दुषित
राजनीति
राजनीतिशास्त्री स्टेभेन ल्युक्स
चर्चित पुस्तक ‘पावर’
मा लेख्छन्, ‘निर्वाचनहरूमा पद्य लेखिन्छन् र सरकारहरूले
गद्य लेख्छन्, हामी सर्वसाधारणले के मेलो पाइरहेका हुन्नौं
भने, नेताहरूले जे–जे भनेर
चुनाव जिते पनि वास्तवमा तिनले आफ्ना कार्यकर्ता र सहयोगी दलहरूले के चाहिरहेका
हुन्छन् त्यही गर्छन् ।’
नेपाली सन्दर्भमा हेर्ने हो भने, संविधानमा पद्य लेखियो । निर्वाचन सर्वसाधारणका लागि छुनै
नसकिने गरी महँगा भए । यही कारण,
कार्यकर्ता र जनताले जे आशा गरेका
भए पनि चन्दादाताहरू (उद्योगी,
व्यापारी, ठेकेदारहरू) जे चाहन्छन् त्यहीअनुसार नियम, कानुन र वितरणको व्यवस्थापन हुन्छ । कांग्रेस र
एमालेले त यो नवउदारवादी काल्पनिकीलाई संस्कार र संस्कृतिका रूपमा आफूमा भित्र्याए । पार्टी
नेतृत्वले चाहुन्जेल स्थायी तवरमा अड्डा जमाउन सक्ने संस्थागत व्यवस्थापन गरे । माओवादीले
त्यसलाई चिर्न सकेन । आममानिस नवउदारवादी व्यक्तिवादबाट मुक्ति चाहन्थे । दस वर्ष जनयुद्ध गरेको माओवादी
मुक्तिको वाहक होला भन्ने तिनले सोचेका थिए तर माओवादी नवउदारवाद नै लजाउने गरी
व्यक्तिवादी भइदिए ।
हामी सबैलाई थाहा छ, प्रगतिशीलताले रातारात व्यक्तिवादी वा
उपभोक्तावादी संस्कार र संस्कृतिबाट मुक्ति दिलाउँदैन, दिलाउन सक्तैन । यो अथक संघर्ष प्रक्रिया थालनीबाट
मात्र हुने कुरा हो । सामूहिक संस्कार र संस्कृति आफूभित्र बनाएपछि मात्रै
व्यक्तिवादी–उपभोक्तावादी संस्कारको प्रतिकार र प्रतिवाद
गर्न सकिन्छ ।
तर जनयुद्धजस्तो सामूहिक प्रतिवाद गर्ने संस्थाबाट खुला प्रतिस्पर्धात्मक राजनीतिमा उत्रिएदेखि नै माओवादीमा
सामूहिकताको अभ्यास अनुभूति गर्न पाइएको छैन । सर्वसाधारणले माओवादीका नाममा थप
अर्को नवउदारवादी राजनीतिक पार्टी खोजेका थिएनन् । तर उसले त्यही चरित्र प्रदर्शन
गर्यो ।
राजनीतिमा यस्ता एउटै खाले
प्रवृत्तिहरू किन देखा पर्छन् भन्नेबारे समाजशास्त्री म्याक्स वैबर आफ्नो किताब ‘इकोनोमिक एन्ड सोसाइटी’ मा ‘राज्य’
यस्तो हुनुका कारण राज्यको भूभाग, जनसंख्या,
कानुन शासनको संयन्त्रमा भर पर्छ
भन्छन् ।
तर अर्का बेलायती राजनीतिशास्त्री बब जेसप थप्छन्, त्यसो हुनुको
मूल निर्धारक वा कारक तत्त्व राज्य विचार (स्टेट आइडिया) हो (बब जेसप, ‘द स्टेट,
पास्ट, प्रेजेन्ट, फ्युचर’, पोलिटी प्रेस, २०१६) । जेसपको
विचारमा स्टेट आइडियाका लागि समाजको निर्माण उत्थान वा विकास प्रक्रियाबारे गहिरो
अध्ययन हुनु आवश्यक हुन्छ ।
अर्को शब्दमा, राज्यको आर्थिक तथा सामाजिक संरचना, भूमण्डलीकरणका प्रभावहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्था
तथा बैंकको नियन्त्रण र विस्तार अनि बहुराष्ट्रिय कम्पनीहरूले सामाजिक संरचनामा
पारेका प्रभावहरूबारे बृहत् जानकारी आवश्यक छ । आर्थिक बलका आधारमा सञ्चार
माध्यमको प्रचार व्यवस्थापन, त्यसले स्थापित गर्ने खास सांस्कृतिक मूल्य तथा
प्रविधि विस्तारका प्रभावहरूको अध्ययन आवश्यक पर्छ ।
जेसपको विचारमा राज्य कुनै पनि
हिसाबमा न ‘न्युट्रल’
साधन हुन्छ न त यसले सबैका लागि
समान अवसर उपलब्ध गराउँछ । यो वर्गीय हुन्छ । प्रतिनिधित्वको पद्धति तथा शासकीय स्वरूप निर्धारणको विचार एतिहासिक तवरमा
निर्माण भएको सामाजिक शक्तिहरूको घरेलु तथा बाह्य सन्तुलनमा धेरै भर पर्ने हुन्छ । राज्य आफैं
सामाजिक सम्बन्ध हो । प्रतिकार,
विद्रोह, आन्दोलन थिचोमिचोमा परेका वर्गहरूले एकल वा
संयुक्त रूपमा त्यो आततायी राज्यविरुद्ध संघर्ष गर्छन् ।
No comments:
Post a Comment