब्रिटिश गोर्खा सेनाले यी तामाका पदकहरु संवन्धित व्यक्ति वा नातेदारहरूलाइ दिन अनुरोध सहित नेपाल सरकारलाइ पठाएको रहेछ। राणा शासकहरुलाई यसको के मतलब ? आफ्नो गोप्य कमिसन हात लागी सक्यो; जनता भाँडमे जाए। केहि दिन पछि यी तामाका पदकहरुलाई पुरा प्रयोग गरीयो र कोठा खाली भयो।
-Rajendra Adhikari
No comments:
Post a Comment