दामोदर खतिवडा \
जतिसुकै राम्रो काम गरे पनि कोही–कोही त अबजस मात्रै पाउँदा रहेछन् । ताप्लेजुङको फुङलिङमा १९६० सालमा जन्मेका सामाजिक क्रान्तिकारी दामोदर खतिवडाले पनि जीवनभरि अबजस मात्रै पाए । उनले महिला र तल्लो भनिने सबै जातका मान्छेलाई भेला गराएर गीता पढाए । उनको विरोध गरियो । उनी फेरि संस्कृत भाषाबाट ज्ञान लिने अधिकार सबैलाई छ, सबैले पढ्न पाउनुपर्छ भन्न थाले । त्यसबापत उनलाई कुटपिट गरियो । बाहुनहरू बिहे नभएकी केटी र व्रतबन्ध नभएका केटाले छोएको भात खाँदैनथे, उनले खान हुन्छ भनेर शास्त्रीय प्रमाण दिए । त्यसपछि उनले छोएको भातपानी कसैले नखाने भनेर उनको जातभात काढियो, पानी काढियो र सामाजिक बहिष्कार गरियो । उनी फेरि छोरीचेलीलाई व्यभिचारी बनाउनुभन्दा पुनर्विवाह गर्नु राम्रो हो भन्न थाले । त्यसपछि त उनलाई गाउँबाटै लखेटियो र धनकुटाका बडाहाकिमलाई गुहारेर एक वर्षसम्म थुनाइयो । तैपनि उनी हच्केनन् । काठमाडौँ पुगे, भक्तपुरमा गएर पनि समाजसुधारक शिक्षा दिए । ‘मणिरत्नमाला’ नामको प्रगतिवादी कवितासङ्ग्रह लेखी छपाए । तर उनी समाजसुधारक र कवि दुवै ठहरिएनन् । समाज बदल्न खोज्दा सबैको तिरस्कार, अबजस र गाली मात्र खाए । आखिर २०२९ सालमा लेटाङमा रहँदा उनले यो धर्ती छाडे । मरेपछि पनि उनलाई सम्झिने कोही भइदिएनन् । कस्तो विडम्बना बिचरा दामोदर खतिवडाको !
No comments:
Post a Comment