यी बर्बर, क्रुर हिंसा /
-आनन्दराम पौडेल
कुमारजी आज्ञा
गर्नुहुन्छ – हे अगस्त्य मुनि, नेपालका
शीर्षस्थ नेतादेखि गाउँसमाजसम्म अमानवीय, क्रुर, हिंस्रक हुँदैगएको बिषयमा चर्चा
गर्छु, ध्यानदिएर सुन्नुहोस्। ३० बर्ष अघिसम्मको नेपाली समाजको मनोबिज्ञान अध्ययन
गर्दा नेपालीहरू हिंस्रक स्वभावका हुँदैहोइनन्। राज्य त पहिलेदेखि नै विभेदकारी
छँदैथियो, त्यस्माथि माओवादीले मनपरी हिंसाको बिउ रोपे र मलजल गरे। माओवादीले
चौतर्फि रोपेका हिंसाका बृक्षहरू झाङ्गिएर सबैतिर ब्याप्त भयो।
माओवादीले
हत्या-हिंसाको अभियान चलाइरहँदा पत्रकारहरूलाइ धम्क्याउने त सामान्य कुरा, सातो नै
लिन्थे। “समाचार हाम्रो पक्षमा र हाम्रो समर्थनमा मात्र लेख्नु; हैनभने खैरियत
छैन” भन्थे। सत्यतथ्यलाइ बङ्ग्याएर बनिबनाउ समाचार लेख्नुभन्दा त बरु समाचार नै
लेख्दिन भनेर कतिपय रिपोर्टरहरूले समाचार नै लेखेनन्। अचम्मको बिडम्बना के थियोभने
मनपरी हत्या, हिंसा, आतङ्क मच्चाइरहेका यिनै माओवादीहरू आफूलाइ लोकतान्त्रिक
भन्थे।
कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! माओवादीले मनपरी
हत्या, हिंसा र आतङ्क मच्चाइरहँदा त्यसबेला जनताको मनोदशा के थियो ? त्यसबारेमा
प्रकाश पार्दछु, ध्यानदिएर सुन्नुहोस्। तीन-चारओटा उदाहरण यहाँ प्रस्तुत गर्छु।
दुनैबाट २ घण्टा हिँडेपछि पुगिने थाला गाउँकी देउमाया रोकायालाइ नै
लिउँ। उनको इच्छा त छोराले पढोस् अनि कतै कमाइ गरोस् भन्ने थियो । एसएलसी
परीक्षा हुनुअघि उनले छोरालाई ट्युशन पढ्न नेपालगन्ज पठाइन् ।
“ट्युशन पढ्न होइन, मार्न
पठाएछौं। कोही
मान्छे भेटे कि कीरा मारेझैं मार्थे । माओवादीले हत्या, हिंसा गरिरहेको देखेपछि पुलिस र सेनाले पनि
जथाभावि मान्छे मार्न थाले। पुलिस, सेनाले मार्यो कि माओवादीले मार्यो पत्तैनपाउने
भयो। उज्याला घामजूनजस्ता छोरा पढ्न पठाएको होइन, मार्न पठाएका रहेछौं।” देउमाया रोकायाले भक्कानिंदै भनिन्।
“हरेक साल दशैंमा मानिसहरू छलमस्टका पुजारीसँग शक्ति र आशीर्वाद
माग्न आउँथे । दोहोरो
टीका लगाउँथे। तर, माओवादीले हत्या, हिंसा आतङक मच्चाइरहेको त्यो बेलामा मन्दिरमा
पूजाआजा र पर्व मनाउन बन्देज लगाएका थिए । ‘हिन्दुहरूको धर्म, संस्कृति र सभ्यता
नसिध्याइहुँदैन; सबै मेटाउनुपर्छ । पूजाआजा बन्द गर्नु’ भन्दै मन्दिरमा दिशापिसाब गरेर हिँड्ने गर्थे। त्यसबेला ज्यान जोगाउन दुनैमा आश्रय लिएर बसें।” छलमस्टका
पूजारी मोहनवीर रोकायाले भावबिह्वल हुँदै भने।
मोहनवीरले उतिखेरै भने – “पूजा–आजा बन्द
गरेर आफ्नो शक्ति निकाल्नेहरू शक्तिविहीन भएका हुन् वा फेरिएका हुन्, अहिले
पूजाआजामै व्यस्त छन् । अनि
मन्दिरका लागि बजेट पाइएन भनेर रोइकराइ गरिरहेका छन् । कसैको आस्था मारेर
निकालेको शक्ति धेरै टिक्दैन।”
मुगु शेरीका नन्दबहादुर बुढामाथि माओवादीले गरेका अत्याचारका बिवरण
झन् चर्का छन्। कहिले यो मागेका छन्, घरी अर्थोक् मागेका छन्। माग्दा दिन नसकेपछि
माओवादीले उनलाई बारम्बार मुसल लगाएछन् । मुसल लगाउनु भनेको गोलो लामो मुसलले तिघ्रा र
पिँडुला पेल्नु हो । खपिनसक्नु
भएपछि घरबार, जायजेथा सबै छाडेर ज्यानजोगउन भागेछन्।
मुगुकै अम्मकला बुढाको ब्यथा त्यत्तिकै छ। गाउँमा अन्न भित्र्याउने
बेला भएको थियो । तर, ज्यान
बचाउन उनको परिवार गाउँ छोडेर रातिराति हिँडेछ । “दिउँसो हिँड्न दिन्नन्, उतै
फर्काउँछन् । अनि
मार्छु मात्र भन्छन्। गाउँ
छोड्दा परिवार सबै सँगै थियौं । तर, राति
लोग्ने कता छुटे, पत्तै भएन।” दुई छोरी लिएर रातारात हिंडेर अम्मकला आइपुगेकी
थिइन् – बाँकेको चिसापानीमा।
“रातिराति खाली खुट्टा हिँड्दा छोरीहरूका खुट्टाका एकपत्र छाला गएका
थिए, तर पनि
माओवादीबाट नसमातिई घर छोडेर भाग्न सफल भएकोमा थोरै सन्तोष भने थियो । पैतालाको घाउ भन्दापनि स्कुल छोड्नुपरेको
पीडामा महिनौंसम्म निरन्तर रोइरहे छोरीहरू। आफ्नो लोग्नेको अत्तोपत्तो नै नहुँदा
माओवादीले मारे कि भन्ने पीडा छँदैथियो।”
अम्मकलाले भनिन्।
विराट
जुम्लाकी हर्केनी बुढाले भनिन् – “माओवादीहरूलाई आधा बाली बुझाउने र भन्नासाथ खाना
खुवाउनु त परेकै थियो, बेला-बेलामा
पिटाइ पनि खानुपर्थ्यो । कि त
पाटीमा हिँड भन्दा, कि त घर
छोडी जाउ भन्दा।”
अल्बेयर कामूले
दार्शनिक पुस्तक
‘विद्रोही (दोम्म रिवोल्ते)’
को सारमा
भनेका छन् - "अन्यायलाइ मेटाएर
न्यायको राज्य
स्थापना गर्नका
लागि भनेर
गरिएको विद्रोह वा क्रान्तिले जब स्वयं
हिंसालाइ केन्द्रमा राखेर सत्ता
स्थापित गर्छ, तव झन्
चर्को दमन
र अन्यायको साम्राज्यमा परिणत
हुन पुग्छ।"
कामूले रूसो, नित्शे, फ्रान्सका क्रान्तिका नायक सेंट
जस्ट, रूसका
क्रान्तिकारी कालियाएवलगायत धेरैको
अनुभवलाइ सामेल
गरेका छन्।
कामूले, " मानवजीवनप्रति आदरभाव
हुँदैनभने ती विद्रोही भन्नेहरुको हिंसाले झन्
बढी अमानवीय र चरम
दमनकारी व्यवस्थालाइ जन्म दिन्छ"
भनेका छन्।
दशबर्षे द्वन्दकालमा राज्य र विद्रोही दुबैले
मानवीय सभ्यताका सम्पूर्ण मूल्य
र विवेकलाइ पैतालाले कुल्चेर चरम बर्बरतामा उत्रेका थिए
भनेर त हरतरहले पुष्टी
भैसक्यो। तर, द्वन्दोत्तर नेपाली
समाज र राष्ट्रको तन्तुहरुमा हिंसाको रक्तसञ्चार जुन भयावह
रुपमा भैरहेछ, त्योचाहीं द्वन्दकालको परिमाण मात्र
हैन। द्वन्दोत्तरकालमा हिंस्रक संस्कृतिलाइ प्रबर्द्धन गर्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले जुन दिलोज्यान लगाउनुभएको थियो, आज देखिएको हिंसाको व्यापकता र भयावहता त्यसैको परिणाम
हो। २०६३
पछि उहाँहरुले लोकतन्त्रलाइ हल्लाको बिषय मात्र
बनाउनुभयो। लोकतन्त्रलाइ संस्थागत गर्ने, लोकतान्त्रिक संस्कार निर्माण गर्ने
र जीवनपद्धतिमा उतार्नेतर्फ रत्तिभर पहल
गर्नुभएन। जायज
गुनासा र अनुरोध लिएर
आउने एक्लादुक्ला सज्जनहरुको निवेदन
सुन्नसमेत् इन्कार
गर्नुभयो, र हूलदङ्गा गर्दै
आएका नाजायज
माँगलाइ समेत्
ससम्मान स्वीकार गर्नुभयो। सम्बिधानसभा निर्वाचनपछि त जघन्य अपराधका मुद्दा फिर्ता
लिनु र अपराधीहरुको संरक्षण गर्नु नै प्रत्येक सरकारको प्राथमिक कर्तव्य बन्न पुग्यो।
हाम्रो समाजमा दुई किसीमको हिंसा
व्याप्त छ- सकृय हिंसा र निस्कृय हिंसा। सकृय हिंसा त्यो हो, जुन घोषणा गरेर, खुलेर र देखिएर आउँछ। निस्कृय हिंसा त्यो हो, जब आफ्नो छेवैमा क्रुर हिंसा भैरहेको हुन्छ, तर 'ममाथि
भएको वा मलाइ परेको ह्वैनक्यारे' भनेर उदासीन
बसिदिन्छ। सकृय हिंसा जति भयावह हुन्छ,
किस्कृय हिंसा त्योभन्दा घातक हुन्छ। निस्कृय हिंसा कति घातक हुँदोरहेछ, दिल्लीमा हिंस्रक नरपशुहरुको पाशविक शिकार भएकी
दामिनी (ज्योती पाण्डे)को पुरुषमित्रको बर्णन पढ्नुहोस्। दिल्लीमा
सामूहिक बलात्कारको शिकार भएकी दामिनीका पुरुष मित्रले जी न्युजलाइ अन्तर्वार्ता
दिंदै सम्पादक सुधीर चौधरीसँग भने- "हामी
राती ९ वजे बसमा चढेका थियौं। बसमा अरु ६-७ जना थिए। तिनीहरुले दामिनीलाइ
जिस्क्याउन थाले। हामीले प्रतिवाद ग-यौं। प्रतिवाद गर्नासाथ ममाथि जाइलागिहाले। ३ जनासँग त म भिडेको थिएँ। रडले
हान्न थालेपछि प्रतिवाद गर्न सकिन। दामिनीले १००
नम्बरमा डायल गरेकी थिईन्, तर
तिनीहरुले मोवाइल
खोसे। डेढ घण्टासम्म बस यताउता घुमाइरह्यो। त्यतिञ्जेल तिनीहरुले
सामूहिक बलात्कार गरिरहे। त्यसपछि तिनीहरुले हामीलाइ बसबाट फ्याँकिदिए।
बसले ब्याक गरेर हामीलाइ किच्न खोज्दैथियो, मैले दामिनीलाइ तानिहाले। हामी सडकमा थियौं। हामी दुवैजनालाइ
निर्वस्त्र बनाइएको थियो। दामिनीको शरिरबाट धेरै रगत बगिरहेको थियो।
मानिसहरु ओहोरदोहोर गरिरहेका थिए। तिनीहरुलाइ अनुरोध ग-यौं। कैयौं बाइक, कार र अटो चलिरहेका थिए। हाम्रो छेउमा
सुस्तरी रोक्थे, हामीलाइ हेर्थे
र गैहाल्थे। अहँ, कसैले
थोरै सहयोग पनि गरेनन्। गस्तिमा आइपुगेका एकजना
प्रहरी एकछिन रोकिए, र
तिनले प्रहरीलाइ खवर गरे। खवर गरेको ४५ मिनेटपछि प्रहरीको पीसीआर भ्यान
आइपुग्यो। 'हाम्रो
अधिकारक्षेत्र भित्र पर्दैन, अर्कै
ठानाको अधिकारक्षेत्रभित्र पर्छ' भनेर गल्फति गर्नमै आधा घण्टा विताए।
प्रहरीले गल्फति गरुञ्जेल धेरैजना तमाशे बनेर हामीलाइ हेरिरहे। हामी दुबैजना
नाङ्गै थियौं। एक टुक्रा कपडाको लागि मैले सबैसँग अनुनयविनय गरिरहें, सहयोग त परको कुरा सहानुभूतिसम्म
राखेनन्। पछि बेडसिटको एउटा टुक्रा फेला पारेर दामिनीको शरिर
ढाकिदिएँ। आधा घण्टासम्म गलफति गरेपछि बल्ल हामीलाइ लिएर हिंडेको प्रहरी
भ्यानले सफदरजङ्ग अस्पताल पु-याउन २ घण्टा लगायो।" यो हो निस्कृय
हिंसाको नमुना। यो हो सम्बेदनशून्यको अवस्था। यो हो हामी जड भएको स्थिति। जघन्य
अपराधका मुद्दा फिर्ता लिनेहरु,
त्यस्ता मुद्दा फिर्ता लिनको लागि सिफारिश गर्नेहरु र अपराधीको
संरक्षण गर्नेहरुले नै मानवीयता र न्यायको भाषण गरिरहेका हुन्छन्। "अपराधीलाइ
संरक्षण गर्नेहरु सबैलाइ सामाजिक बहिस्कार गरौं" भन्ने नारा बोकेर एक-एकको
भण्डाफोर गर्दै मैदानमा नउत्रुँञ्जेल अमूर्त विरोधले उपचारको डोज पुग्दैन।
यति भनेर कुमारजी मौन बसे।
इति श्रीस्कन्ध पुराणे, हिमवतखण्डे, नेपाल
महात्म्ये, हिंसा बर्णनम् शुभम्।
शुक्रवार, डिसेम्बर 10, 2021
No comments:
Post a Comment