सुशासनको नमूना /
नयाँदिल्ली — कोरोना संक्रमण बढेयता दिल्लीमा अर्काका
घरहरूमा पाहुना वा अपरिचितले हत्तपत्त ‘डोरबेल’ बजाउँदैनन् । कुनै सामान
अनलाइन अर्डर
गरेको अवस्थामा
वा पूर्वसूचना
दिएर कोही
आएको खण्डमा
मात्रै ‘डोलबेल’
बज्छ ।
म बसेको
फ्ल्याट पनि
त्यस्तै छ, हत्तपत्त डोरबेल बज्दैन ।
शुक्रबार बिहान ८ बजेतिर ‘डोरबेल’ बज्यो । ढोकामा प्रहरी
पोसाकमा हातमा
फाइल बोकेका
एक पुरुष
र एक
महिला थिए । सोधे ‘आप
अनुप अरोरा
है ?’ मैले होइन भन्दै छेउकै ढोकातर्फ संकेत गरेँ । तर, उनीहरूको आगमनले एक
महिना अगाडि मलाई पनि त्यस्तै गरी खोज्दै आएका यस्तै पोसाकधारीको सम्झना भयो । र, त्यही कारणले फेरि
मेरो फ्ल्याट मालिक अरोरालाई खोजेको अनुमान लगाएँ । ढोकामा आएका
अरोरालाई उनीहरूले
सोधे– ‘आप
कोभिड पोजिटिभ
है ?’ उत्तर आयो– ‘हाँ ।’ सँगैको
फ्ल्याटमा कोभिडको
कुरा आएपछि
मैले सुन्न
चासो दिएँ ।
त्यहाँ बस्ने तीनै
जनाको कोभिड पोजिटिभको रिपोर्ट अघिल्लो साँझ आएको थियो । फाइल बोकेका दुई जनाले परिवारका सबै सदस्यबारे
विस्तृत विवरण लिए । स्वास्थ्य अवस्था, लक्षण, उमेर, खोप लिए/नलिएको, बाहिरको यात्रा कहिले
गरेको, को
कोसँग सम्पर्कमा पुगेको आदि सोधपुछ थियो । उनीहरूले ६० वर्ष कटेका व्यक्तिलाई अस्पताल भर्ना गराउनुपर्ने सुझाव पनि दिँदै थिए । आवश्यक पर्यो भने एम्बुलेन्स बोलाएर
अस्पताल लैजान्छौं भन्दै थिए ।
उताको लामो संवादपछि फेरि मसँग र
तलमाथि बस्ने अन्य परिवारको विस्तृत विवरण कोभिडसँग मिल्ने कुनै लक्षण भए/नभएको सोधीखोजी गरे ।
एक महिनाअघि लक्षणहरू
देखिएपछि गराएको जाँचमा मेरो रिपोर्ट पनि कोरोना पोजिटिभ आएको थियो । दिल्लीको बसाइमा
एक्लै भएका बेला संक्रमणले छोयो ।
स्वास्थ्यको दृष्टिकोणले ठिकै थिएँ । तैपनि एक्लो बसाइँ, के कसो हुने होला
भनेर मन अशान्त थियो । तर, दिल्ली सरकारको
सिस्टमले ढाडस दियो । मैले आफ्नो रिपोर्ट थाहा नपाउँदै नजिकको डिस्पेन्सरीबाट भन्दै बेलुका फोन आयो र भनियो– ‘आप ने
आज कोभिड टेस्ट करवाया था ? पोजिटिभ
आया है । घर पे रहिएगा । कहीं मत निकलिएगा ।’
भोलिपल्ट बिहानै दुई
जना आएर विस्तृत विवरण टिपेर गए ।
अक्सिमिटर छ/छैन सोधे । छैन भनेपछि ल्याएर दिए । र, म बस्ने फ्ल्याट
बाहिर प्रहरी पोसाकमै दिलसाद अली नामका युवक ड्युटीमा खटिए । मलाई भनियो– ‘तपाईं १० दिन होम आइसोलेसनमा हुनुहुन्छ । बाहिर ननस्किनु, कसैलाई नबोलाउनु होला । दिनदिनै अक्सिजन लेभल, ज्वरो र स्वास्थ्यबारे
जानकारी हामीलाई दिनुहोला ।
केही चाहिए, अस्पताल
जान परे बाहिर ड्युटीमा रहेका स्वयंसेवकले सहयोग गर्नेछन् ।’ सुरुमा गेटमा प्रहरी आएको देख्दा टेस्ट गराएर अनावश्यक के झमेलामा परेछु भन्ने भएको थियो । तर, परदेशमा स्थानीय
सरकारबाट पाएको व्यवहारले खुसी नै दियो । बाहिर तैनाथ दिलसादले दिनदिनै फोन गरेर ‘कुछ चाहिए तो बता देना’ भनेर सोध्न थाले । सीडीओ अफिसजस्तै यहाँको डिस्ट्रिक्ट
मेजिस्ट्रेटको अफिसबाट दिनदिनै फोन गर्दै मेरो स्वास्थ्य अवस्थाको जानकारी
लिइन्थ्यो ।
मलाई पोजिटिभ भएका बेला दिल्लीमा दैनिक भेटिने
संक्रमितको संख्या सयभित्र सीमित थियो ।
अहिले २५
हजार हाराहारी भेटिँदै छन् । तैपनि अहिले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको सरकार ‘डोर टु डोर’ सेवा दिन प्रयत्नशील मात्रै छैन, सफल पनि भइरहेको छ । उनले बसालेको यो पद्धतिले सरकार र नागरिकलाई धेरै नजिक बनाएको छ । आम नागरिकलाई सरकारसँग
अपनत्व अनुभूति दिएको छ ।
घरघरमा सेवा पुर्याउन कसरी सम्भव भयो ? यसबारे जानकारी लिँदा पाइयो– दिल्ली सरकारले करिब अढाई लाखको संख्यामा युवाहरूलाई ‘सिभिल डिफेन्स भोलिन्टिएर’ मा भर्ना गरेको छ । उनीहरूको मासिक तलब हुँदैन । खटाइएका बेला दैनिक भारु ७ सय ६३ रुपैयाँका दरले पारिश्रमिक दिइन्छ । आवश्यकताअनुसार भर्ती खुल्छ । त्यसमा भारतसँगैनेपाल र भुटानका युवाले पनि काम पाउने व्यवस्था छ । उनीहरूलाई ७ दिनको तालिमपछि दिल्ली प्रहरीसँग मिल्ने पोसाक दिइएको हुन्छ । त्यस्तो पोसाक दिनुको कारण रहेछ उनीहरूलाई सम्मान मिलोस्, साथै काममा सहजता होस् । दिल्लीको सुरक्षा व्यवस्था केन्द्र सरकार मातहत छ । दिल्ली प्रहरी केन्द्रको छ।
दिल्ली सरकारले सिभिल डिफेन्स स्टाफलाइ एयरपोर्टदेखि सार्वजनिक बस र टोलटोलमा आवश्यकताअनुसार काममा परिचालन गर्ने गर्छ । कोभिड महामारीका बेला धेरैजसोको ड्युटी यता लगाइएको छ । बिरामी पहिचान, उनीहरूलाई अस्पताल लैजाने, औषधि पुर्याउने, परामर्श दिने, घर बाहिर खटिने र खोप अभियानमा लाग्ने जस्ता जिम्मेवारीमा उनीहरू छन् ।
महामारी फैलिनासाथ मुख्यमन्त्री
केजरीवाल सातामा २/३ पटक भिडियो कन्फ्रेन्समार्फत दिल्लीका जनतासँग जोडिन्छन् । सर्वसाधारणको मनोबल बढाउने कुराहरू गर्छन् । सतर्क रहन तर नआत्तिन आग्रह गर्दै सरकारले तयारी गरेको जानकारी गराउँदै डाढस दिने कोसिस हुन्छ उनको । गरिबलाई खानाको अभाव भए सितैं रासन पाइने ठाउँको जानकारी दिन्छन् । त्यस्ता स्टलहरू थपिएको बताउँछन् । होम आइसोलेसनलाई जोड मात्रै दिँदैनन्, घरै बस्दा उपचार सेवा कसरी लिने
भन्ने पनि बताउँछन् ।
होम आइसोलेसनमा रहेकाहरूलाई
सिभिल डिफेन्स स्टाफमार्फत सम्पर्क गर्ने, उनीहरूलाई आवश्यक औषधि, सबै सुविधा
सरकारले पुर्याउँदै आएको छ । डिजिटल माध्यमबाट योगको कक्षा पनि सुरु गराएका छन् । महामारी नियन्त्रणमा केजरीवाल सरकारले गरेका यस्तै प्रयासहरूले होला, यसपटक विगतको
जस्तो आत्तिने अवस्था दिल्लीमा छैन । विभिन्न तहका ६५ हजार बेड तयार राखिएको केजरीवालले भन्दै आएका छन् । भिडियोमार्फत गर्ने संवाद संक्रमितसँगै अन्यको पनि आत्मबल बढाउने खालको
हुन्छ ।
दिल्लीमा म बस्ने क्षेत्र साउथ
इस्ट जिल्लामा पर्छ । यहाँको कोभिडसम्बन्धी नुडल अधिकारी हुन् डा. निशा नुपुर । महामारी हुँदा पनि ‘डोर टु डोर’ सेवा कसरी सम्भव छ ? भन्ने प्रश्नमा उनले भनिन्– ‘हरेक बिरामीसमक्ष पुग्ने
कार्यमा हामी सफल छौं । पहिलेको भन्दा सिभिल डिफेन्स स्टाफ
दोब्बरले खटिएका छन् ।’ २/३ घरमा वा धेरैजना संक्रमित
भएका घरको पहिचान गरी ड्युटी लगाइएको उनले बताइन् । बिरामीको दिनहुँ स्वास्थ्य स्थिति पनि फोनमार्फत बुझ्ने र आवश्यक परे चिकित्सकीय परामर्श दिने, औषधि पुर्याउने काम गरिरहेको उनले बताइन् । अहिले आइसोलेसनमा
बस्नुपर्ने अवधि पनि घटाएर ७ दिन बनाइएको छ ।
दिल्ली सरकारले नआत्तिन, जरुरी नभई
अस्पताल नजान र होम आइसोलेसनमा बस्न दिएको सुझावसँगै पुर्याएको ‘डोर टु डोर’
सेवाकै परिणाम यस पटक अस्पतालका बेडहरू अझैसम्म ठूलो संख्यामा खाली छ । दिल्लीमा यतिबेला कोरोनाका सक्रिय
संक्रमित ९४ हजार १ सय ६० जना छन् । अस्पतालमा ३ हजार जति मात्रै भर्ना छन् । बाँकी होम आइसोलेसनमै छन् ।
-राजेश मिश्र
प्रकाशित : माघ १, २०७८ ०८:५४
No comments:
Post a Comment