Pages

Tuesday, November 9, 2021

 

सफल राष्ट्र  /  

 

सफलताका कथाहरू

इतिहास रोचक हुन्छ, जस्तो अमेरिका । सन् १७७६ सम्म अमेरिका स्वयं उपनिवेशमा थियो । स्वतन्त्रतासँगै अमेरिकाले अनेक अप्ठ्यारालाई विरासतमा पायो । उसका सामु राज्य निर्माणका युगीन चुनौतीहरू थिए । थिए, शासकीय संरचना र चरित्र निर्माणगर्ने दायित्वहरू । त्यहाँ संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई मान्छेको जीवनसँग जोड्नु त थियो नै, साथमा थिए आर्थिकसामाजिक चुनौतीका पत्रपत्र । जस्तो दास विद्रोह, आर्थिक संकट र निराशा 

सन् १८६१६५ मा अमेरिकाले ठूलो गृहयुद्धनै बेहोर्‍यो । तर संकट र निराशालाई अमेरिकी नेतृत्वले आशा र अवसरमा बदल्यो । जर्ज वासिङ्टन, थोमस जेफर्सन, फ्रयान्कलिन रुजवेल्ट र अब्राहम लिंकनजस्ता नेताहरूले चुनौतीको चिसो सुरुङभित्र अवसरको उज्यालो देखे । अर्थात्, अँध्यारोमा दियोझैं बलिरहेको उज्यालो । भाग्यले ढोकामा सुस्तसुस्त चाल मारिरहेको थियो । त्यो संगीत उनीहरूले सुने । परिणाम, एकशताब्दीमै अमेरिका शक्तिशाली अर्थतन्त्रमा रूपान्तरित भयो । ऊ शून्यबाट शिखरमा पुग्यो । दुईशताब्दीपछि आज अमेरिकाको इतिहास पढ्दा लाग्छ— ‘असम्भव केही पनि छैन 

  अध्यक्ष माओले जनवादी क्रान्ति सम्पन्नगर्दा चीन निकै जर्जर थियो । आन्तरिक युद्ध, गरिबी, भोकमरी र वैदेशिक आक्रमण । सांस्कृतिक क्रान्तिताका चीनको जनजीवन अझ विशृंखलित र निराश थियो । तर जसै नेतृत्वमा देङस्याओपिङ आए, उनले आफ्ना अगाडि अवसरका थाकहरू देखे । विस्तारै कुरा फेरिँदै गयो । र, सांस्कृतिक क्रान्तिपछिका बीस वर्षमा चीनको आर्थिकवृद्धि लगभग तीन गुणाले बढ्यो । अर्को तीसवर्षमा चीन संसारको दोस्रोठूलो अर्थतन्त्र बन्यो । चीनसँग आज रफ्तार मात्र छैन, उसका चालहरू कलात्मक र सशक्त पनि छन् । आजकल चीन विकासका परियोजनाहरू बनाउँदैन । ऊ विकासको रचनागर्छ । जस्तो कि पृथ्वी नाम गरेको ठूलो क्यानभास छ । त्यो क्यानभासमा चीन छ । र, चीनका इन्जिनियरहरू त्यहाँ विकासका चित्रहरू कोर्दै छन् । कतै रेखा कोरिँदैछ । कतै रंग भरिँदैछ । कतै जग हालिँदै छ । त्यसैले आज चीनसँग छ विकासको भव्यतम बगैंचा 

जापानको कुरापनि उस्तै रोचक छ । दोस्रो विश्वयुद्धमा जापान तहसनहस भयो । सन् १९४५ अगस्टमा लिटिल ब्वाईहरूले हिरोसिमा र नागासाकीलाई खरानी बनाए । जुन त्रासदीमा दुईलाख बीसहजार मान्छेहरू मारिए । तर जापान त्यही खरानीको जगमा उठ्यो । त्यसपछिका बीस वर्षभित्रै जापानले आफ्नो अर्थतन्त्र पुनर्निर्माण गर्‍यो 

एसियाकै मलेसिया, सिंगापुर र भियतनाम समृद्धिका थप उदाहरणहरू हुन् । जोसँग सुनाउन अनेकौं उत्प्रेरक कथा छन् । केही दशकअगाडिसम्म विदेशी हस्तक्षेप, आन्तरिक टकराव र गरिबीको चपेटामा फसेको मलेसियालाई महाथिर मोहम्मदले बीस वर्षमा विकासको नयाँ उचाइ दिए । आज मलेसिया लाखौं नेपालीको श्रम गन्तव्य बनेको छ । स्वराज प्राप्त गरेको तीस वर्षमै भारत विश्वको महत्त्वपूर्ण आर्थिक शक्ति बन्यो । सन् १९६५ मा स्वतन्त्र हुँदाको कमजोर र परित्यक्त सिंगापुर बीसवर्षमा बाघझैं जुरुक्क उठ्यो र अगाडि बढ्यो । उता भियतनाम छ, जसले कुनैबेला (सन् १९४५७५) अमेरिकासँग कठिनतम युद्ध लडेको थियो । तर युद्धपछि उसले ठूलो सावधानीसाथ आफूलाई उठायो । आज भियतनाम धानको उत्पादनमा विश्वमै अग्रणी मानिन्छ 

विकासको कुरागर्दा स्वयं युरोप अर्को आश्चर्य हो । सन् १६८९ देखि १८१५ सम्म भएका बेलायत र फ्रान्सबीचका युद्धहरूले युरोपलाई तहसनहस पारेका थिए । तथ्यहरूले भन्छन्सन् १९१४ देखि १९१८ सम्म भएको पहिलो विश्वयुद्धमा युरोपका एक करोड तीस लाख मान्छेहरू मारिए । दोस्रो विश्वयुद्ध पहिलोभन्दा अझ भयंकर थियो । तर आफ्ना सहस्र प्रियजन गुमाएको युरोपले शोकलाई शक्तिमा बदल्यो । भनिन्छयुरोपको समृद्धि रगत र आँसुको पोखरीमा फुलेको कमलजस्तै हो 

निश्चयनै हाम्रो परिवेश फरक छ । हाम्रा सपनाहरू फरक छन् । तर इतिहासमा हामीले पनि त रगत र आँसु बगाएकै हौं । हाम्रो पोखरीमा चाहिँ कमल किन फुलेन ? प्रश्न स्वाभाविक हुन्छ । फरक राजनीतिक व्यवस्था, फरक संस्कृति र फरक परिवेशका उल्लिखित देशहरूको विकासको रहस्य के होला ? कुनैबेला काठमाडौंमा एउटा कार्यक्रमलाई सम्बोधनगर्दै महाथिरले भनेका थिए, ‘राजनीतिक स्थायित्व, परिवर्तनप्रतिको प्रतिबद्धता, नेतृत्वको मिहिनेत र संकल्प 

जवाफ खोजौं

चीनमा जनवाद (सन् १९४९), भारतमा स्वतन्त्रता (सन् १९४७) र नेपालमा प्रजातन्त्र (सन् १९५१) लगभग उस्तै समयमा भएका ऐतिहासिक बदलावहरू थिए । भनिन्छ, कुनैबेला एसियामै चीन, भारत, सिंगापुर, मलेसिया, दक्षिण कोरिया र नेपालको अवस्था उस्तै थियो । तर राजनीतिक परिवर्तनसँगै तिनीहरू कहाँ पुगे, हामी कहाँ छुट्यौंकिन हाम्रो भाग्यको ढोका खुलेन ?

ठीकैछ, २००७ र २०१५ सालमा हाम्रा आफ्नै सीमा थिए । अनुभवको सीमा थियो । स्रोतको सीमा थियो । परिवर्तनको चेतना सुदृढ थिएन । २०१७ सालमै पञ्चायत आयो र स्वतन्त्र सपनाहरूमाथि बलात् बन्देज लाग्यो । तर २०४६ र २०६३ सालमा प्राप्त अवसरहरू किन अलमलमा परे ? लोकतान्त्रिक परिवर्तनपछिका युगीन महिना र वर्षहरू किन सत्यानाश हुँदै छन् ? कतिपय मान्छेको मत छ, ती आन्दोलनहरू आफैंमा सफल आन्दोलन थिएनन् । अत: आन्दोलन अझै बाँकी छ । त्यसैले अलमल भयो । वस्तुत: यो बहानामात्र हो । सत्य के भने, संसारको कुनैपनि आन्दोलन त्यो समयको विशिष्ट सम्झौता हो । कुनैपनि आन्दोलनका परिणामहरू सर्वसम्मत, सार्वकालिक र शाश्वत हुँदैनन् । समाजमा अनेक स्वार्थको एकता र संघर्ष चलिरहन्छ । अत: आन्दोलन सकिएको अर्कोदिन फेरि नयाँ मुद्दाहरू आउँछन् । यसको अर्थ हो, प्रत्येक आन्दोलनले अवसरसँगै नयाँ मुद्दाको उत्खनन गर्छ । अत: सबैकुरा ठीकठाक भएपछि विकास गरौंला वा सबै द्वन्द्व सकिएपछि अघि बढौंला भन्नु बहाना मात्र हो 

राजनीतिले प्रत्येक आन्दोलनलाई अवसरमा बदल्नुपर्छ । नेतृत्वको कामनै त्यही हो । अमेरिकामा जसले स्वतन्त्रताको दियो बाल्यो, उसले अमेरिका बनाउन आधारहरू खडागर्‍यो । चीनमा सांस्कृतिक क्रान्तिपछिको लाल अराजकतालाई सम्हाल्न तत्कालीन नेताहरूले कडा मिहिनेत गरे । परित्यक्त सिंगापुरलाई चम्काउन कुनैबेला ली क्वान युले जग हाले । तर हाम्रा बीपी, कृष्णप्रसाद, गणेशमान, गिरिजाप्रसाद, मनमोहन, माधव, शेरबहादुर, प्रचण्ड, बाबुराम र खड्गप्रसादहरू कहाँ चुके ? हाम्रा नेताहरू नेपाली सन्दर्भका जर्ज वासिङ्टन, अब्राहम लिंकन, देङस्याओपिङ, मोहम्मद महाथिर र ली क्वान यु किन भएनन् ?

Tuesday, November 9, 2021

 

No comments:

Post a Comment