Pages

Saturday, January 7, 2012

सधैंका अकिञ्चन यी "अन्य"


सधैंका अकिञ्चन यी अन्य
                      -आनन्दराम पौडेल
                      anandarampaudel@yahoo.com      
“यी बाहुन,क्षेत्री र दशनामीलाइ अन्यमा राखेकोमा जताततै प्रश्न उठेकोछ र प्रश्नको सामना गर्न गाहारो परिरहेछ ” विवाद समाधान समितिको वैठकमा प्रचण्डले भने। पुरानो कोर्सको ९कक्षाको अङ्ग्रेजीमा ‘नेहरुज लेटर’ पुस्तक पढ्नुपर्थ्यो। ईन्दिरालाइ एउटा चिठीमा नेहरुले लेखेका छन्, “कुनैपनि यस्तो काम नगर्नु जस्ले गर्दा डायरी लुकाउनुपरोस् र दुनिञाको सामना गर्न गाहारो होस्।” तर हाम्रा नेताहरुले त्यही-त्यही काम गरे जस्बाट वच्नु भनेर पूर्वजले भनेका थिए। हाम्रा नेताहरु तत्कालिकतामा गए। भोटको लागि जेपनि गर्ने भए। दायित्वहीन र जवाफदेहीविहीन भएर पपुलिष्ट राजनीति गर्न थाले।
  सैद्धान्तिक आधारभूमि छाड्नु भनेको राजनीतिले मूलबाटो छाड्नु हो र मूलबाटो छाडेपछि भट्किने नै हो। नेपालका कम्युनिष्टहरुले जव वर्गसङ्घर्ष छाडे त्यसपछि राजनीतिले जातपात,धर्म र सम्प्रदायमा आश्रय खोज्न पुगेको हो। समाजमा भट्किएकाहरु झल्याकझुलुक्,चकाचौंध र रिमझिममै रमाउँछन र त्यहीं हराउँछन् पनि। अहिले नेपालमा रिमझिम त्यतै छ,जहाँ डलर र युरोले मलजल गरेको छ। इण्टर्नेशनल लेवर अर्गनाईजेशन,ग्लोबल पिस फाउण्डेशन, म्यूजियम अफ चाईल्डहुड युके,पर्मानेण्ट फोरम अन इण्डिजिनीयस इस्यू,युनाइटेड नेबरहुड्स अफ सन्तक्लारा काउण्टी, वर्ल्ड इण्डिजिनियस सम्मिट,डेमोक्रेसी विदाउट भ्वाइलेन्स एगेन्स्ट वुमन, वेस्टर्न अस्ट्रेलियन म्यूजियम,डिएफआइडी जस्ता संस्थाहरुले डलर र यूरोले मलजल गरेर जातीय विद्वेषको रोपाईं गरे। एकआपसमा घुलमिल भएर भाईचाराको सम्बन्धमा विकसित भएको नेपाली समाजलाई जात-जातमा र धर्म-सम्प्रदायमा विभाजित गरेर भिडाउने गेमप्लानको खेल चल्यो। अमेरिकालगायत साम्राज्यवादी समूहले बिश्वबाट कम्युनिष्ट उन्मूलन गर्ने अभियानलाइ आफ्नो कार्यसूचीको पहिलो प्राथमिकतामा राख्दै आएका थिए। कम्युनिष्ट आन्दोलनलाइ समाप्त पार्न जातीय र साम्प्रदायिक राजनीति बराबर अचुक अस्त्र अरु हुनै सक्दैन भन्ने धेरै प्रयोगबाट सिद्ध भैसकेको थियो। दुखद विडम्बना के रह्योभने नेपालका कम्युनिष्टहरु, कतिले जानेर र कतिले पत्तै नपाई, साम्राज्यवादीको औजार बन्न पुगे। वर्गसङ्घर्षलाइ भुसुक्कै विर्से र जातीय साम्प्रदायिक अभियानमा कुदे।
   १हप्ताअघि ईमेज एफएम र कान्तिपुर एफएमको हेडलाइनर्सले ‘प्रचण्डले बाहुन,क्षेत्री र दशनामीलाइ अन्यबाट झिक्न खोजेछननि’ भनि लक्ष्मणलाल कर्णलाइ प्रश्न सोधेकोमा २४० बर्षदेखि तर मारेर वसेका यी समुदायलाइ सवै अवसरबाट वञ्चित गर्नैपर्छ भने। यो पङ्क्तिकारले तराईमै वसेर पढ्यो र लामो कालखण्ड तराईमै वसेर वितायो। रापती,भेरी,कर्णाली र सेती अञ्चलका उच्च पहाडी गाउँवस्तीका घर-घरमा यो लेखक पुग्यो। यी पहाडी वस्तीका जैसी,बाहुन,क्षेत्री,ठकुरी र दशनामीको चरम दरिद्र अवस्था, कठोर जीवन,अभावैअभाव र कहालिलाग्दो स्थिति देखेर हृदय चिरिएको थियो। तिनीहरुको टीठलाग्दो हालत सम्झँदा अहिलेपनि भक्कानो छुट्ला जस्तो हुन्छ। यातायातको सुगमताले गर्दा तराईमा त अवसरको सम्भावना खोज्न सकिन्छ भन्ने लाग्थ्यो, तर ती क्षेत्रमा निस्पट्ट अन्धकार बाहेक सम्भावनाका छिर्कासम्म भेटिंदैनथ्यो। डिल्लीवजार-पुतलीसडक चौकमा सधैं भेटिने भरियाहरुसँग चिया खुवाउँदै अलग-अलग कुराकानी गरेको छु। ६जना भरियामध्ये ३जना बाहुन र २जना क्षेत्री र १जना तामाङ थिए र सवै दोलखा र रामेछापका थिए। ती बाहुनक्षेत्रीहरु भैंसीको मम खान्थे, जनै फुकालेर कोठामा राखेका थिए र घर जाने वेलामा मात्र जनै लगाउँथे। ईमेज एफएम र कान्तिपुर एफएममा लक्ष्मणलाल कर्णका उपरोक्त आरोप सुनिरहँदा मैले रापती,भेरी,कर्णाली र सेती अञ्चलका उच्च पहाडी भेगका ती “अन्य” तथा डिल्लीवजारमा सधैं भेटिने ती “अन्य”लाइ झल्झलि सम्झें। यिनीहरुका पितापुर्खाले कहिले र कुनवेला तर मार्न पाए होलान् ? ती अकिञ्चन विचराहरुलाई हाम्रोपनि देश छ, हाम्रो नाममा बनेको सरकार छ हाम्रो लागि सोच्ने कोही छ भन्नेसम्म पनि महसुस भएन। तिनीहरुको लागि देश आफ्नो तर राज्य पराई भैरह्यो। सरकार त उनीहरुका लागि अजङ्गको भयङ्कर डरलाग्दो जीव बनेर रह्यो। बालिष्टामा वसेर बोसेआन्द्रा लागेका यी राजनीतिकर्मीहरुलाइ एकपल्ट देशदर्शन गराउन लैजान पाए यथार्थ हालत देख्ने थिए भनेर सोचें।
      सानैमा एउटा दन्त्यकथा पढेका थियौं। निर्दोष प्राणीलाइ मार्न पाइन्न भन्ने उर्दी थियो। आहाराको खोजीमा निस्केको ब्वाँसोले एउटा बोको भेट्यो। दोष लगाउन अरु निहुँ देखेन। छेवैमा खोला धमिलिएको थियो। “यो खोला किन धमिल्याएको ?” ब्वाँसोले आरोप लगायो। “म खोलामा गएकै छैन” बोकाले जवाफ दियो। “तैंले नधमिल्याएको भए तेरा बाउ,बाजेले धमिल्याए होलान्” यति दोष लगायो र झम्टेर मा-यो। यी “अन्य”हरुलाइ यसैगरी आरोपित गरिएको छ। पचाश,शय वा डेढशय बर्षअघि कुनै जमानामा,इतिहासको कुनै क्षणमा तेरै जातको कुनै अमुक ब्यक्तिले राज्यबाट अवसर र लाभ पाएको थियो,तँ त्यही जातको पर्न गएको हुनाले त्यस्को हिसाव अहिले तैंले चुक्ता गर्नुपर्छ भनेर निचोरनाचर पारिरहेछन्।
    सर्वसाधारण जनताले पीडाको उच्छ्वाश पोखिरहे,तर नेताहरुले कहिल्यै सुनेनन्। अति दरिद्र परिवारका लागि राज्यले दुईटामात्र काम गरिदेवोस् भनेर वहुदल आएदेखि निरन्तर आग्रह ग-यौं। ती परिवारको स्वास्थ्यउपचार विमा गरिदिने र ७५प्रतिशत प्रिमियम सरकारले तिरिदिने। दोश्रो,तिनीहरुका सन्तानलाई स्नातकोत्तर सम्म छात्रवृत्ति दिएरै राज्यले पढाइदिने। यतिमात्र गरिदिएको भए १०\१२ बर्षपछि त्यस्को नतिजा देखिन थाल्थ्यो। ४ बर्षअघि आरक्षणको कुरा चल्दापनि जात हेरेर हैन,सामर्थ्य हेरेर आरक्षण गर्नुपर्छ भनेका ह्वौं। वेला-वेलामा प्रकाशित भैरहेका मानव विकास सूचकाङ्क अनुसार पनि नेवार,थकाली,मनाङ्गेहरु एकदमै क्रिमी लेयरमा पर्छन्। हुन त भारतको आरक्षणप्रणाली एकदमै अवैज्ञानिक र अन्यायपूर्ण छ भनि शुरुदेखि नै चर्को आलोचना भैरहेकै छ, तैपनि त्यहाँ केही विवेकविचार पु-याएको देखिन्छ। जुन परिवारको बार्षिक आय साढेचार लाख छ,अथवा जस्को आमा वा बुवाको द्वितीय श्रेणी वा सो सरहको नोकरी छ, अथवा जुन परिवारसँग हदवन्दीको ८५प्रतिशत सिंचाईयोग्य जमिन छ भने अनुसूचित जाती भएपनि तिनीहरुले आरक्षण पाउँदैनन्। हाम्रो सरकारलाइ अति दरिद्र परिवारको तथ्याङ्क सङ्कलन गर्न झण्झट लाग्छभने मानव शास्त्रका प्राध्यापक टङ्क सुब्बाजीले भन्नुभए जस्तै हरेक गाउँमा प्रत्येक बर्ष गाउँलेको भेला वोलाउने र त्यहीं अति दरिद्र परिवारको छनौट गरी राज्यले सुविधा दिने गर्न सक्छ।
    ‘मुर्दामाथि कात्रो’ भनेझैं वर्तमान सरकारले अर्को उपद्रो गर्न लागेको छ। अहिले दिईराखेको ४५ प्रतिशत आरक्षणमध्ये पहाडेको भागमा पर्न गएको आरक्षण कोटाबाट केकति खोस्न सकिन्छ भनेर मधेशी मोर्चाको दबावमा डा.बाबुराम भट्टराईजीले आँखा लाएका छन्। अति दूर्गमका वासिन्दालाइ दिएको आरक्षण कोटा पूरै खोस्ने र पहाडे महिलाले पाएको आरक्षणलाइ सङ्कुचित गरी तराईमा थप्ने भयङ्कर कसरत भैरहेछ। यो उल्टो विभेदीकरणले कस्लाई कहाँ प-याउने हो ? सत्तामा टिक्न कसैलाइ रिझाउनुपर्ने भएकोले विवेकविचारलाइ फालेर, तथ्यलाइ कुल्चेर, वस्तुनिष्ठतालाइ हुत्याएर र वैज्ञानिक न्यायप्रणालीलाइ विर्सेर हचुवामा गरिने यस्ता निर्णयले मुतको न्यानो त होला,तर यस्को मूल्य राष्ट्रलाइ भारी पर्ने छ।
   तत्कालिन रुसमा लेनिनले क्षणिक राजनीतिक लाभ लिनका लागि जात-जातलाइ उचाले। त्यो देखेर असह्य भएपछि रोजा लक्जमबर्गले सन १९१८मा “रूसी क्रान्तिमा जातीय प्रश्न” शिर्षकको विश्लेषणात्मक गहन लेख लेखेकी थिइन्। वर्गीय समाजमा हरेक जातीभित्र विपरित स्वार्थ भएका वर्गहरु हुन्छन्। त्यसैले कुनै जातीले विशेष अधिकार पायो भनेपनि त्यसभित्रको सामन्ती र वुर्जुवा वर्गले आफ्नो स्वार्थका लागि त्यो अधिकारलाइ क्रान्तिविरुद्ध प्रयोग गर्ने हुँदा वोल्सेभिकहरुको जातीय आकांक्षा बढाउने नीतिले प्रतिक्रान्तिलाइ सहज वनाउने छ र समाजवादलाइ कमजोर पार्ने छ भनेकी थिइन्।
   भर्खर ४ बर्षअघि गरेको गल्तीले अहिले औंलो ठड्याउन थाल्यो भनेर प्रचण्डजीले भन्नुभए जस्तै आज गर्ने गल्ती भोली झन् भारी पर्नेछ।
शनिवार, जनवरी 07, 2012    
      
   
  

No comments:

Post a Comment