श्रीलङ्काको
आर्थिक सङ्कट र नेपाल \
श्रीलंकाबाट
के सिक्न सकिन्छ भने, आफूले भ्रष्टाचार गरेर अरूलाई भ्रष्टाचारी
भन्ने संस्कृतिलाई संस्थागत गरे, दिगो
विकासका विषयमा नसोचे र निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डमा होइन राजनीतिको
आडमा चल्ने बनाए, संकट आएर भ्वाक्क हान्न समय चाहिँ नलाग्ने
रहेछ ।
श्रीलंकामा
संकट विदेशी ऋण तिर्न नसकेर उत्पन्न भएको हो । आफ्नो विदेशी मुद्राको सञ्चिति (फरेन
एक्सचेन्ज रिजर्भ) ले ऋणको अर्को किस्ता बुझाउन सक्ने अवस्था छैन । श्रीलंकाले चीन, जापान, युरोपसहित
धेरैतिरबाट धेरै ऋण लिएको छ । त्यो पनि धेरैजसो ब्याज बढी भएको ऋण । नेपालको अवस्था त्यस्तो छैन । हाम्रो अहिलेको रिजर्भ तीन वर्षको साँवाब्याज
धान्ने अवस्थामा छ । हाम्रा ऋणहरू पनि धेरै कम ब्याजवाला हुन् । यसै गरी, नेपालमा संकटको डम्फु बजाउनेहरूले हामीसित साढे
छ महिनाको आयातको रिजर्भ मात्र छ भन्ने गर्छन् । नेपालस्थित विश्व बैंकका अर्थशास्त्री
एलिस ब्रुक्सले यो कुनै चिन्ताजनक स्थिति होइन भनेर भने र लेखे, साढे पाँच महिनाको हाराहारीमा रहेर घटेर जाने रिजर्भको
चिन्ता गर्नुपर्छ । अब यो कुरामा कसको चासो ? मिडियामा पनि त यस्तो सकारात्मक खबरले न बिक्री
बढाउने गर्छ न भ्यु ? नेपालीहरूको
बानी पनि गज्जबकै छ । हामी आफ्नो देशको तुलना होस् वा निजी जीवनको, नराम्रो गरिरहेकोसितै गर्न रुचाउँछौं ।
महँगो
पार्टीका लागि पैसा छ, रिसर्चका निम्ति छैन
नेपालमा
रिसर्च र विश्लेषणको कमी छ । स्वर्णिम वाग्ले, चन्दन सापकोटा, समीर खतिवडाबाहेक गहन रिसर्च गरेर विश्लेषण गर्नेहरू त्यति छैनन् । पत्रपत्रिका हेर्ने हो भने नाममा ‘भूतपूर्व’
झुन्डिएकासितका अन्तर्वार्ताहरू । लाग्छ, नेपालमा
नाममा ‘भूतपूर्व’ झुन्डिएको छैन भने केही पनि नजानेको कोटिमा परिन्छ । धेरैजसो देशमा निजी क्षेत्रका, विशेष गरी बैंक र वित्तीय संस्थाहरूमा राम्रो रिसर्च
विभाग हुने गर्छ । तर नेपालमा खर्बौंको भ्यालु भएका बैंकहरूमा पनि त्यो क्यापासिटी छैन । भोजभतेर गर्न करोडौं खर्च गर्न सक्ने
बैंक र वित्तीय संस्थाहरूले एउटा ढंगको रिसर्च डिपार्टमेन्ट किन राख्न नसकेका वा यस्तो
काम गरिरहेको संस्थालाई किन सहयोग नगरेका होलान् ? वासलात नै पढ्न नजान्नेहरूको बिगबिगी रहेका बैंकहरूका
अहिलेका बोर्डहरूले रिसर्चको महत्त्व के बुझ्न सक्थे भन्ने गरिएको पनि सुनिन्छ ।
सिन्डिकेटहरूलाई
किन भयावह स्थिति फाइदाजनक छ ?
नेपालमा
व्यवसाय भनेकै समयको फाइदा लिएर पैसा कमाउनु हो । यो काम संकटको आडमा त हुने भयो नै । हामीले हाम्रो एउटा अन्तर्राष्ट्रिय क्लाइन्टका
निम्ति, सरकारले ठूलो हल्ला गरेर आयात बन्द गरिदिनाले
कसलाई फाइदा भएको छ भन्ने विश्लेषण गरेर रिपोर्ट गर्यौं । जस्तै, आयात बन्दको त्यो सूचीमा ‘लेज’ चिप्स र ‘कुरकुरे’ भनेरै तोकिएको छ । यसो गर्नाले नेपालमा नक्कली रूपमा उत्पादन
गरिएका, ‘कुरकुरे’ र ‘लेज’ को जस्तो प्याकिङ गरिएका
चिप्स बेच्न सजिलो भएको छ । ठूलठूला व्यापारीको संलग्नतामा यस्तो सूची तयार
हुन्छ । हुन पनि चुनावी माहोल छ । चन्दा सित्तैंमा त लिन भएन । हामीले यस्तै प्रकारले प्रत्येक जिनिसको
विश्लेषण गरेका छौं । अब निर्माण व्यवसायी महासंघले पनि निर्माण रोक्ने
घोषणा गरी नै सकेको छ र यसको पछि पनि कुनै रहस्य छ । यो सबमा विभिन्न संघसंस्थाको सिन्डिकेटे
प्रवृत्ति छर्लंग हुने गर्छ । अब निजी क्षेत्रका संघसंस्थाको कुनै पदमा उठ्न खर्च गर्ने
पैसा त उठाउनैपर्यो र त्यो आफ्नो सरोकारको राजनीतिकर्मीलाई पनि बाँड्नैपर्यो । अनि यो संकटलाई ठूलो रूपमा प्रस्तुत नगरी
पैसा कसरी बनाउने त !
पैसा
बैंकमा मात्र छैन
अस्ति
भर्खरकै कुरा, एक मित्र एउटा बैंकमा बीस करोडको ऋणको कुरा
गर्न गएका थिए । उनलाई त्यहाँका म्यानेजरले भनेछन्, ‘हेर्नोस्, बैंकमा त पैसा छैन; ब्याज अलिक बढी तिर्ने हो भने मेरो साढुभाइको एउटा
सहकारी छ ।’ उनले बुझ्दा, चौबीस
प्रतिशत ब्याज दिने हो भने,
दुई घण्टामै बीस करोड तयार हुने रहेछ । कालीमाटी, न्युरोडमा दिनहुँ जम्मा गरिने पसलेहरूको बचतमा कमी
आएको छैन, तर सहकारीमा ब्याज बढी छ । अनि किन बैंकमा आउनु ? नेपालबाहिरबाट आउने पैसामध्ये दस खर्ब बैंकिङ र
औपचारिक माध्यमबाट आउने गरेको अनि अनौपचारिक रेमिटेन्स पनि त्यति नै भएको नेपाल इकोनोमिक
फोरमको प्रतिवेदनमा उल्लेख छ । सरकारले ब्याज १२.५ प्रतिशत पुर्याए पनि हुन्डीको
रेटलाई जित्न सक्दैन । साथै नेपालमा एक वर्षमा घूसको पैसा मात्रै दस
खर्ब हुने गरेको छ । त्यसै त सुन र गहना पसलहरू बढेका होइनन्, जग्गाको मूल्य पनि त्यसै अकासिएको होइन । यही घुसको पैसाले अनौपचारिक तरलता प्रदान
गरिरहेको छ । नत्र अहिलेसम्म केही बैंकहरू त डुबिसक्नुपर्ने ।
अर्थतन्त्र
बन्यो राजनीतिक भकुन्डो
नेपाल
राष्ट्र बैंकका गभर्नरलाई कारबाही गरेर अर्थमन्त्री र प्रधानमन्त्रीले अर्थतन्त्रलाई
फुटबल ठानेर गोल गरेझैं आनन्द लिए । तर आईएमएफको कडा चेतावनी पनि आयो र सर्वोच्च अदालतले
पनि फैसला सुनायो । यो चुनावी गठबन्धन सरकारमा राजनीतिक दलहरूको फाइदाविरुद्ध उभिएकाले
गभर्नरलाई कारबाही गरिएको त स्पष्ट नै देखिन्छ । विभिन्न मन्त्रालय विभिन्न दलको पकडमा
छन् र मन्त्रालयलाई पैसा छाप्ने भाँडो बनाउने चलन त पहिलेदेखिकै हो, पञ्चायतकालदेखिकै । अब सेटिङ नमिलेपछि फुटबल बनाइने त भैहाल्यो । संकट छ भनेर एकअर्कालाई दोष लगाउने बाटो
पनि पाइयो ।
हाम्रो
अगाडि के छ त ?
राष्ट्र
बैंकको नौ महिनाको डाटा आयो, तथ्यांक
विभागले समेत नेपालीहरूको आय वृद्धि भएको भन्यो । अन्तर्राष्ट्रिय संस्थाहरूको भनाइ पनि
नेपालमा संकट छैन भन्ने छ र त्यस्तो भनाइ अध्ययन र रिसर्चमा आधारित छ । भोजभतेरमा कमी आएको छैन, सामाजिक खर्च जारी छ । खोइ कहाँ छ संकट ?
तर श्रीलंकाबाट
के सिक्न सकिन्छ भने, आफूले भ्रष्टाचार गरेर अरूलाई भ्रष्टाचारी
भन्ने संस्कृतिलाई संस्थागत गरे, दिगो
विकासका विषयमा नसोचे र निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डमा होइन राजनीतिको
आडमा चल्ने बनाए, संकट आएर भ्वाक्क हान्न समयचाहिँ नलाग्ने
रहेछ ।
बिहीवार, मे 19, 2022
No comments:
Post a Comment