Pages

Monday, October 4, 2021

 

मधेशीलाइ उच्च स्थान

 

व्यक्तीगत प्रसँगबाट कुरा थालौं । मधेशमा यादव, चौधरी, मुसलमान, साह, गुप्ता, जयसवाल, सहनी, मीश्र र झासँग  ढाडमा चढेर भैंसी चराउँदै, डेलीमा खेतका आली आलीमा घाँस काट्दै, नुन- खोर्सानी-टिकुलीया खाने प्रतिस्पर्धा गर्दै, टिली डण्डा (डण्डी बियो) खेल्दै, लमाह-चाँदी खोलामा नुहाँउदै र पैनीमा (कुलो) बाम-हिले-पोठीया माछा र गँगटा मार्दै हुर्किएको एउटा नेपाली हुँ । त्यतीमात्र होईन छठ, फागु पुर्णीमा, माघी, दाह, राम नवमी र ईद मनाउँदै र ती पर्वहरुलाई सम्मान गर्दै जीवन र समाज बुझ्ने भएको मान्छे हुँ म ।

सामाजिक द्वन्द्लाइ प्रवर्द्धन गर्नका लागि अघि सार्नु भएको विचार नेपाल जस्तो गरिव र कमजोर राज्य बाहेक अन्त प्रस्तुत गर्न सक्दैनन् । नेपालमा मानसिक सन्तुलन गुमाएको मान्छेले झैं सिके राउतले मधेश छुट्टै पृथक राज्य हुनुपर्ने माग सार्नुभयो । राउतले लामो समय बिताएका अमेरीकामा रेड इन्डियन र निग्रोहरुको छुट्टा छुट्टै राज्य माग्न सक्नुहुन्छ ? क्यानडा र अष्ट्रेलियामा आदिवासीहरुको छुट्टा छुट्टै राज्य माग्न सक्नु हुन्छ ? न्यूजील्याण्डमा माउरीको छुट्टै राज्य माग्ने शाहस गर्न सक्नुहुन्छ ? भारतमै गोर्खा, मैथिल, बोडो र खसीया छुट्टाछुट्टै राज्य माग गरेर तिनलाई कार्यान्वयन गराउन सक्नुहुन्छ ?

केवल सपना-शहिद खेती गर्ने, सामाजिक द्वन्द्वहरुमात्र देखाउने तर समाधान के कसरी गर्न सकिन्छ? त्यसको खोजी नगर्ने ? भो बन्द गरौं गरिव जनता भडकाउन जातको नाममा नयाँ नयाँ नारा तय गर्ने प्रचलन ।

पन्चायतकालमा सरकारी उच्च पदाधिकारीहरूले राष्ट्रिय पर्वको दिनमा दौरा, सुरुवाल, ढाका-भादगाउँले टोपी लगाउँथे।  २०४६ को जनआन्दोलन पछि संसदमा मैथिली, भोजपुरी वा बजीका वा अवधमा होईन हिन्दीमा भाषण गरेको सुनिएकै हो । त्यतिवेला मधेशमा लगाईने पहिरन लगाएर सांसदहरु प्रतिनिधी सभामा निर्वाध आउने जाने गरेको देखेकै हो । खोई त ! त्यतीबेला सत्ताधारी वा संस्थापक ठानीएका पहाडीयाले कहिँ कतै विरोध गरेनन् । मधेशमा बसोबास गर्दै आएका पहडीयाहरु जनकपुर, कलैया, लहान, विरगन्जबाट खेदिँदा र आफ्नो जायजेथा गुन्द्रुकको भाउमा बेचेर हिँडदा न राज्यले कानुनको प्रत्याभुती दियो न त मधेश आन्दोलनका कारण पहाडमा काम गर्ने कुनै पनि मधेशीमाथि आक्रमण वा प्रतिरोध भयो । मधेश आन्दोलनको अतिवादले मधेशका जनकपुर, कलैया, विरगन्ज र लहानमा बन्द ब्यापारमा कमी आएपछि पहाडीया खेदेर गल्ती गरेको अनुभूती मधेशीहरुले पनि गरेकै हो । यो यथार्थलाई विर्सन मील्छ ? मधेश आन्दोलन पछि राष्ट्रपति, उपराष्ट्रपति, गृह तथा उप प्रधानमन्त्री, प्रधान न्यायाधीश र कतिपय सरकारि प्रवक्ता मधेशी भएको सत्यलाई किन लुकाउने ? यो चेरी पिकीगं (Cherry Picking एकाङ्गि दृष्टिकोण) को परिणाम होईन र !

सन्तुलीत भएर हेर्दा मीश्रित बसोबासको पहिचानले नै नेपाललाई शदियौं देखि सुदृढ, अक्षुर्ण, सबल, अटल र गतिशील बनाएको छ । नेपालको एतिहासीक ईतिहासमा यस्तो दृष्टान्तहरु पनि छन नि । १-१५ माघ २०६८ मा हिमालमा प्रकाशित काठमाण्डौका रैथाने तिरहुतिया एक पटक पढौं त : 
भक्तपुरको यालाक्षें वलाखु टोलका भष्करबोध मिश्र (८९) परिवारलाई नेपाली भन्दा नेवारी भाषा सहज लाग्छ । उनीहरुको '' '' को उच्चारण ठिक उल्टो हुन्छ । लवज, भेषभुषा र चाडबाडको हिसाबले पनि हुबहु रैथाने नेवार नै लाग्छ, मिश्र परिवार । मिश्र भन्छन,"हाम्रो संस्कृति उपत्यकाको तौरतरीकासंग एकाकार भएको युगौंयुग बितिसक्यो ।"
हुन पनि, राजा यक्ष मल्लले दरबार हातामा चतुरमुखी यक्षेश्वर महादेव (पशुपति) स्थापना गरेसँगै भक्तपुरमा तिरहुतिया बाहुनहरुको ससम्मान उपस्थिति सुरु भएको थियो । भाष्करबोध मिश्र र उनका भाई पूर्व न्यायाधीश महेश्वर (७०) का परिवार यक्ष मल्लले यक्षेश्वरको पुजारी बनाएका सदन झाका सन्तान हुन । यलाक्षेंकै अर्का मैथिल पण्डित त्रिभुवन विश्व विद्यालयमा नेवारी भाषाका प्राध्यापक थिए । हाल क्यानडाको एडमन्टनमा बसोबास गर्दै आएका झाका छोरा रामलोचन पद्मकन्या क्याम्पसमा नेवारी पढाईरहेका छन्।

‪#उपत्यकामाजुजुबाजे'

पूजा अनुष्ठानको एेतिहासिक पेशा र पिरचयसँगै गाँसिएका मैथिल ब्राह्मणहरु काठमाण्डौमा 'जुजुबाजे' भनेर चिनिन्छन । ललितपुरको वालीफल, अथवहा:, वखुवहा:, यगुंवहा:, टौवहा:, कोवहा:, तिछुगल्ली, महापाल, गुसिंगाल, कोपुण्डोल र देवनगर; भक्तपुरको ईताक्षे, यलाक्षें, तपलाक्षी, नासमना, मंगलाक्षे, गोल्मढी, र वलाखुं तथा काठमाण्डौको ढोकाटोल, मखन, नरदेवी, मरुहिटी, यटखा, प्याफल, न्ह्योखा, भीमसेनस्थान, जैसिदेवल, चिकंमुगल, अटकोनारायणस्थान र लगनटोल जस्ता पुराना वस्तीहरुमा उनीहरुको बसोबास छ । धेरैजसो नेवारीमा बोल्ने उनीहरु मैथिल भाषा जान्दैनन। तैपनि धेरैले आफ्नो वंश परम्परा जोगाउन तराईका रौतहट, पर्सा, जनकपुर लगायतका स्थानका सजातिय कुटुम्बसँग बिहावारी गर्ने गरेका छन । 
तिरहुत ब्राह्मण समाजका सचिव सिर्जन झाका अनुसार, काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा २० तिरहुतिया-मैथिल ब्राह्मण परिवार छन भने अरु धेरै स्थानिय समाजमा बेग्लाबेग्लै परिचयमा घुलमिल भैसकेका छन । करिव ७ सय वर्षअघि सिम्रौनगढको पतनसंगै काठमाडौं खाल्डोमा पसेका तिरहुतिया (मैथिल) हरु यति लामो सहवासको परिणाम आज भेषभुषा, रहन-सहन र लवजका हिसाबले रैथाने मात्र बनेका छैनन, मिश्रित नेपाली समाजको एउटा दह्रो परिचायक बन्न पुगेका छन ।

सन ६३४ तिर नेपाल आएका चिनियाँ यात्री युवान चागं (ह्वेन सागं) ले 'नेपाल उपत्यकामा हिन्दु र बौद्ध दुवै धर्म मान्ने समुदाय बस्छन' भनेर लेखेका छन । नेपालमा परापूर्वकालदेखि विभिन्न धार्मीक र जातीय समुदायका मिश्रित बसोबासका यस्ता दृष्टान्त धेरै छन । मल्लकालमा भएको तिरहुतियाहरुको प्रवेशले यो परम्परालाई अझ समृद्ध बनायो ।

मिश्रित बसोबास नेपाली समाजको आधारशिला नै हो । ब्राह्मण लगायत जनजातिले पूजा गर्ने, टिका थाप्ने र प्रसाद ग्रहण गर्ने मनकामना मन्दिरका मगर, मैनामैनिका राई, ठाकुरद्वारका थारु तथा काठमाडौं उपत्याकाको मठ मन्दिरका मैथिल ब्राह्मण र नेवार पुजारी मिश्रित बसोबासकै मियो हुन । नेपालको ईतिहासमा गम्भीर जातीय द्वन्द्व वा युद्ध भएको पनि पाईंदैन । मिश्रित समाजको यस्तो दृष्टान्त विश्वमा विरलै पाइन्छ ।

उपत्यकामा मैथिल ब्राह्मणहरुलाई पुजारी बनाउने चलन वि.सं. १९७७ सम्म चलेको गुठी संस्थानको लगतले देखाउँछ । विष्युलाल झा १९७७ सालमा भक्तपुरको सूर्यविनायक मन्दिरमा पुजारी भएका थिए । २०५७ सालसम्म विष्युलालकै सन्तान गजेन्द्रप्रसादले पुर्खाको बिँडो थामेकोमा उनका छोराहरुले अरु नै पेशा रोजे पछि सिपाडोलका माधवप्रसाद चालिसे नियुक्त भए । सूर्यविनायकमा वि.सं. १८५० मा भवलाल झा पुजारी नियुक्त भएका थिए । यसैगरी, काठमाडौंको मखनटोलस्थित जगन्नाथजी मन्दिरमा वि.सं. १८६५ मा विष्णुदास, ध्रुवदास र गोविन्ददास पुजारी भए । असनको अन्नपुर्ण मन्दिरमा २०३२ सालमा हुत्तराज झाको मृत्युपछि मैथिल ब्राह्मणहरुले साप्ताहिक नित्य पूजा गर्ने परम्परा नै टुट्यो ।

राजा योग नरेन्द्रदेव मल्लकी छोरी योगमतीले पाटनमा बनाएको च्यासिँदेवल मन्दिर, हरिशंकर मन्दिर र ज्वालानरसिंह मन्दिरका पुजारी गुरुदत्त मिश्र (७१) आफ्नो पुर्ख्यौली पेशालाई निरन्तरता दिइरहेका छन । यसबापत गुठी संस्थानबाट दैनिक पुजारी खान्की डेढ रुपैयाँ र नित्य पूजाका लागि मासिक रु १ सय मात्र पाउने उनी नपुग खर्च घरबाटै बेहोरी रहेका छन । तर आफ्नो शेषपछि यो परम्परा कसरी चल्ला भन्नेमा उनी खुबै चिन्तीत छन । तिरहुत ब्राह्मण सेवा समितिका अध्यक्ष समेत रहेका मिश्र भन्छन,"छोराहरुको रुचि देख्दिनँ, अब यो संस्कृति कसरी जोगीएला ।"

नेपाल मैथिल ब्राह्मण समाजका सल्लाहकार रामलोचन झा राजा जयस्थिती मल्लले मैथिल ब्राह्मणहरुको सहयोगमा थिति बसाएको बताउँछन । उनको भनाईमा, जात र वर्ण अनुसार कार्य विभाजन भएपछि पेशा रोज्न लगाउँदा आफ्ना पुर्खाले नित्यपूजा छानेका हुन । तिरहुतिया ब्राह्मण सेवा समितीका अध्यक्ष गुरुदत्त मिश्रका अनुसार, जयस्थिती मल्लले विज्ञका रुपमा कीर्तिनाथ उपाध्याय, रघुनाथ झा, श्रीनाथ भट्ट, महिनाथ भट्ट र रामनाथ झालाई झिकाई ६४ जात, १८ वर्ण तय गरेर जातपात, घरबार, पेशा, मृत्यसंस्कार निर्धारण गरेका थिए ।

इतिहासको लामो कालखण्डमा मैथिल ब्राह्मण उपत्यकाको रैथाने संस्कृतिसँग यति एकाकार भै सके; कृष्णजन्माष्टमी, ब्रतसावित्री, रामनवमी, सिता जयन्ती, मातातीर्थ औंशी, कुशेऔंशी, इन्द्रजात्रा, पाँचन्हे, सितिनख, दशैं, तिहार तिनको आफ्नै चाड भैसक्यो । उपत्यकाका पुराना मैथिल ब्राह्मणहरुको सांस्कृतिक अभ्यासलाई हेर्दा उनीहरुले मिथिला छोड्दा छठ पर्व सुरु भै नसकेको प्रष्टै बुझिन्छ।

राजा हरिसिहंदेवका मन्त्री चण्डेश्वर ठाकुरले राजग्राम (दोलखा आसपासको क्षेत्र) कब्जा गरेको इतिहास शिरोमणि बाबुराम आचार्यको नेपालको संक्षिप्त वृत्तान्त मा उल्लेख छ । नेपालमा चण्डी पाठ गर्ने परम्पराको थालनी तिनै चन्द्रेश्वरले गरेको इतिहासकार श्रीकृष्ण आचार्यको भनाइ छ । यस आधारमा गयासुद्दीनबाट पराजित तिरहुतहरु ठूलो संख्यामा नेपाल पसेको अनुमान गर्न सकिन्छ ।

मध्यकालअघि र पछि पनि नेपालका दरबारमा धर्म, दर्शन, संस्कृति र राजनीतिशास्त्रको विद्वानको रुपमा तिरहुतिया र मैथिल ब्राह्मणहरुले सम्मानित स्थान पाएको देखिन्छ । इतिहासकार डा. रमेश ढुगेंलका अनुसार, तिरहुत वा मैथिल ब्राह्मणहरु दुई चरणमा काठमाडौं उपत्यका प्रवेश गरेका हुन- सिम्रौनगढको पतनपछि र कान्तवतीसँग रणबहादुर शाहको विवाहपछि ।

देवलदेवीपछि विभिन्न कालखण्डमा नेपालका दरबारमा कर्नाटवंशकी राजमति र तिरहुत सुन्दरी कान्तवती सर्वेसर्वा बनेको इतिहास छ । राजा प्रताप मल्लले वि.सं. १६९८ मा कर्नाटवंशकी दुई कन्यासँग एकैपटक विवाह गरेका थिए । ती मध्ये कान्छी राजमती निके शक्तिशाली बनिन । तन्त्रमा ठूलो विश्वास गर्ने प्रताप मल्लको दरबारमा दक्षिण भारतको तान्त्रिकद्वय ज्ञानानन्द र लम्बकर्ण भट्टको ठूलो प्रभाव थियो ।

मोहनप्रसाद खनालको चाँगुनारायणको एेतिहासिक सामग्री को सुवर्णपत्रमा आधारित जानकारी अनुसार, जयस्थिती मल्लकै पालामा पनि शिवदास, विष्णुदास र गंगादास नामका मैथिल ब्राह्मणहरुको बोलवाला थियो । शिवदास राजगुरु थिए भने विष्णुदास र गंगादासले चाँगुनारायणमा यज्ञ गरेर ताम्र पत्र चढाएका थिए । सुवर्णपत्रमा अमात्य सामन्त (प्रधानमन्त्री) जयब्रह्म र योद्धापति (सेनापति) जसरामको पनि वर्णन छ ।

वि.सं. १७७० ताका कान्तिपुर (काठमाडौं) मा झगल ठाकुर नामका अर्का एक महत्वाकांक्षी मैथिल ब्राह्मण शक्तिशाली बने । राजकुलका एक ल्याइते तर्फका सन्तान ठानिएका यिनी राजमाता भुवनलक्ष्मीलाई प्रभावमा पारेर वंशीधर माश्केलाई पदच्युत गराई आफैं चौतरिया (प्रधानमन्त्री) बनेका थिए ।

राजा रणबहादुर शाहले तिरहुत नवयौवना विधवा कान्तवतीसँग भावी सन्तानलाई आफ्नो उत्तराधिकारी बनाउने शर्तमा विवाह गरेका थिए । र, शर्त अनुसार उनका छोरा गीर्वाणयुद्ध राजा भए पनि । बाबुराम आचार्यको पुस्तक अब यस्तो कहिले नहोस का अनुसार, रणबहादुर शाह कान्तवतीप्रति यति लालायित रहन्थे कि उनको इच्छा भुईंमा खस्न नपाई पुरा गर्न लागि पर्थे ।

इतिहासका यी प्रमाणिक तथ्यहरुले कुनै बेला नेपालको राजदरबारमा मैथिल ब्राह्मणहरुको हालीमुहाली देखाउँछ ।

••••••••••••••••••••••••••••••••.
जगंबहादुरले लेसपति र लोकपति झा नामका मैथिलहरुको सहयोगमा मुलुकी एेन बनाएर वि.सं. १९१० मा लागू गरेको डा. रमेश ढुगेंल बताउँछन । उनी भन्छन,"जगंबहादुरले लेसपति र लोकपति झालाई पुरस्कारस्वरुप सप्तरीमा ५-५ सय विघा जग्गा दिएका थिए ।"

काठमाडौं विजयपछि युवराज प्रतापसिहं शाहलाई बसन्तपुर दरबारमा छोडेर लामो समय नुवाकोट बसेका पृथ्वीनारायणले झा र मिश्रहरुलाई पनि आफूसँगै लगेर मैथिलटारमा राखेको विश्वास छ । यद्यपि, नुवाकोट गोर्खाको अधिनमा आउनुअघि नै मैथिलटारमा मैथिल ब्राह्मणहरु पुगेको अर्को मत पनि छ । त्यसबाहेक, जगदम्बा प्रकाशानद्वारा २०२५ सालमा प्रकाशित पृथ्वीनारायण शाहको उपदेश पुस्तकको पृष्ठ ८९३ मा उल्लेख '...राजा पृथ्वीनारायण शाहबाट तेह्रौंतिया ब्राह्मणहरुको धन जीव रक्षा गरिदिया' भन्ने वाक्याशंले पनि पृथ्वीनारायणले तीरहुतियाहरुलाई ध्यानदिएको देखिन्छ।

'अलौ पर्वमा सुब्बा कुलानन्द झाका छोरा हीरालाल (त्यसबेला काजी) ले बहादुर शाहलाई सहयोग गरेको कारण पनि कैयन तिरहुतिया ब्राह्मण परिवार रणबहादुर शाहले कान्तवतीको माइती खलकलाई दिएको वीरगन्जको जग्गामा बस्न गएका थिए ।

इतिहासकार दिनेशराज पन्तको गोर्खाको इतिहास दोश्रो भाग अनुसार , गोर्खा राज्यमा काठमाडौं विजयअघि नै मैथिल ब्राह्मणहरुको उपस्थिती देखिन्छ, जहाँ माधव मिश्रले वि.सं. १६७९ मै राम शाहका लागि राघवपाण्डीय सारेर दिएका थिए । मेघदुत पनि राम शाहकै लागि सारिएको थियो । काशीनाथ नामका अर्का तिरहुतिया पण्डितले डम्बर शाहका लागि वि.सं. १६९२ मा कालिका पूजाविधी सारिदिएका थिए, जसमा उनले आफूलाई 'सामवेदसुपाटिना' अर्थात सामवेदी भनेका छन ।

त्यसैगरी तत्कालीन भक्तपुरका राजा भूपतीन्द्र मल्लले गोरखाका राजा नरभुपाल शाहलाई लेखेको एक पत्रबाट पनि तात्कालीन नेपालमा कायम मैथिल प्रभाव आँक्न सकिन्छ । गोरखाको इतिहास-३, पृष्ठ ७३९ मा उल्लेख सो पत्रमा लेखिएको छ- '...स्वस्ति श्री गिरिराजचक्रचुडामणिनरनारायणत्यादिविविधविरुवलिविराजमानमानोन्नतमहाराजधिराजश्रीश्रीश्रीमन्न नरभुपालसाहदेवानां सदा समरविजयीनाम् इत प्रेमालिंगनपूर्वक-पत्रमिदं. इहाँ कुशल. ताहाँ कुशल चाहिये . येहिते परमानंद होइ. आगे इहाँक समाचार नि बाट. उप्रांत गोर्षा मकवानपुर भादगाउँ इ तिन राजक करनि मरनि कैलरहिं. सेही धरान इहाँ बाट्. ताहाँ पुनि सेहि मनमहाँ राषैके चाहि...'

यसैगरी, राजा नरभूपाल शाहका पालाको आम्दानी-खर्चको कगतमा ईश्वर तिवारीको नाम छ । राजा गीर्वाणयुद्धले वि.सं. १८७१ मा विश्वनिधि तिवारी र शिवनिधि तिवारीलाई लेखेको पत्रमा 'तिमीहरुको पुर्खालाई राम शाहको पालादेखि सामवेदी ब्राह्मण जानी उपल्लो कोटको व्यवस्था गरिदिईएको थियो' भनेका छन ।

‪#सांस्कृतिकप्रभाव

इतिहासकार श्रीकृष्ण आचार्यका अनुसार, मध्यकालीन नेपालले तिरहुत राज्यको ठूलो साँस्कृतिक प्रभाव ग्रहण गरेको थियो भने तिरहुतले इण्डोगन्गेटिक भारतको । इतिहासकार डा. ढुगेंल सिम्रौनगढबासीको आउ-जाउ र बिहेवारी इण्डोगन्गेटिक सभ्यता हुर्केको भारतसित हुने गरेको बताउँछन । १० दिनसम्म दशैं मान्ने चलन पश्चिम बगांलबाट तिरहुत हुँदै नेपाल आयो । तन्त्र-मन्त्र शक्तिपीठको पूजा-पाठको चलनपनि तिरहुतबाटै आयो । लिच्छविकालमा तन्त्र-मन्त्र र देवीहरुको पूजा गर्ने चलन थिएन ।

इतिहासकार डा. रमेश ढुगेंल त तिरहुतले नेपाल अर्थात काठमाडौंलाई जनता मात्र होईन, देवदेवि समेत दिएको बताउँछन । जस्तो, तलुजा (तलेजु) भवानी र गढीमाई । उनी भन्छन,"समय क्रममा बहुसंख्यक तिरहुतियाहरु गुरुवाचार्य, बज्राचार्य, मिश्र, झा, राजवंशी, रघुवंशी, देउभाजु, आचाजु, गुभाजु, चतुर्वेदी, द्विवेदीको रुपमा नेपाली समाजमा एकाकार भए ।"

इतिहासकार दिनेशराज पन्त नेपालमा नाटक, भजन र गीत मात्र हैन विद्याको किरण पनि मैथिलबाटै आएकौ बताउँछन । समग्रमा मैथिलहरुले रैथानेसँग घुलमील भएर काठमाडौं उपत्यकाको समृद्धिमा योगदान गरे । नेवार जीवनशैलीले मैथिलहरुको प्रभाव सकारेर सभ्यतामा परिवर्तन आयो । नेपाल संवत ७८७ (वि.सं. १७२३) मा भक्तपुर खौमटोलको भवानीशंकर मन्दिरमा जगतप्रकाश मल्लले राखेका साँढे ३४ अगुंल लम्बाई र एक हात चौडाइको अभिलेखमा मैथिल भाषाको प्रयोग भएको छ: 
'
करे नहि तन तेज हरहि सिनेह।।
गाढ आकमपकर शंकर भवानी, प्रेम कपास वाटिरा खर सयानि।।
परकाश भ, न चाँदेशखरस भाव अन्नपूरना तिरिम दारग पाव ।। ।।
ऊँ अद्य ब्रह्मणो द्वितीयपराद्ध, श्रवेतवाराह..,'

संस्कृतिविद गोविन्द टण्डनका अनुसार, वि.सं. १८९१ मा सुब्बा कुलानन्द झाले पशुपतिमा तीनवटा चाँदीका ढोका चढाउनुका साथै मन्दिरको पश्चिम प्रागंणमा सत्तल बनाएका थिए, जो नेपालमा ठेक्कापट्टा व्यवसायको थालनी गर्ने मानिन्छन्।

पण्डित गुरुदत्त मिश्रका अनुसार, सुब्बा कुलानन्द झाले तीनवटा जिल्लामा रहेको आफ्नो पाँचवटा मौजा पनि गुठीलाई दान गरेका थिए । "अर्का मैथिल ब्राह्मण नरसिहं ठाकुरले स्थापना गरेको गुहेश्वरी मन्दिर प्रताप मल्लले निर्माण गरेका थिए", पण्डित मिश्र भन्छन,"वि.सं. १९९६ देखि काठमाण्डौका तिरहुतिया ब्राह्मणहरुले गुहेश्वरीमा संस्थागत रुपमा जानकीको पूजा गर्दै आएका छन ।"

उनका अनुसार, श्रीनिवास मल्लले पाटन मगंल बजारको विश्वनाथ मन्दिर भैया झाको सम्झनामा बनाएका हुन । मन्दिर बनेदेखि मिश्रहरुले पुजारीको जिम्मेवारी पूरा गर्दै आएका छन् । विश्वनाथमा अहिले मदनमोहन मिश्र (८०) पुजारी छन् ।

तत्कालीन दरबारहरुमा जे-जस्तो स्थान भए पनि नेपाली समाजमा तिरहुतियाहरुको महत्वपूर्ण योगदान मिश्रित बसोबासको अनुपम दृष्टान्त निर्माण गर्नु हो, जुन सामुदायिक सदभाव, सहिष्णुता, संयम र पारस्परिक सम्मानमा आधारित छ । तिरहुतिया ब्राहम्णहरुले काठमाण्डौ उपत्यका र समग्रमा मुलुकको धार्मीक, सांस्कृतिक क्षेत्रमा ठूलो योगदान गरेका छन । भौगोलिक र प्राकृतिक विविधतायुक्त नेपालको सामाजिक विविधतामा करिब ७ सय वर्ष पुरानो तिरहुतिया रंग आफैंमा दिगोपनको प्रमाण भएको छ ।
••••••••••••••••••••••••••••••••••••••
‪#नुवाकोटमामैथिलटार

ठूलो अनिकाल लागेर जनता मर्न थालेपछि भक्तपुरका राजालाई सपनामा इष्टदेवताले 'मिथिला क्षेत्रका ब्राह्मण ल्याएर महायज्ञ गरे सहकाल हुने' बताए छन् । सोही बमोजिम राजाले मिथिला क्षेत्रबाट झा र मिश्र पण्डित झिकाएर महायज्ञ लगाएपछि इष्टदेवताले भने जस्तै भयो । राजाले खुसी भएर भक्तपुरमै बस्न आग्रह गर्दा ब्राह्मणहरुले आफूहरु माछा र आँप खाने क्षेत्रका भएकाले भक्तपुरको हावापानी सुहाँउदो नभएको बताए । त्यसपछि उनीहरुको लागि माछा, आँप र सुहाँउदो हावापानी भएको ठाँउ खोज्दा नुवाकोटमा फेला पर्यो । यसरी त्यसबेला उपत्यकाको राजाहरुको अधीनमा रहेको नुवाकोटको एउटा गाँउमा मैथिलहरुको बसोबास सुरु भयो । लोकोक्तिमा यस्तो भेटिने मैथिलटार अहिले विदुर नगरपालिका-३ र ४ मा पर्छ जहाँ मैथली भगवतीको मन्दिर अद्यापि छ । मन्दिर नजिकैको खोलाको नाम पनि मैथिल खोला छ ।



जगदम्बा प्रकाशनद्वारा २०२५ सालमा प्रकाशित पृथ्वीनारायण शाहको उपदेशमा छापिएको 'पृथ्वीनारायणको रणजीत मल्ल र जयप्रकाश मल्लसँग भेटघाट' शीर्शकको आलेखमा आफूलाई गोली लागेपछि जयप्रकाश मल्लले तिरहुतेबाहेक अरुलाई विश्वास नगर्नु भन्ने आशय पाइन्छ । तिरहुतियाप्रतिको विश्वास मात्र हैन, मैथिल भाषाको प्रभाव पनि भेटीने पुस्तकको पृष्ठ ८९३ मा यस्तो उल्लेख छ-'तहाँपछि जयप्रकाश मल्लतिर नजर भई खोई मसित जोरुँला भन्याको किन भागी आयौ भनी हुकुम हुँदा राजा जयप्रकाश मल्लले क्या उत्तर दिया कि मेरा थरीहरु भैमालेहरु सबै मिली यहाँसम्म गराया । यिनीहरुको विश्वासमा पर्नु छैन, सबै नुन हरामी हुन् । नूनको सोझोमा बस्न्यात फगत तेह्रौंत्य ब्राह्मण मात्र हुन । अझ पनि मसित २-४ जना छँदैछन् भनी थोरै वार्ता गरी क्या लाग्छ तिमीसित जोरुँला (लडौंला) भनी मैले पशुपतिनाथको भँडार भनिनँ । देवालयको गजुर पनि झिकी खर्च गर्या । तैपनि मेरा मानिसले विष्ट खाइदिया र श्री ईश्वरको सुदृष्टि तिमीमाथि हुँदा तिम्रो हातमा पर्याँ भनी जवाव दिया र राजा पृथ्वीनारायण शाहबाट तेह्रौंतिया ब्राह्मणहरुको धन जीव रक्षा गरिदिया । अघिका थरीहरुले राजासँग चुक्ली गरी राख्याका हुनाले सर्वस्व लिई धपाउनाको हुकुम भयो । राजा जयप्रकाश मल्लले यथार्थ न्याय होस भन्दा धन जीवको रक्षा गराया । तर थरीहरु टाढा भइगया । यति कुरो भएउप्रान्त महाराज पृथ्वीनारायण शाह भित्रिनुभयो ।'

 

                                                                                                                           

 

 

 

No comments:

Post a Comment