दुर्व्यवहार
प्रकरणको अर्को पाटो : सरिता तिवारीको प्रतिरोध कि प्रतिशोध ?
संगीतलाई सरिताले पठाएका ती दुई रोमान्टिक गीत
एउटै राजनीतिक/दार्शनिक धाराको वकालत गर्ने अत्यन्त निकटस्थ दुई अभियन्ता
यतिवेला अवाञ्छित विवादमा आमनेसामने भएका छन् । चितवनकी सरिता तिवारीले पर्वतका यमबहादुर
क्षेत्री उर्फ संगीत स्रोतामाथि लगाएको यौन दुर्व्यवहारको आरोपले कथित आलोचनात्मक चेतको
उर्बरभूमिमा ठूलै प्रकम्पन उत्पन्न भएको छ ।
पाठकलाई थाहै होला, यो यस्तो धार हो जसले आफूहरुबाहेक देशका
सबैलाई प्रतिगामी र बर्जुवामात्र होइन, उत्पीडक र स्त्रीद्वैषी पनि देख्छ । उत्पीडित
वर्गको लागि आवाज उठाउने, सामाजिक न्यायको वकालत गर्ने ठेकेदारी आफूहरुसँग
मात्रै भएको ठान्छ । यो शिविरमा वाम आन्दोलनका बाइप्रडक्टदेखि प्रजातान्त्रिक धाराका
कुण्ठा र अराजकताका शिकारीहरु पनि वेलावेला सहकार्य गर्न पुग्छन् ।
विदेशी परियोजनाको जूठोपुरो खाएर उनीहरुकै एजेन्डाहरुको भारी बोकेका तथा
राष्ट्रियता र देशभक्तिको कुरा गर्नेहरुलाई खोक्रो राष्ट्रवादी भन्दै धारेहात लगाउन
बानी परेका कथित फरक चेतवाला अतिक्रान्तिकारीहरु यही धारभित्र गोलबन्द छन् । आज यही
धारका दुई प्रतिनिधिले एक–अर्कालाई तरवार उज्याउनु एउटा ननिको दृश्य हो ।
सरिता तिवारीले फेसबुक लाइभमा आएर जसरी आफूलाई पीडित र संगीतलाई पीडक
भनेर चित्रण गरेकी छन्, यो प्रकरण त्यति स्ट्रेटफरवार्ड पनि देखिँदैन । सरितामाथि अनगिन्ती प्रश्न
उठाउने ठाउँहरु उनी स्वयंकै बयानले दिएका छन् ।
सरिताले भनेअनुसार उनी चितवनबाट किताब सम्पादनको कामका लागि काठमाडौं
आएकी थिइन् । संगीतसँग उनको थापाथलीतिर भेट भयो । संगीतले आफ्नो डेरामै गएर बस्ने प्रस्ताव
राखेपछि उनी सहजै तयार भइन् । संगीतकी पत्नी काठमाडौं बाहिर छिन् भन्ने सरितालाई थाहा
थियो । र, पनि पहिल्यैदेखिको घनिष्टतासँगै एक–अर्कालाई दिदी–भाइ सम्बोधन गर्ने भएकाले
एउटा विवाहित पुरुषको कोठामा गएर सुत्न अप्ठेरो मानिनन् भन्ने मानौं एकछिनलाई ।
सरिताले भनेअनुसार त्यस रात संगीतले कुनै पनि असहज व्यवहार गरेनन् । उनीहरु
फरक कोठामा सुते । तर, भोलिपल्ट बिहान आफू ब्युँझेर ओछ्यानमा पल्टिरहँदा संगीत पनि आएर छेउमै
पल्टिएको सरिताको भनाइ छ । यसलाई उनले पहिलो दुर्व्यवहारको रुपमा व्याख्या गरेकी छन्
।
सरिताका अनुसार छेउमा पल्टिए पनि संगीतले उनीमाथि त्यसवेला ब्याड टच गरेका
थिएनन् । तर पनि एउटा परपुरुष नजिकै आएर पल्टिँदा आफू स्तब्ध बनेको र तत्काल ओछ्यानबाट
उठेर हिँडेको सरिताले बताएकी छन् । महिला सुतिरहेको ओछ्यानमा पुरुष आएर पल्टिनुलाई
यौन दुर्व्यवहार मान्ने वा नमान्ने आफ्नो ठाउँमा होला । तर, त्यो स्वाभाविक व्यवहार
अवश्य होइन ।
तर, त्यसपछि सरिता संगीतको कोठा छोडेर आफ्नो बाटो भने लागिनन् । न उनले संगीतलाई
एक शब्द केही भनिन् । बरु त्यो दिनभरि उनीहरु सँगै हिँडडुल गरे । आफ्नै विरादरीका राजेन्द्र
महर्जन र आहुतीलाई त्यसदिन सँगै भेट्न गएको सरिताले फेसबुक लाइभमा बताएकी छन् । दिनभर
संगीतसँगै हिँडेर राति फेरि पनि उनकै डेरामा फर्किइन् सरिता ।
पहिलो प्रश्न यहाँ उठ्छ । यदि उनलाई संगीतबाट यौन दुर्व्यवहार भएको महसुस
भएको थियो भने उनले तुरुन्तै प्रतिवाद किन गरिनन् ? संगीतको कोठा छोडेर
बाटो किन तताइनन् ? अनि दिनभर ‘दुर्व्यवहारकर्ता’ सँगै हिँडडुल गरेर राति पनि उनकै कोठामा
सुत्न किन फर्किइन् ? यी प्रश्नको जवाफ सरिताले दिन सकेकी छैनन् । हुन त कतिपय सोही शिविरका
ब्राण्डेड फेमिनिस्टहरु त्यसवेला जे भए पनि सर्भाइभर (प्रभावित)ले भनेपछि सकियो भन्छन्
।
सरिताका अनुसार दोस्रो रातमा संगीतले उनलाई दोस्रोपटक दुर्व्यवहार गरे
। कुनै बहाना गरेर आफ्नो चुरा खेलाएको, हातमा सुम्सुम्याएको र गालामा म्वाई खाएको
उनको दाबी छ । दिदी भन्ने गरेकी प्रौढ महिलाको चुरा खेलाउनु र हात सुम्सुम्याउनु असामान्य
क्रियाकलाप नै हुन् । महिलाको अनिच्छापूर्वक गालामा किस गरेको हो भने त्यो ह्यारेसमेन्ट
नै हुन्छ । तर, यति गर्दा पनि सरिताले कुनै ठोस प्रतिकार नगरेको उनको बयानबाट झल्किन्छ
।
सरिताका अनुसार संगीतले किस गरेपछि उनले ‘हामी त दिदीभाइ हो नि’ भन्दै
संगीतलाई ‘अर्को कोठामा सुत्न जाउँ’ मात्र भनेकी थिइन् । संगीत गए र उनी ढोकामा चुकुल
लगाएर सुतिन् । ‘दोस्रोपटक दुर्व्यवहार’ भइसकेपछि पनि उनी संगीतकै कोठामा सुतिन् ।
जबकि काठमाडौंमा आफ्नो भाइको घर भएको उनले बताएकी छिन् । ट्याक्सी लिएर भाइको घरमा
जान सक्थिन् । खैर, रातिउँधि त्यो जाँगर उनलाई लागेन भन्ने पनि मानौं ।
तर, गम्भीर सवाल त्यतिवेला उठ्छ कि दुईपटक ‘दुर्व्यवहार’ खेपिसकेपछि संगीतसँगको
सम्बन्धमा उनले कुनै दूरी बनाउन चाहिनन् । उनीहरुको सम्बन्ध पूर्ववत रुपमा निरन्तरमात्र
होइन झन् कसिलो हुँदै गयो । सरिताले आफ्नो किताब संगीतबाटै सम्पादन गराइन् । किताबमा
र विमोचन कार्यक्रममा संगीतलाई असीमित धन्यवाद दिइन् । उनले पटक–पटक चितवनमा साहित्यिक
कार्यक्रम गरेर संगीतलाई वक्ताको रुपमा बोलाएको आफैंले स्वीकारेकी छन् । उनीहरु धेरैवटा
संस्थामा जोडिएर काम गरे ।
यतिमात्रै होइन । फोनमा आफूहरुबीच राति–राति लामालामा कुरा हुने गरेको
सरिताले स्वीकारेकी छन् । सरिता मायाप्रेमका गीत गाएर संगीतलाई म्यासेन्जरमा पठाउँथिन्
। त्यो पनि मध्यरातमा । उनले गाएर पठाएका दुई गीत आफ्नो मोबाइलमा अहिले पनि सुरक्षित
रहेको संगीतले बताएका छन् । सरिताले पठाएकामध्ये दुई गीतका बोल छन्– माया गर्नेको चोखो
माया पनि देखियो… र यो दाजुको मिर्मिरे आँखा, कस्तो मेरो बिगार्यो
दिमाख…।’
यदि सरिताले आफूलाई ‘सर्भाइभर’ र संगीतलाई ‘हिंस्रक’ नै ठानेकी थिइन्
भने मायाप्रेमका गीत गुन्गुनाएर रेकर्ड गर्दै ‘हिंस्रक’ लाई पठाउनुको रहस्य चाहिँ के
होला ? हुन त यो प्रश्न गर्नेहरुमाथि पनि ब्राण्डेड फेमिनिस्ट र फरक चेतवाला
शिविरबाट हमला हुन्छ ।
यदि सरिता उमेरले नाबालिग भएको भए, अशिक्षित वा न्यून
चेतनास्तरकी भएको भए आफूमाथि भएको दुर्व्यवहार राम्ररी महसुस गर्न सकिनन् वा प्रतिवाद
गर्नुपर्छ भन्ने सोच आएन होला भन्ने मान्न सकिन्थ्यो । तर, त्यस्तो होइन । त्यसवेला
उनी ३० वर्ष नाघिसकेकी परिपक्व महिला थिइन् ।
सुशिक्षितमात्र होइन, कानूनको विद्यार्थीसमेत थिइन् । यस्तै घटनामा
परेकाहरुलाई कसरी प्रतिवाद गर्ने भनेर काउन्सिलिङसमेत गर्थिन् । तर, आफूमाथि
भएको कथित यौनहिंसाको प्रतिवाद गर्न, कानूनी उपचारमा जान उनलाई के कुराले रोक्यो
प्रश्न अनुत्तरित छ ।
सरिताले कतिवेला आएर संगीतविरुद्ध आफूलाई उभ्याइन् भन्ने पनि उत्तिकै
महत्वपूर्ण छ । उनले त्यतिबेला दुर्व्यवहारको विषयलाई खोस्रिइन् जब अन्य विषयमा संगीतसँग
उनको विवाद उत्पन्न भयो । प्रसंग थियो सरिताले कान्तिपुरमा लेखेको एउटा लेख । उक्त
लेखमा उनले कार्ल मार्क्सलाई ‘बलात्कारी’ संज्ञा दिएकी थिइन् ।
जनता र देश अनि पार्टीको लागि केही उल्लेख्य काम गर्नका दुःखले झुण्ड
जम्मा भएर बुद्धिविलास गर्ने वामपन्थीहरुको वृत्तमा उक्त लेख निकै विवादित बनेको थियो
। आहुतीलगायत केही वामपन्थी विद्वानले खण्डन लेख नै लेखेका थिए ।
आफ्नो लेख विवादमा आएपछि सरिताले आफूलाई ‘प्रतिरक्षा’ मा लेख लेख्न आग्रह
गरेको संगीतको भनाइ छ । सरिताले पनि घुमाउरो तवरले यसलाई स्वीकारेकी छन् । तर,
उनको
चाहना संगीतले पूरा गरेनन् । उनी स्वयम् सरिताको लेखमा असहमत थिए । त्यसपछि सरिता र
संगीत दुवै संलग्न रहेको मार्क्सवादी मोर्चा नामको संगठनले सरितामाथि कारबाही गर्यो
। त्यसमा उनले संगीतलाई दोषारोपण गरिन् । उनले संगीतविरुद्ध फायर खोलेको त्यही वेलादेखि
हो । एउटा लेखका कारण संगीतसँग सम्बन्ध बिग्रिएपछि बल्ल उनले यौन दुर्व्यवहारको विषयलाई
खोस्रिइन् र विभिन्न मानिसहरुलाई सुनाउन थालिन् । सरिता स्वयंकाे भनाइबाट यो पुष्टि
हुन्छ ।
सरिताले यस मामलामा आफूलाई असहयोग गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई
आरोपित गरेकी छन् । जसमा सोही शिविरका खगेन्द्र संग्रौलादेखि मानुषी यमी भट्टराईसम्म
छन् । यदि आफ्नो बिरादरीभन्दा बाहिरका पात्रहरु यसमा मुछिएको भए यी व्यक्तिहरुले पक्कै
माइतीघर मण्डलामा धर्ना दिन पुग्थे । तर, दुवै पात्र आफ्नै ग्याङका भएपछि उनीहरुले
घटनालाई ढाकछोप गर्न र सल्टाउनतिर लागेका थिए । उनीहरुले सरिताको आरोपमाथि संशय प्रकट
गर्नु अस्वाभाविक थिएन । तर, यस्तै केसमा अरु व्यक्ति मुछिँदा कसरी आँखा
चिम्लेर नारा लगाउने थिए भन्ने सम्भवतः अहिले मनन गरिरहेका होलान् ।
आरोप लागेजस्तो संगीत नैतिक रुपमा पतित नै थिए भने यसको पहिलो अनुभूति
उनको श्रीमतीलाई हुनुपर्थ्याे । सरिताभन्दा अघि वा पछि अरु पनि यस्ता घटनाहरु भएका
हुनसक्थे । तर, डेढ दशकअघि विवाह गरेकी श्रीमती अहिले पनि आफ्नो श्रीमानलाई गलत देखिरहेकी
छैनन् । उनले फेसबुकमा लामो स्टाटस लेख्दै श्रीमानको बचाउ गरेकी छिन् । उनले स्टाटसमा
उल्लेख गरेका केही सन्दर्भ मननयोग्य छन् ।
संगीतकी पत्नी बन्दना ढकालका अनुसार सरिता उनीहरुको कोठामा रात बस्ने
गरी जाँदा उनी काम विशेषले पोखरामा थिइन् । त्यसवेला सरितासँग बन्दनाको पनि राम्रो
मित्रता थियो । बन्दना कोठामा नभएको थाहा पाउँदापाउँदै पनि सरिता उनको कोठामा सुत्ने
गरी जान तयार भएकी थिइन् । तर, सरिताले आफ्नी साथी बन्दनालाई ‘तिम्रो कोठामा
जाँदैछु’ भनेर फोन गरिनन् । संगीतले नै आफूलाई ‘सरिता कोठामा आउँदैछिन्’ भनेर जानकारी
गराएको बन्दनाले बताएकी छन् ।
त्यस घटनापछि सरिता र बन्दनाको पनि पटकपटक भेटघाट र सहकार्य भयो । सरिताको
किताब विमोचनमा बन्दनाले नै एंकरिङ गरेकी थिइन् । तर, कुनै पनि दिन सरिताले
आफू उनीहरुको कोठामा गएर दुई रात सुतेको कुरा चुहाएकी थिइनन् । यसबाट गलत नियत संगीतको
थियो वा सरिताको भन्ने प्रश्न उठ्छ । यदि थिएन भने दुवैको थिएन भनेर पनि अर्थ्याउन
सकिन्छ । संगीतको गलत नियत थियो भने श्रीमतीलाई जानकारी नदिन पनि सक्थे भन्ने कोणबाट
पनि प्रश्न उठाउन सकिन्छ
बन्दनाले अरु पनि केही तथ्य उजागर गरेकी छन् । जसअनुसार सरिताले संगीतलाई
आफूसँग भारत घुम्न जाने प्रस्ताव गरेकी थिइन् । संगीत जान पाएनन् । भारत पुगेर उनले
‘वी आर मिसिङ यू’ भनेर म्यासेज पठाएकी थिइन् । उक्त म्यासेज संगीतको मोबाइलमा अझै रहेको
बन्दनाले बताएकी छन् ।
यतिमात्र होइन । महावीर विश्वकर्माले लेखक आहुतीसँग रेडियोका लागि गरेको
‘प्रेम संवाद’ को एक अंश पनि सरिताले संगीतलाई म्यासेन्जरमा पठाएको बन्दनाले बताएकी
छन् । ‘विवाह र प्रेम फरक हुन्, विवाह कसैसँग भए पनि अरुसँग प्रेम गर्न
सकिन्छ भन्ने आशयको थियो त्यो अडियो क्लिप’ बन्दनाले लेखेकी छन् ।
यसरी ‘माया गर्नेको चोखो माया पनि देखियो…’ बोलको गीत र विवाहेत्तर प्रेमको
वकालत गर्ने अडियो क्लीप पठाउनुले संगीतप्रति सरिताको विशेष अनुराग झल्किन्छ । यस्तो
अनुराग एकतर्फी थियो वा दुईतर्फी, उनीहरु नै जानून् ।
सरिताको दोगला चरित्र त यसबाट पनि उजागर हुन्छ कि आफूलाई मार्क्सवादी
भनेर चिनाउने उनले मार्क्सलाई नै बलात्कारी भनेर लेख लेखिन् । यसले उनी आफ्नो विचार
प्रवाहका लागि होइन, ‘एटेन्सन सिकिङ’का लागि लेख्छिन् भन्ने देखिन्छ ।
लाइभमा आएर एउटी महिलाले रोनाधोना गरेपछि सहानुभूति उनीतिर सोहोरिने नै
भयो । तर, आँशु सधैं सत्य हुँदैन । सबै प्रश्नको जवाफ आँशु होइन । । र, हरेक
घटनामा पुरुष गलत हुँदैनन् । यस घटनामा यदि चारित्रिक प्रश्न उठाउने हो भने त्यो संगीतमाथि
मात्र होइन, सरितामाथि पनि उठ्नसक्छ ।
यावत् पृष्ठभूमि र दुवै पक्षका बयानहरु हेर्दा सरिताले ‘प्रतिरोध’का अभियन्ता
संगीतमाथि लगाएका आरोप प्रतिरोधका लागि नभएर ‘प्रतिशोध’का निम्ति भएको आशंका उब्जिएको
छ । यदि प्रतिशोध नै साँध्ने हिसाबले आधारहीन रुपमा यौन दुर्व्यवहारको आरोप लगाएकी
हुन् भने यसबाट एउटा पुरुषको जीवन र उर्बर करिअर तथा उसको परिवारको प्रतिष्ठामा हुनसक्ने
क्षतिको कसले पूर्ति गरिदिने ?
Monday, July 11, 2022
No comments:
Post a Comment