Pages

Saturday, March 26, 2011

खाडी बिद्रोहको नेपालि पाठ ।


खाडी बिद्रोहको नेपाली पाठ
                  -आनन्दराम पौडेल /anandarampaudel@yahoo.com
     
                         
तीन दशकदेखि तानाशाही शासन चलाइरहेका ट्यूनिशिया,मिश्र र लिबियामा भएको जनबिद्रोहलाइ हामी निरपेक्ष भावले हेरिरहेछौं र तानाशाहहरुको गति यस्तै हुन्छ भनिरहेछौं। तर यो तानाशाहको बिरुद्ध मात्र बिद्रोह थिएन र भैरहेको छैन। यो त कुशासनको बिरुद्ध बिद्रोह हो। मिश्रकी बरिष्ठ लेखिका अहदफ सोइफले १९फेब्रुअरिको तहलकामा लेखेकी छिन्, “मिश्रको नेशनल डेमोक्रेटिक पार्टी भ्रष्टाचार र मनपरीको पर्याय बनेको छ र ठगहरुको अखडा भएको छ। निर्बाचनमा धाँधली खुलेआम हुन्छ। सरकारले स्वास्थ्य, शिक्षा, रोजगार, यातायात,आवास,न्याय र समाजकल्याणका क्षेत्रमा जनजीवनलाइ नरक बनाएको छ। उच्च पदाधिकारीहरुले राष्ट्रिय सम्पतिको ब्रम्हलूट गरेका छन्। राज्यका संस्था र सङ्गठनहरुलाइ खोक्रो बनाएका छन्।अहदफ सोइफले मिश्रको जुन स्थिति चित्रण गरेकी छिन् नेपालको राज्यब्यवस्था र नेतृत्वले देशलाइ त्योभन्दा भयावह स्थितिमा पुर् याएका छैनन् र ? त्यहाँ त भ्रष्टाचारले मात्रै देश आक्रान्त भएको रहेछ, तर नेपालको स्थिति त्योभन्दा धेरै गुना बढी भयावह छ। अहमद सोइफले उल्लेख गरेको सबै स्थिति त यहाँ बिद्यमान छ नै, त्यस्को अतिरिक्त अरु थप भयावह परिस्थितिहरु यहाँ निर्माण गरिएका छन्।शान्तिसुरक्षा छैन, अर्थतन्त्र धराशायी भैसकेको छ।सवैभन्दा प्रमुख कुरो नेपालमा सरकारै छैन । हरेक गाउँ र टोल-टोलमा युद्धसरदारहरु जन्मिएका छन् र हालिमुहाली र राजकाज तिनैको छ। कुनैपनि बेला कसैको अपहरण हुनु र हत्या हुनु सामान्य घटना भैसकेको छ। जो बचेका छन्, तिनीहरुलाइ अपहरण र हत्या गर्न आबश्यक नठानिएकोले मात्र बचेका हुन् भनेर सोचे हुन्छ।बाँध भत्किएपछिको पानीसरि प्रतिभा पलायन भैरहेछ।  बिदेशी लगानिकर्ताहरु बिकर्षित भएका छन्। पुराना उद्योग ब्यवशायीले अन्यत्रै पूँजी लान थालेका छन्। भर्खरै २हप्ताअघि बिनोद चौधरीले ३५अरब थाइल्याण्डमा र ८अरब भारतमा लगानी गरेको स्वीकारेका थिए।
भारतको प्रसिद्ध पत्रिका आउटलूकले २१फेब्रुअरीको अङ्कमा यस्तै प्रश्न उठाएको थियो। उस्ले लेखेको छ, “जुन अन्याय र कुशासनको बिरुद्ध तहरीर चौकमा जनताको आक्रोश उम्लियो, त्यो स्थिति हाम्रो देशमा पनि बिद्यमान छ, जस्तो-भ्रष्टाचार,बेरोजगारी, महँगी आदि।यदि २लाख जनता जन्तरमन्तर चौकमा उत्रिएभने सरकार कसरि पेश हुन्छ ? बिश्वकै ठूलो लोकतन्त्र भन्ने मन्त्र मात्रै रटाएर यसको उपचार हुन्छ ?” सामान्य जीवन बाँच्न सक्ने स्थिति भएको भारतमा त यसरि प्रश्न उठ्न थालेको छ। जबकि त्यहाँ सरकारले राशनकार्डको ब्यवस्था गरेको छ। यातायात सस्तो र सुलभ छ। किसानको मल,बिउ र सिंचाइको बिजुलीमा सरकारले अनुदान दिएको छ।भारतको जिडिपि ग्रोथ करिब ८%छ। बिश्वका बिकसित देशहरुको छेउछाउमा पुग्न लागेको छ। बिहारमा नितिश कुमारले पहिलो कार्यकालमै सुशासन कायम गर्न सफल भएका छन्। सुशासन हुनासाथ बिकासले आफैं गति पक्डिन्छ भन्ने उदाहरणको रुपमा बिहार प्रस्तुत भएको छ।अघिल्लो कार्यकालबाट उत्साहित भएका नितिशजीले जनताका गुनासा सुनुवाई गर्न र तुरुन्त टुङ्गो लगाउनको लागि ऐन बनाउन मस्यौदा पेश गरिसकेका छन्। यो ऐन अनुसार जनताका गुनासा र निबेदनको प्रकृति अनुरुप टुङ्गो लगाउने अवधि तय गरिने छ। यस्को अनुगमन राष्ट्रिय सतर्कता आयोगले गर्ने छ। अहिले भारतमा अरु राज्यले समेत् बिहारको अनुकरण गर्न थालेका छन्। यति हुँदाहुँदैपनि भारतमा किन असन्तुष्टि बढिरहेछ ? आउटलूकले किन त्यस्तो लेख्यो त ? यो असन्तुष्टीको कारण अर्थोक केही हैन, सामाजिक न्यायको अभाव र बितरणमा असमानता हो। देश जतिसुकै समृद्ध हुँदै गएपनि धनी झन्-झन् धनी हुँदै गएका छनभने गरीब झन्-झन् गरीब। अहिले चार औद्योगिक ग्रुपसँग एकचौथाइ राष्ट्रिय सम्पति जम्मा छभने कुपोषणको कारणले मृत्यु हुने साना नानीको संख्या २०लाखभन्दा बढी छ। असमान बितरण, चरम बिषमता, सामाजिक अन्याय र कुशासनको हिसावले भारत टक्रक्कै २भागमा बिभाजित छ-एउटा समृद्ध इण्डिया र अर्को बिपन्न भारत।
सुशासन हुनासाथ बिकासले आफैं गति पक्डिन्छ भन्ने पहिलो उदाहरण नितिश कुमार हैनन्। धेरैबर्ष पहिले फिलिपिन्समा राष्ट्रपति रामोन म्यागसेसेले सफल प्रयोग गरिसकेका थिए। म्याग्सेसेले जुनबेला सत्ताको बागडोर सम्हाले त्यसबेला फिलिपिन्सको स्थिति बर्तमान नेपालको भन्दा बढि नै बिग्रेको थियो।शान्तिसुरक्षा थिएन, भ्रष्टाचार,ढिलासुस्ती र अराजकता ब्याप्त थियो। असुरक्षा, अब्यवस्था,  भद्रगोल र मनपरीले राष्ट्रिय जीवनको हर क्षेत्र आक्रान्त थियो।सुशासन भयोभने यी सवै रोगको उपचार हुन्छ भनेर सोचे र म्यागसेसे त्यसैमा मात्र केन्द्रित भए। नभन्दै चमत्कारै भयो।अहिले बिहारमा जस्तै फिलिपिन्समा कायापलट भयो। एउटा नेतृत्व मात्र ठीक हुनासाथ सिङ्गै राष्ट्र वा सिष्टम वा संस्थामा कसरी जीवनरस सञ्चार हुँदोरहेछ भन्ने उदाहरणको नमूना रामोन म्यागसेसे, नितीश कुमार र नेपालका बर्तमान प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ भएका छन्।
  खाडी मुलुकमा बिद्रोहका कारकतत्वहरु जे थिए ती भारतमा बिद्यमान रहेकाले भारतमा बिद्रोहको सम्भावना छ भनेर आउटलूकले लेखेपनि त्यहाँ बिद्रोहको सम्भावना तत्काल देखिंदैन। न्याय पाउने बैकल्पिक उपाय र अन्तिम आशा बाँकि रहेसम्म मान्छे बिद्रोहमै उत्रिहाल्दैन। त्यहाँ अति न्यून आय भएका ब्यक्तिले समेत् जीवन निर्बाह गर्न सक्छ। ढिलो भएपनि न्याय पाइने सम्भावना छ। नागरिक समाजको पनि सशक्त उपस्थिति छ। अन्यायमा पर्ने ब्यक्ति वा समुदायको पक्षमा मेडिया खडा हुन्छ र मेडियाले उठाएको बिषयप्रति राष्ट्र चनाखो हुन्छ। मेडियाले कोट्याएको बिषयमा सरकारी निकायले समेत् बिशेष ध्यान दिन थाल्छन्। भर्खरै राष्ट्रिय सतर्कता आयोगको प्रमुखमा नियुक्त गरिएका ब्यक्तिका बिषयमा मेडियाले केही प्रश्न उठाएपछि नियुक्ति रद्द गरियो। भारतमा हैन, बरु नेपालमा बिद्रोहको सम्भावना यथेष्ट छ। यसअघिको सरकारले गर्नुपर्ने कामचाहीं खासै केही गरेन, गर्न नहुने जति सबै गर् यो । डेढबर्ष राष्ट्र पूरै आक्रान्त रह्यो। मेडियाले कराइरह्यो,चिच्याइरह्यो तर अहँ कसैले सुनेन।सुजाता कोईराला, दिपक बोहोरा, महमद अफ्ताव आलम, शिक्षा मन्त्री लगायत सबै ब्रम्हलूटमै तल्लीन थिए। एकोहोरो अत्याचार भैरहने तर सुनुवाई कतै नहुने भएपछि खाडी मुलुकमा भैरहेको बिद्रोहको झिल्का नेपालमा सल्कन बेर लाग्दैन।
   बर्तमान सरकार बामपन्थीहरुको एकलौटी सरकार हो,यो शक्तिसाली सरकार हो र राष्ट्रिय जीवनको ऐतिहासिक क्षण हो। यस्तो सुनौलो अवसरलाइ पनि सदुपयोग गर्दैनन् भने ठोकुवा गरे हुन्छ,यिनीहरुले राष्ट्रनिर्माण गर्दैनन्।
 
 
   
       

No comments:

Post a Comment