Pages

Monday, April 18, 2011

भाषामाथि साम्प्रदायिक हैकम ।




भाषामाथि साम्प्रदायिक हैकम                          आनन्दराम पौडेल / anandarampaudel@yahoo.com

२०६७ मङ्सिर१७गते नेपाल सद्भावना पार्टी (राजेन्द्र महतो)को राष्ट्रिय कार्यसमितिको बिस्तारित बैठकले आगामी जनगणनामा तराईमा सवैले आफ्नो मातृभाषा हिन्दी लेख्नु भनि उर्दी जारी गर् यो। आ-आफ्नै मातृभाषा हुँदाहुँदै त्यस्को  प्रवर्द्धन गर्न छाडेर अत्यन्तै नगण्य मात्रामा प्रयोग भएको हिन्दीलाइ काखी च्याप्नुपर्ने र शीरमै चढाउनुपर्ने आवश्यकता किन पर् यो भन्ने जिज्ञाशामा उहाँहरुसँग चित्तबुझ्दो जवाफ छैन। सद्भावना पार्टीका प्रवक्ता रामनरेश रायले हिन्दीलाइ मधेशको सम्पर्कभाषा बनाउनुपर्ने भएकोले अहिले मधेशवासी सवैले आफ्नो मातृभाषालाइ छाडेर हिन्दीको विकासमा लाग्नुपरेको बताउनुभयो।
२०५८को राष्ट्रिय जनगणनामा १२;३प्रतिशतले मैथिली, ७;५३प्रतिशतले भोजपुरी, ५;८६प्रतिशतले थारू, २;४७प्रतिशतले अवधी र ०;४७प्रतिशतले हिन्दीलाइ आफ्नो मातृभाषा लेखाएका छन्। यो तथ्याङ्क हेर्दा नेपाल सरहदभरीमा हिन्दी मातृभाषा भएका नेपालीको संख्या आधा प्रतिशतपनि छैन।   मातृभाषा हिन्दी भएका नेपालीको संख्या नगण्य भएकोले राष्ट्रभाषा नेपाली नै सम्पर्क भाषा हुनसक्ने स्थिति प्रष्ट देखिंदादेखिंदै  हिन्दीको लागि किन मरिहत्ते गर्नुपर् यो ?  तराईमधेशलाइ पहाडेबाट अलग्याइने भएकोले नेपालीलाइ बिस्थापित गर्नकै लागि हिन्दी ल्याउनुपरेको उहाँहरुको मत थियो। यो भनेको दाज्यूभाइले झगडा गरेर आमालाइ किनारा लगाएको र पोइल पठाएको स्थिति हो। यो चरम साम्प्रदायिक र बिध्वंशात्मक सोच हो।
 करिव ५बर्षदेखि जव नेपालका ठूला कम्युनिष्ट पार्टीहरुले वर्ग छाडेर जातपात र सम्प्रदायको राजनीति गर्न थाले, तवदेखि नेपालीहरु आफूआफूमै बिभाजित भएर यदुवंशी बने। त्यसैको परिणामस्वरुप जात र सम्प्रदायको आवरणभित्र पुराना शोषक र ठालूहरु पुनर्स्थापित भए र आ-आफ्नो राज्यरजौटा निर्माण गर्न थाले।  अधिनायकत्व  कायम गर्न यिनीहरुले जनतामा भाषा लादे। केही बर्षअघि वीरगञ्जमा आयोजित बृहत आमसभामा मन्त्रीकै हैसियतमा राजेन्द्र महतोजीले तराईमा बसोबास गरिराखेका पहाडेहरु यहीं बस्ने होभने मधेशीको अधीनमा रहन तैयार हुनुपर्छ भनेर भाषण गरेका थिए। महन्थ ठाकुरजीले त मैले भनेअनुसार हुँदैनभने देशै टुक्र्याइदिन्छु भनेर २बर्षअघि नै घोषणा गरेका थिए, जस्लाइ सूत्रवाक्य बनाएर राजेन्द्र महतोजीले पचाशौंपटक दोहोर् याइसक्नुभएको छ। मधेशवादी दलका प्रमुखहरु भर्खर दिल्ली पुगेर फर्केका छन् र उहाँहरुले सम्बिधानसभाको म्याद थप्न नदिने र तराईका सशस्त्रसमूहसँग मिलेर बिध्वंश मच्चाउने उद्घोष गरिसकेका छन्।
 न्याय,समता र भातृत्वको जगमा उभ्याएर हामीले जुन समाज निर्माण गर्न लागेका छौं,त्यस्मा कुनै जातजाती,सम्प्रदाय, भाषाभाषी र बहुसंख्यकको दम्भ र उन्मादको शिकार गैरजातजाती र अल्पसंख्यकले हुनुनपर्ने हो। बहुसंख्यकले अल्पसंख्यकलाइ किनारा नलगाउने र अल्पसंख्यकले पनि आफूलाइ पक्षपात गरेको,उपेक्षा गरेको र हेपिएको महसुस गर्नुनपर्ने नयाँ नेपाल हामीले निर्माण गर्न लागेका थियौं। राजेन्द्र महतोजीले मन्त्री पदमा बसेर भन्नुभएजस्तो मधेशीले  कृपा गरेर पहाडेलाइ बस्न दिने र पहाडेले उनीहरुको दयामा बाँच्नुपर्ने लोकतन्त्र र नयाँ नेपालको कल्पना हामीले गरेका थिएनौं। दम्भ र उन्मादको आतङ्क र आक्रामकताको बलमा निर्माण गरिएको संरचना सुरक्षितपनि हुँदैन। प्रश्न मधेशी-पहाडे वा जातजातीको मात्र हैन, प्रश्न एउटा सिङ्गो राष्ट्रको हो, र राष्ट्र तवसम्म सुरक्षित हुँदैन, जवसम्म प्रत्येक समुदाय र हर नागरिकले सुरक्षित महसुस गर्दैन।
  “बाँदरबाट मानिस बन्न श्रमको भूमिका” मा एङ्गेल्सले आजको मान्छे कसरी रुपान्तरित भयो भन्ने त वर्णन गरे तर मान्छेबाट मान्छे कसरी टाढिए भनेर लेख्न भुले। हामीले आफूभित्र जति घृणा पाल्यौं र हाम्रो बिवेक हैन दम्भ बोल्न थाल्यो तव हाम्रै वीचमा ठूलठूला पर्खाल खडा हुन थाले। आज घृणाका कारोवारीले जातीवाद,नश्लवाद,भाषावाद,क्षेत्रवाद र साम्प्रदायिकतामा कुनचाहीं अश्त्र बढी मारक होला भनेर साँद लगाइरहेका छन्। घृणाका कारोवारी ती पुराना ठालूहरु हुन्, जोसँग रचनात्मकता मात्रै हैन नविन सोच,योजना र परिकल्पनापनि छैन। घृणासँग कुनै तर्कपनि हुँदैन। बिभाजित गर्ने र भिडाउने अनि त्यही वीचमा आफ्नो बर्चस्व कायम राख्नेबाहेक उनीहरुसँग बढी ज्ञान,बुद्धि र अनुभवपनि हुँदैन। अग्रगामी चिन्तन नहुने भएकोले जातपात,सम्प्रदाय,भाषा र धर्मको नाममा भिडाउनुबाहेक उनीहरुसँग अरु उपायपनि हुँदैन। यति नगरी उनीहरुको आधिपत्य जम्दापनि जम्दैन।
  एम एन राय जस्ता चिन्तक र एरिक फ्रम जस्ता मनोविश्लेषकहरुले साम्प्रदायिक,जातीवादी,नश्लवादी,क्षेत्रवादी र भाषावादी उन्माद सामुहिक अहंको अभिब्यक्ति हो भनेका छन् । एउटा साम्प्रदायिकले आफ्नै अकर्मण्यता,निस्कृयता,नपुङ्सकता र पलायनताको दोष अरुमाथि थोपर्न र आफ्नो लाजघीन छोप्नको लागि यस्तो पात्र खोज्न थाल्छ जो सङ्गठीत छैन र जस्माथी सोझै आक्रमण गर्न सकिन्छ। आफ्नो कमजोरी ढाक्दै कित उस्ले इतिहासतिर औंल्याइरहेको हुन्छ अथवा अर्को कुनै समुदायलाइ चोर औंला ठड्याइरहेको हुन्छ। कुण्ठा र अत्महीनताको सामुहिक अहंमा रुपान्तरण नै साम्प्रदायिकता हो। बिवेक हराएको खोक्रो हुने भएकोले साम्प्रदायिकता जैलेपनि उग्र र आक्रामक हुन्छ। जातीवाद,सम्प्रदायवाद,भाषावाद र क्षेत्रवाद यही सामूहिक अहंको भिन्न रुपमात्रै हो। साम्प्रदायिक र जातीवादीहरुको लागि एकदमै अड्मिल्दो के छभने एउटा मानिस कुनै जात वा सम्प्रदायसँग मात्रै सम्बन्धित हुँदैन। उ राष्ट्रको नागरिक, चिन्तक,दार्शनिक, ब्यवशायी, मायालु प्रेमी, अभिवावक तथा समाज र राष्ट्रको अगुवापनि हुन सक्छ। अर्थात् उस्को बिविध आयाम हुन्छ।  एउटा ब्यक्तिका बाँकि सवै पहिचानलाइ दबाएर र गौण गरेर जव एउटा मात्र पहिचानलाइ अद्वितीय घोषणा गरिन्छ र यही नै सवथोक हो भनेर प्रचार गरिन्छ, तव समस्या त्यहींबाट शुरु हुन्छ।
  साम्प्रदायिकताले उन्नतिपथमा लैजाँदो होत तराईको बितण्डामा लखेटिएका पहाडेहरुलाइ पूर्व-पश्चिम राजमार्ग र चुरेमाथिको पहाडे बस्तिमा स्वागत गरिएको हुन्थ्यो। लखेटिएका पहाडेहरुप्रति सहानुभूति राख्नुसट्टा घडेरीको दाम १०गुना र जग्गाको भाउ ५गुना बढाएर मानमाथि भुक्तमान थप्ने काम हुँदैनथ्यो। जातीयताले जोड्थ्योभने ०८सालमा पूर्वी पहाडबाट लखेटिएका बाहुनलाइ तराईका बाहुनहरुले सहजकर्ता बनेर ब्यवस्था मिलाइदिन्थे। काश्मीरबाट भगाइएका बाहुनहरुलाइ उत्तरप्रदेश वा राजस्थानका बाहुनहरुले घडेरी दिन्थे। नश्लवादले नजिक ल्याउँथ्योभने पाकिस्तानबाट खेदिएका पञ्जाबीहरुले पञ्जाब प्रान्तमै स्थान पाउने थिए। भारतका पञ्जाबीहरुले उल्टै उनीहरुलाइ “भाप्पे”, “झाँजी” भनेर खिसिट्युरी गर्दै चिढाउँदैनथे। उनीहरुको आश्रयस्थल दिल्ली, कानपुर र आगरा नभएर पञ्जाब हुन्थ्यो। धर्मको रसायनले मजबुत वनाउँथ्योभने मुम्बईबाट राज ठाकरे र बाल ठाकरेले उत्तर भारतका हिन्दूहरुलाइ धपाउँदैनथे।
  हिटलरले चलाएको नश्लीय साम्प्रदायिकताले क्षतिबाहेक कसैको हीत गरेन, राज ठाकरे, बाल ठाकरे तथा ओसामा विनलादेनले चलाएको धार्मिक साम्प्रदायिकताले मानवीय सभ्यतालाइ आहत पारेकै छभने नेपालमा राजेन्द्र महतोहरुले अभियान शुरु गरेको भाषिक साम्प्रदायिकताले पनि समाजलाइ नोक्सानबाहेक कुनै हीत गर्ने छैन।

  

No comments:

Post a Comment