पशु-अत्याचार \
कुकुरलाई धेरैले सन्तानलाई झैं स्याहारसुसार गरेर पाल्छन्। खानपिनदेखि
घुमघाममा पनि कुकुरलाई परिवारका सदस्य सहर सहभागि गराउँछन्। कुकुर पाल्ने धेरैको मोह
नै हुन्छ। घरको रेखदेख गर्ने भएकोले पनि कुकुर पाल्न धेरैले रुचाउँछन। इमान्दारीपूर्वक
घरको सुरक्षामा खटिने भन्दै तिहारमा त कुकुरको पुजा नै गरिन्छ।
तर, कतिपय व्यक्ति यस्ता
पनि छन्, जसले कुकुरलाई यातना दिएर
झुण्डाएर पनि मारेका छन्। कुकुरलाई यातना दिएर मार्दा ती व्यक्ति कानुनी कारवाहीमा
परेका छन्। यस्तै घटना कास्कीमा भएको छ। पोखरा महानगरपालिका– १९ का २३ वर्षिय सुदीप
परियारले प्लास्टिकको डोरीले कुकुरको घाँटीमा पासो लगाई रुखमा झुण्ड्याएर मारेर सेतीनदीको
खोँचमा फालेका थिए। उनले कुकुरको ज्यान लिँदा गरेका सबै गतिविधिको भिडियो बनाई सामाजिक
सञ्जालमा समेत पोष्ट गरेका थिए।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार पक्राउ
परेका परियारको मोवाइल र उनको फेसबुकमा पनि उक्त भिडियो रहेको थियो। ‘कुकुरलाई मार्नैपर्ने
कारण खुलेको छैन। कुकुर कसको हो भन्ने पनि अझै स्पष्ट भएको छैन, बयानमा त्यो सबै कुरा
आउनेछ,’ तिवारीले भने, ‘सामाजिक सञ्जालमा कुकुरलाई
झुण्ड्याएर मारेको भिडियो देखेपछि प्रहरीले परियारलाई पक्राउ गरेको हो।’
तिवारीका अनुसार परियारलाई कास्की जिल्ला अदालतबाट पशुपंक्षी
सम्बन्धी कसूरमा दिन नौ म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ। ‘परियारमा
कुनै शारिरिक वा मानसिक समस्या पनि देखिएको छैन। तर, कुकुर मार्नैपर्ने
कारण भने खुलेको छैन,’ उनले भने, ‘पशुपक्षीविरुद्धको
अपराध भएकोले प्रहरीले पक्राउ गरेको हो।’ खुलमखुला पशुमाथि अपराध गरेर सामाजिक सञ्जालमा
भिडियो हालेको उनले बताए। ‘पशुमाथिको यो निर्दयी व्यवहार हो। यस्तो अपराध गर्नुको कारण
त अझै खुलेको छैन,’ उनले भने, ‘अनुसन्धान जारी छ
। कारण अवश्य खुल्नेछ।’
कास्कीमा घटेको घटनाको ठिक एकवर्ष अघि २०७७ चैत १८ कै दिन काभ्रेको
धुलिखेल नगरपालिका–४ मा बिजुलीको पोलमा कुकुरलाई बाँधेर रड र कोदालोले हिर्काएर मारिएको
थियो। कुकुर मारेको त्यो भिडियो सार्वजनिक भएपछि पशु अधिकारकर्मीले आन्दोलन गरेका थिए।
कानुनी रुपमा सार्वजनिक स्थलमा पशु चौपायालाई मार्न पाइदैन।
पशु अधिकार कर्मी राजु आचार्यले कुकुरमाथिको त्यो व्यवहार आततायी खालको भएको बताए।
‘पशु अधिकार हिसाबले त यो गर्न पाइदैन। कुकुरमाथि त्यस्तो व्यववहार गर्नेले भोलि अरु
पनि अपराध गर्न सक्छ,’ आचार्यले भने, ‘त्यस्ता व्यक्तिलाई सजाय त हुनैपर्छ । यस्ता घटना घटाउनु भनेको
आपत्तिजनक हुन्छ।’
आइतवार, अप्रिल 24, 2022
No comments:
Post a Comment