पृथ्बीनारायणबारे भ्रम \
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ २०२५ सालदेखि मात्रै प्रचलनमा आएकाले त्यो ‘दिव्योपदेश’ वास्तविक नभई उनका सन्ततिले बनाउन लगाएको भन्ने वक्तव्य दिएको पाइयो । जगदम्बा प्रकाशनद्वारा २०२५ सालमा प्रकाशित ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ नामक पुस्तकलाई लिएर उनले त्यसो भनेका होलान् । तर २०५९ सालमा प्रकाशित ‘दिव्योपदेश’ को भूमिकामा अन्वेषक दिनेशराज पन्तले लेखेअनुसार राष्ट्रिय अभिलेखालयको चतुर्थ लगत नं. २९१५ मा ‘दिव्योपदेश’ को मूल पाठ छ र पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ १९९२ सालदेखि प्रयोग हुन थालेको हो । १९९२ सालमा दार्जिलिङबाट प्रकाशित सूर्यविक्रम ज्ञवालीको ‘पृथ्वीनारायण शाह’ नामक पुस्तकमा पहिलोपल्ट पृथ्वीनारायण शाहका उपदेशहरू छापिएका थिए । यस्तो ऐतिहासिक तथ्य हुँदाहुँदै गलत विवरण बोलेर जनतालाई भ्रमित पार्दा सत्य ओझेलमा पर्छ । हस्तलिखित पुराना अभिलेखलाई मान्यता नदिई मुद्रणकाललाई मात्रै मान्यता दिने हो भने धार्मिक र शास्त्रीय ग्रन्थहरू सबैमाथि प्रश्न उठाउनुपर्ने हुन्छ । मुद्रणकाल नै लेखनकाल हो भन्ने धारणा नै गलत हो ।
No comments:
Post a Comment