Pages

Tuesday, May 24, 2022

 

शिक्षा             \

 

फिनल्यान्डको शिक्षालाई विश्वभरले उदाहरणीय मान्ने गरेका छन् । वास्तवमै त्यहाँको शिक्षा राम्रो हो भने नेपालमा अभ्यास गर्न सम्भव छ ?

खालि के हो भने हाम्रो शिक्षकलाई एउटै सोलोडोलो गरेर राखेर हे-यौं । शिक्षक पेसामा गतिलो मान्छे पनि आउँछन् भन्ने मान्यता नै राखिएन । हामी अब्बल, दोयम, सिम र चार प्रकारका शिक्षक छन् । अब्बल शिक्षक पनि हामीसँग छन् । तर, यो कुराको पालिकाले रेकर्ड राखेको छैन । शिक्षकको गुणस्तर हेर्ने संयन्त्र स्थानीय, प्रदेश र संघमा समेत छैन । शिक्षा पत्रकार, शिक्षक महासंघ र कर्मचारीमा समेत गुणस्तर फरक–फरक छ । सबै शिक्षकलाई एकै गुणस्तरको मान्दा सबैभन्दा पहिला अब्बल शिक्षकका लागि धोका भयो । अब्बललाई धोका नदिई सम्मान गरेको भए नेपालको शिक्षालाई पनि फिनल्यान्डको जस्तो बनाउन सकिन्थ्यो । अब्बल शिक्षकलाई विषयवस्तु भनिरहनै पर्दैन । यसलाई उद्देश्यमात्र दिए पुग्छ । यो उद्देश्य तपाईं कसरी हासिल गर्नुहुन्छ भनेर उसैले सोध्न थाल्छ । अब्बल शिक्षकलाई तपाईंले सिकाइको उद्देश्य परीक्षण गर्छु भन्नुभयो भने राम्रो शिक्षकले उल्टै उद्देश्य मापन गर्ने मान्छे कस्तो हुँदो हो भनेर मूल्यांकन गर्न थाल्छ । जस्तो चीन, इङ्ल्यान्डले शिक्षकको गुणस्तर मापन पनि गर्छन् । ती दुईवटा देशमा शिक्षक हुन यो व्यक्ति काबिल हो कि होइन भन्ने एक प्रकारको परीक्षण नै गरिन्छ । परीक्षामा पास भए मात्र त्यो व्यक्ति शिक्षक हुन्छ । अब शिक्षकले आफैले आफैलाई परीक्षण गर्नुपर्छ ।

हाम्रो शिक्षक किताब पढाउन पल्केको छ । त्यो चाहे स्कुलको होस्, चाहे विश्वविद्यालयको होस् । नर्वेका शिक्षकले किताब पढाउँदैनन् । किताब त पढाउने वस्तु नै होइन नि । ती त सन्दर्भ विषयवस्तु हुन । किताब कहिलेकाहीं हेर्ने हो । पहिला पत्रिका, किताब, रेडियो र टेलिभिजन हेरेर त्यसपछि विश्लेषण गर्न किताब हेरोस् भन्ने मान्यताको विकास गर्नुपर्छ । नेपालमा यस्तो अभ्यास गराउन अब्बल शिक्षकलाई छान्नुपर्छ ।

 

पछिल्लो समय सरकारले सामुदायिक विद्यालयका लागि धेरै काम गरेको जनाउँदै आएको छ । सरकारको लगानीअनुसार सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको पाइन्छ ?

शिक्षकको प्रवृत्तिले सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण नबढेको हो । पालिकास्तरमा गएर मैले भन्ने गरेको छु । पालिकाभित्रकै विद्यालयबीच प्रतिस्पर्धा गराऊँ र गुणस्तर सुधारका लागि सहयोग गरौं । पालिकाभित्रका राम्रा शिक्षक, विद्यालय र प्रधानाध्यापकबीच प्रतिस्पर्धा गराऊँ । सामुदायिक विद्यालयलाई राम्रो बनाउन प्रतिस्पर्दा र सहयोग गर्ने प्रवृत्तिको विकास गर्नुपर्छ । संघीय सरकारले फलानो विद्यालयलाई पुरस्कार भन्ने ढंग झिकिदिएर पालिकामा खर्च राखिदिने, प्रतियोगिता गर्ने र सहयोग गर्ने हो । नसक्ने प्रतिस्पर्धाबाट बाहिर जान्छ । तर, जे भए पनि पछिल्लो तथ्यांकले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको देखिएको छ ।

 

शिक्षकहरू शैक्षिक गुणस्तरका लागि उत्तरदायी हुनुपर्छ भन्नुभयो । शिक्षक पनि सरकारका कर्मचारी हुन् । नराम्रो गर्नेलाई कारबाही गर्न मिल्दैन ?

म पेसाकर्मी शिक्षक हुँ भन्ने मनोभाव भएको ठाउँमा राम्रो स्कुल छ । ती शिक्षक कसैले भनेको नमान्ने पेलाहा शिक्षक त होइनन् । ती शिक्षक त सहयोगी हुन् । उनीहरूलाई सरकारले पेल्नुपर्छ भन्ने छैन । दोस्रो भनेको शिक्षकले भनेअनुसार गर्नुपर्छ भन्ने मान्यता छिमेकी देश चीनमा रहेको छ । चीनमा शिक्षकले काम गरेन भने सरकारले शिक्षकलाई तह लगाउने गर्छ । तर, हाम्रोमा त्यो संस्कृति नै छैन । हाम्रा शिक्षक पार्टीका सदस्य होइन भन्ने अवस्था नै छैन । यसरी पार्टीका सदस्य भएका शिक्षकलाई राम्रो काम नगर्दा कसले पेल्ने ?

सबै शिक्षक पार्टीका सदस्य भए पनि हामीसँग अर्को सम्भावना पनि छ । सबै दलको चिन्तनलाई कार्यान्वयन गर्न म मेरो स्कुलमा के गर्न सक्छु भन्ने प्रवृत्ति प्रधानाध्यापकमा बनाउन सकियो भने स्वतः शिक्षक राम्रो ठाउँमा आउँछ । प्रश्न के आउँछ भने शिक्षकलाई स्वतन्त्र बनाएर पेसाकर्मी बनाउने कि शिक्षकलाई कर्मचारी बनाएर अनुगमन गर्ने ? शिक्षकलाई दलको कार्यकर्ता बनाएर भने जस्तो गर्ने बनाउने सम्भावना पनि छ । यी तीनवटा मोडेल छन् । मचाहिँ पहिलो मोडेलमा विश्वास गर्छु । शिक्षक जानकार र सचेत मान्छे हो । शिक्षकले गरेको राम्रो काम वेबसाइटमा राखौं । अरूले पनि पढ्न र सिक्न पाऊन् भनेर प्रस्ताव गरौं । प्रविधिको प्रयोग गरेर राम्रो गर्ने शिक्षकका ज्ञान वेबसाइटमा राखौं । देशविदेशमा अन्तक्रिया गरौं । तर, शिक्षक प्रविधिको कुरा गर्दा तर्सिने गर्छन् । शिक्षकमा प्रविधि आयो भने म पछि पर्छु कि भन्ने डर छ । प्रविधि शिक्षकको सहायक हो । शिक्षक प्रविधिको मालिक हो भन्ने मानसिकताको विकास गर्नुपर्छ ।

भएको बजेटको अधिकतम उपयोग गर्नुपर्छ । किन मैले त्यसो भनें भने जिम्मेवार नागरिकले पैसा भएन, त्यसैले गर्न सकिँदैन भन्न पाइँदैन । जिम्मेवार नागरिक भएपछि के भन्नुपर्छ भने मेरो यो सानो सुविधामा म कसरी अधिकतम फाइदा दिन सक्छु भन्ने सोच राख्नुपर्छ ।

अछामको एक विद्यालयमा कम्प्युटर नभए एक जना शिक्षकले फालेको कम्प्युटर ल्याएर भित्तामा राखेर किबोर्ड, मोनिटर, सीपीयू राखेर मोबाइलको किबोर्डसँग तुलना गर्न सिकाएका छन् । अभावमा समेत विकल्पमा अध्ययन गराइरहेका त्यो विद्यालय र शिक्षक सबैलाई अनुकरणीय छन् । यस्ता प्रकारका शिक्षक हामीले खोज्ने हो । पैसा भएन भनेर मात्र हुँदैन । ठीक पैसा भयो भने त अझ राम्रो भयो । हामी देश श्रीलंका हुने भयो भनिरहेका अनि पैसा छैनन् भनेर भन्न पाइन्छ । फेरि शिक्षाका लागि पैसा भएन भन्न पाइन्छ ?

मङ्गलवार, मे 24, 2022

No comments:

Post a Comment