मस्यौदा /
संघर्षपूर्ण तर गौरवशाली थिए ती दिन । झापा,हर्रेबर्रे,छिन्ताँग आन्दोलनमा
संलग्न भएवापत कालकोठरीमा थुनिएका राजनैतिक आस्थाका बन्दीहरुको हातबाट दशैँमा टिका
लगाउनुलाई पुण्यकर्म मानिन्थ्यो,बरु आफ्नै दिदी बहिनीले साँझ मात्र टिका लगाइदिने
अवसर पाउँथे,रगतको नाताभन्दा बर्गीय प्रेम नै चोखो र अमर हुन्छ भनिन्थ्यो ।
रातभर देउसी-भैलो खेलेर संगठनका निम्ति कोष जुटाइन्थ्यो । आफू कुभिण्डो र इस्कुस
खाएर नेताका निम्ति खसी र लोकल कुखुराको जोगाड गरिन्थ्यो । समग्रमा बलिदानमा पछि
पर्नभन्दा समाज परिवर्तनको महायज्ञमा मर्न मन पराइन्थ्यो ।
बिस्तारै समय बदलियो,सोच,समाज र संस्कार पनि
फेरिए । १० रुपैयाँ प्लेटको मम: खान गोजीमा पैसो टाट भएका नेताहरुले दशैंमा घरमै
ताँती लगाएर कार्यकर्ता र ब्यापारीलाई अनेक लेबलका नानाभाँति पिलाउन सक्ने भए ।
कार्यकर्ताले त्यही सिको टिपे,नेताको नाम बेचेर बिचौलियाहरु महलका मालिक बने,नेताले तिनैलाई धाप
मारिदिए,बहुबिबाह,करणी,काइते-किर्तेलाई समेत
कार्वाहीको बिषय बनाउन छाडियो ।
यो त भयो हामीले
हिंडेको पुरानो बाटो,अहिले छाडेको पाटोको प्रसँग तर,
अवसर आउँदा र मौक़ा
पाउँदा मैं हुँ भन्ने राता क्रान्तिकारीहरुले पनि बिक्रितिमा अग्रगामी छलाँग
हानेको यिनै आँखाले देखियो-कत्ति पनि चित्त बुझेन,यसैले जे देखियो
त्यही लेखियो । रिसानी भए माफ़,मन परे लेख्नोस् जवाफ !
आफू अनुशासनमा रहेर अरुलाइ समेत्
अनुशासनको मर्यादामा राख्नु नै सुशासनको जग हो। तर यहाँ त, आफ्नो स्वार्थबाहेक अरु केही नहेर्ने, स्वार्थको लागि जेपनि गर्ने, मनपरी गर्न पल्केका, छाडाहरुको टीम लिएर यो सरकारले सुशासन कायम गर्न सक्ला भन्नेमा
विश्वास गर्न कठिन छ।
हामी कहाँ पुग्ने ? भन्नुभन्दा पहिले अहिले हामी कहाँ छौं ? भनेर स्थिति बुझ्नुपर्ने हुन्छ। विश्वका अति दरिद्र देशहरुको
सूचिमा नेपाल १७औं दरिद्र देशमा पर्छ। विश्वकै सर्वाधिक सुखी र खुशी फिनल्याण्डका
बासिन्दा हुन् भन्ने त दुनिञालाइ थाहा छ। उनीहरुको तुलनामा सुखी र खुशी हुनेमा
नेपाल १०१औं स्थानमा पर्छ। ट्रान्सपरेन्सी इण्टर्नेशनलले १८० देशको मूल्याङ्कन
गर्दा नेपाल डरलाग्दो भ्रष्टाचार हुने देशमा पर्छ। अति भ्रष्ट देशहरुको सूचिमा
अघिल्लो सालभन्दा अझै ९ स्थान माथि उक्लेको छ।
अन्तर्राष्ट्रिय संस्था एएनएन र डाटा लिड्सले गरेका
सर्भेक्षणको प्रतिवेदन अनुसार नेपालका सडकहरु एसियाकै सर्वाधिक खराब सडकमा पर्छ।
हेल्थ ईफेक्ट्स इन्स्टिच्युट र इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएशनले
गरेको बायु प्रदुषण मूल्याङ्कन अनुसार बायु प्रदुषणबाट मृत्यु हुनेमा दक्षिण
एसियामै नेपाल अग्रणि छ। नेपालमा मृत्यु हुने प्रति १ लाखमध्ये २१५ जना बायु
प्रदुषणकै कारणले मृत्यु हुनेगरेको तथ्याङ्क छ।
नेपालको बिषयमा ट्रान्सपेरेन्सी इण्टर्नेशनलले, “नेपालमा पछिल्लो समयमा भ्रष्टाचार यति धेरै बढ्यो कि यसले
अहिलेसम्मकै इतिहास तोड्ने काम गरेको छ” भनेर कैफियत लेखेको छ। २०३६ साल अघिसम्म नेपालमा भ्रष्टाचार घटना हुन्थ्यो। दरबारिया
र दरबारमा पहूँच भएकाहरुमा मात्र सीमित रहेको भ्रष्टाचारलाइ दरबारबाट
सिंहदरबारसम्म ल्याउने काम २०३६
सालमा सूर्यबहादुर थापाले गरिदिए। गिरिजाप्रसाद कोइरालाले त्यसैलाइ बिस्तार गरेर आफ्ना कार्यकर्ताको काखपोल्टासम्म पु-याइदिएका हुन्। अहिले त
भ्रष्टाचार सवैको आधारभूत आवश्यकता र प्राथमिक माग भएको छ।
भ्रष्टाचारको प्रसङ्गमा ६-७ बर्ष अघि भएको एउटा घटना यहाँ
सम्झनपुगियो। कार्यवाहक प्रमुख आयुक्त ललितबहादुर लिम्बू र आयुक्त वेदप्रसाद
शिवाकोटीको बिशाल हृदयमा पूर्णबहादुर तण्डुकार, दुर्गा तण्डुकार र नानीछोरी तण्डुकारप्रति असीम कृपा पलायो।
बुद्धनगर, तीनकुनेमा युएनपार्कको नाममा रहेको ३५-४० करोड मूल्य पर्ने २ रोपनी ३ आना १ दाम जग्गाको लालपुर्जा ती
तण्डुकारहरुको नाममा गरिदिन २०६६ पुस १७ गते आदेश गरिदिनुभो। अख्तियारका सवै
निर्णय कम्प्युटरमा रेकर्ड राखिन्छ। तर यो अपूर्व निर्णय भएकाले रेकर्ड भन्दा
बाहिरै राखिएको थियो। अख्तियारका प्रमुख आयुक्त र आयुक्त मिलेर भयङ्कर डरलाग्दो
भ्रष्टाचार गरेर रक्षक नै भक्षक भएको यो एउटा नमुना मात्रै हो।
हाम्रा राजनीतिक नेताहरुले जति मनखुशी कुरा गरेपनि पटक-पटकका
सर्वेक्षणबाट जनताको चाहनाचाहीं शान्तिसुरक्षा
र सुशासन मात्र देखियो। सुशासनभित्र विधीको शासन, स्वच्छ र छरितो प्रशासन, गुनासो सुनुवाई, नागरिसँग सम्मानपूर्ण ब्यवहार र छिटो न्यायको अपेक्षा थियो।
राजनीतिक नेताहरुले अल्लि बढी वुझ्नुपर्ने सत्य के होभने २०४६ सालमा पञ्चायतबिरुद्ध
र २०६२ सालमा वहुदलबिरुद्ध जनताको आक्रोश विस्फोट हुनुमा प्रमुख कारण
भ्रष्टाचार थियो। पञ्चायतकालमा दरबारमा पहुँच भएका सवैले अकूत सम्पति जोड्थे, अरु सवैले दिनरात हाड घोटेर गुजारा चलाउँथे। २०४८ पछि पार्टीको, त्यस्मा पनि गुटका मान्छेलाइ भ्रष्टाचार गर्न पूरै छुट दिइयो। जसरी
सामन्तीकालमा राजा महाराजाले “गरिखा” भनेर विर्ता,जागीर वाँड्थे अथवा
वीरसाधना गर्नेले “उ त्यस्लाइ खा” भनेर तोकिदिन्थे, ठीक त्यही शैलीमा आफ्ना कार्यकर्तालाइ भ्रष्टाचार-विर्ता बाँडियो। निर्वाध भ्रष्टाचारमा अख्तियार वाधक नहोस् भनेर
प्रधानमन्त्रीले अनुमति दिएमात्र मन्त्रीले गरेका भ्रष्टाचार छानविन गर्न पाउने र
सभामुखले अनुमति दिएमात्र सांसदले गरेका भ्रष्टाचार छानविन गर्न पाउनेगरी
अख्तियारलाइ कसेर बाँधिएको थियो।
यो सुन्दर राष्ट्रलाइ बिगार्दै, भत्काउँदै, खोक्रो पारेर रसातलमा
पुर्याउनेमा शासक,
प्रशासक र नेतृत्व जति दोषी छन्, हामी जनता पनि कम दोषी छैनौं। भ्रष्टाचारीका लागि स्वर्ग बन्नुमा नेपाली समाज पनि दोषी छ।
नेपाली समाज शक्तिको पूजारी छ। राष्ट्रको लागि योगदान गर्नसक्ने सदाचारी, स्वाभिमानी व्यक्तिको खोजी र कदर गर्दैन। भ्रष्टाचारी, चरित्रहीन, पतीत
र अपराधी भएपनि शक्ति र सम्पन्न छभने
तिनैको पछि लाग्छ। जनता, नेता र ब्यवस्था सवै मिलेर नेपाल भन्ने अकिञ्चन देशलाइ भ्रष्टाचारीको
स्वर्ग बनाइदिएका छन्। यो अवस्थामा, “भ्रष्टाचारमुक्त
स्वच्छ सुशासन”
को नारा कत्ति सार्थक होला ? अनुमान गर्न सकिन्छ।
बिहीवार, मे 24, 2018
नेपाल
भन्ने देश अराजकतामा प्रवेश गरेको छ र यहाँ हिंस्रक संस्कृतिको विकास भएको छ। ११-१२ बर्षअघि कृष्णप्रसाद सिटौलाले अपराधिक समूहलाइ राजनीतिक आवरण दिंदै शीरमै उचाले, तव त्यहींदेखि हिंसाले राजकीय स्थान
पाएको हो। पछिल्ला सरकारहरुले त्यसैलाइ थप मलजल गर्ने काम गरे। २०६४-०६५मा प्रचण्डनेतृत्वको सरकारले डक्कै ३४९थान र फुटकरसमेत् गरी
४००भन्दा बढी यस्ता जघण्य अपराधका मुद्दा फिर्ता लिए। माधवकुमार नेपालको सरकारले
२८८थान मुद्दा फिर्ता लिए। डा बावुराम भट्टराईले त बाँकि सवै मुद्दा फिर्ता लिनेछु
भनि मधेशवादी दललाइ तमसुकै गरिदिएका थिए ।
हाम्रा नेताहरुले छिमेकी बिहारबाट सिक्नुपर्नेमा टाढाको
सोमालियाबाट पो सिके। सन १९९१\९२मा सानोतिनो
आन्दोलन हुनासाथ त्यहाँका शासक मोहमद सियाद बार सत्ता छाडेर हिंडेका थिए। उनले
सत्ता छाडेपछि हुन गएको भ्याकुममा अहिले बर्तमान नेपालमा जस्तै भुरेटाकुरे अपराधी
समूहहरु सत्ताको टुक्रा-टुक्रामा आफ्नो कब्जा जमाउन र साम्राज्य कायम गर्न
तँछाड्मँछाड् गरेर लागे। ज्योति वसुको शासनकालमा उनका कार्यकर्ताले उद्योग-ब्यवशायीलाइ
सताउने र हैरान गर्ने मात्रै गरेकाले त्यहाँको उद्योगधन्दा सवै चौपट भयो। हाम्रा
नेताहरुले चाहेकाभए यहीं छिमेकी बिहारबाट सिक्न सक्थे। बिहारमा कानुन हातमा लिने र
शक्ति प्रदर्शन गर्ने अपराधी गुण्डाहरुलाइ तह लगाएर नितिसकुमारले जव साँच्चै
विधिको शासन स्थापित गरे तव बिहार झिसमिसेमै जाग्यो,उठ्यो
र फटाफट लम्क्यो।
यहाँ त अरु कोही नभएर सरकार र नेताहरु नै अपराधीको पक्षमा देखिए। अपराधी गुण्डाहरु पालेर राख्छ, जघन्य अपराधीका मुद्दा फिर्ता लिन्छ, अन्तर्राष्ट्रिय फौज्दारी अदालतको रोम विधानलाइ अनुमोदन गराउन
आनाकानी गर्छ, पीडकलाइ ध्यान दिएर सत्य निरुपण आयोग ऐन बनाउँछ ।
विश्वइतिहासमा अराजकताको वीचबाट तानाशाहहरु मात्र जन्मेका छन्।
नेपालपनि अराजकतामा प्रवेश गरिसकेको छ र त्यो स्थिति नआवोस् भन्ने कामना मात्र हो।
शनिवार, मे 05, 2018
No comments:
Post a Comment