Pages

Wednesday, December 22, 2010

दिगेन्द्रहरु त अट्तैनन् यहाँ।

दिगेन्द्रहरू त अट्तैनन् यहाँ
आनन्दराम पौडेल
anandarampaudel@yahoo.com

एक हप्ता अघि दिगेन्द्र राजबंशीका छोराले पनि आत्महत्या गरे। दिगेन्द्रले त ४महिना अघि नै नेकपा एमालेको पार्टी कार्यालय बल्खुमा झुन्डिएर मृत्युवरण गरेका थिए।
दिगेन्द्र राजबंशी समान्य कार्यकर्ता थिएनन्,धेरै दु:ख सङ्घर्ष गरेका ऐतिहासिक ब्यक्ति थिए।नेकपा माले (पछि एमाले ) को पार्टी सङ्गठन र प्रजातान्त्रिक आन्दोलनमा होमिएर पञ्चायत कालमा ९बर्ष जेल परेका थिए।२०६२-०६३को आन्दोलनमा उनको खुट्टामा गोली लागेको थियो।जीवनभरी पार्टी,लोकतन्त्र र आन्दोललन भनेर कुद्दाकुद्दै घरको आर्थिक स्थिति जर्जर भैसकेको थियो। घरको दयनीय हालत देखेरै एमाले झापा जिल्ला कमिटीले आफ्नो पार्टीको सरकार भएका बखत छोराको जागीर लाग्न सक्छ भनेर करिव ७महिना अघि काठमाडौं पठाएका थिए।
दिगेन्द्र काठमाडौंमा ३महिना बसे।सात जूनीमा नपाउने हण्डर,गोता र ह्यूमिलेशनको अनुभव उनले त्यो तीन महिनामा पाए।हरेक दिन उनी प्रधानमन्त्री लगायत मन्त्री र नेताका घर-घर पुग्थे।नेताहरू कुरा ठूलठूला गर्थे, मुखै रसाउने स्वादीला आश्वासन बाँड्थे, तर काम गर्दैनथे।काम गर्दैनथे हैन गर्थे, तर सवै आफ्नो लागि,परिवारका लागि,कुटुम्बका लागि र गुटका लागि गर्थे।यतिका सवका लागि गर्दागर्दै देश र जनताका लागि गर्न भ्याउँदैनथे।त्यसैले,देश र जनतालाइ भुलाउन आश्वासनका गुलीया पोकाहरू बाँड्ने गर्थे।
तीन महिनाको काठमाडौं बसाईमा दिगेन्द्रले आफना नेताहरूको सक्कली रूप छर्लङ्ग देखे।आफैंजस्ता सिदासादा र सोझा कार्यकर्तालाइ भर् याङ बनाएर नेताहरू उक्लिरहेको देखे।एक र अर्को पार्टीका कार्यकर्तालाई बाहिर भिडाएर तिनै पार्टीका नेताहरू भित्र कोठामा चियर्स गरिरहेको देखे। बाह्रै महिना बाह्रै काल सर्वहाराको मन्त्र जप्ने नेताहरु नयाँ सम्भ्रान्त बर्गमा रुपान्तरित भएको देखे।शक्तिको होडवाजीमा भीड्न समाजबाट बहिस्कृत र तिरस्कृत गुण्डा,बदमास र अपराधीलाइ काखी च्यापेको देखे।मिलोभान जिलासको “दि न्यू क्लास” यहाँ सार्थक भएछ भन्ठाने।पार्टीको आकार बढाउन बोक्राछोक्रा,घाँसपात र भुस सवै बटुलेको देखे।बर्ग सङ्घर्षको जगमा उभिएर कम्युनिष्ट पार्टी निर्माण हुन्छ भन्ने पढेर,सुनेर र बुझेर आएका दिगेन्द्रले बर्ग छाडेर जातपात,धर्म,सम्प्रदायको राजनीतिमा कुदिरहेको देखे।जातपात,धर्म र सम्प्रदायलाइ राजनीतिक आवरण दिएर त्यसैको आडमा हिजोका शोषक,सामन्त र ठालूहरु पुनर्स्थापित भएका र तिनैलाइ नविकरण गरिएको देखे।समग्रमा छट्टु,धूर्त र चलाकहरुकै हालिमुहाली चलेको तथा सोझा,सिधा र इमान्दारहरु पल्लो छेउमा ट्वाल्ल परेको देखे।
“जनतन्त्र,जनजीविका र राष्ट्रियता”को उद् घोष गर्दै यसैको लागि भनेर २००६ सालदेखि आन्दोलनको मैदानमा डटिरहेको कम्युनिष्ट पार्टीका नेताहरुको शिरबाट तीनवटै तारा फुतुफुतु खसेको देखे। पञ्चायती
शैलीको शासनपद्धतिलाइ निरन्तरता दिन थालेपछि जनतन्त्र तारा खस्यो,भ्रष्टाचारी,तस्कर र माफियालाइ
भान्छामै हुलेपछि जनजीविकाको तारा खस्यो र महाकाली तरेर नागरिकता ऐन बनाएपछि राष्ट्रियताको तारा खस्यो।
काठमाडौं आएर दिगेन्द्रलाइ केही भएको थिएन।दुइ छाक खाने र सुत्ने ब्यवस्था थियो।प्रौढ भएपनि शारिरीक तवरमा स्वस्थ थिए।एउटा पनि काम भएन,तर आश्वासन प्रचूर पाइरहेकै थिए।काठमाडौं आएर भ्रमका पर्दा च्यातिंदै गएको थियो।शब्द र कर्म बीचको अन्तर प्रष्ट देख्न र अनुभव गर्न पाएका थिए। यथार्थवोध गर्ने मौका जुरेको थियो।त्यही यथार्थसँगको साक्षात्कार नै तिनलाइ भारी पर् यो।यथार्थसँगको साक्षात्कारले तिनलाइ मोहभङ्गमा पुर् यायो र त्यही नै तिनलाइ काल भयो।
दिगेन्द्र राजबंशीले चेतना पसेदेखि नै एउटा प्रष्ट सपना र दह्रो बिश्वास बोकेर बसेका रहेछन्। जीवनभरीको सङ्घर्ष, यत्रा आन्दोलन र परिवर्तनपछि पिल्सिएका र पिसिएका सीमान्त बर्गको पक्षमा राज्य र समाज ढल्क्यो होला भन्ठानेका रहेछन्।तर,काठमाडौं आएपछि पुरै राज्यब्यवस्था सीमान्त बर्गबाट धेरै टाढा पुगेको तिनले देखे। अस्तिसम्म सङ्घर्षका दिनमा सँगससँगै काम गरेका र एउटै भान्छामा खाएर एउटै बिछ्यौनामा सुतेका सहयोद्धा कमरेडहरु केहीलाइ आत्मलीन गरेर ब्यवस्थाले आफूलाइ खिसिट्युरी गरेको र हियाएको सर्वत्र अनुभव गरे।
दिगेन्द्र राजबंशीलाइ आत्महत्या गर्नुपर्ने स्थितिमा पुर् याउनु हुँदैनथ्यो,उनलाइ बचाउनु पर्थ्यो भन्नेहरु धेरै छन्।उनलाइ बचाउन त झापाको त्यही गाउँमैं अल्मल्याएर राख्नुपर्थ्यो, जहाँ तिनी मिठो सपना काखी च्यापेर पूर्व क्षितीजतिर आँखा लाइरहेका थिए।अगुवाहरू बिग्रे,आन्दोलन बिसाएर ठालू,शोषक,सामन्ती,भ्रष्टाचारी,तस्कर र माफियासँग हात मिलाउन गए भनेर कसैले सुनाउँदा हाम्रा नेता त्यस्ता छैनन् भन्दै उल्टै चिथोर्न जान्थे।नेताको मात्र कुरा सुन्थे,अरुलाइ पत्याउँदैनथे।यथार्थलाइ पन्छाएर
भ्रमको दुनियाँमा कमसेकम तिनको प्राण त बचिरहेको थियो र अझै धेरै बर्ष तिनी बाँच्थे।
दयाशङ्कर मुन्शीपनि त दिगेन्द्र राजबंशी जत्तिकै प्रजातन्त्रको लागि जीवन होमेका सङ्घर्षशील योद्धा र तपस्वी नै थिए।अझ उनी त नेपाली काङ्ग्रेसका संस्थापक नेता नै थिए।कसैले नसम्झेको र कसैले खोजखवर नगरेको दयाशङ्करलाइ केही बर्षअघि कपिलबस्तुको एउटा गाउँमा भेट्दा कृष्ण पोख्रेल लगायत पत्रकारहरु छक्क परेका थिए। धन्न नेपाली काङ्ग्रेसले बुद्धि पुर् यायो।दयाशङ्करलाइ काठमाडौं ल्याएर यथार्थ बास्तविकतालाइ ह्वाङ्गै देखाउने काम गरेन।यथार्थसँग साक्षात्कार गराएको भए तिनको पनि स्वाभाविक मृत्यु हुने थिएन।उनको पनि बिश्वासमा आघात पुग्थ्यो,मोहभङ्ग हुन्थ्यो र दिगेन्द्रकै गति हुन्थ्यो।अथवा, आफ्नै सपना ओइलाउँदै गएको टुलुटलु हेर्न बिवश शिवप्रसाद कङ्गालको गति हुन्थ्यो।
दिगेन्द्र राजबंशीले आत्महत्या गरे भनेर मेडियामा समाचार आयो।“प्रतिगमन आधा सच्चियो” भनेजस्तै यो समाचारमा पनि सत्यता थिएन।सत्य के थियो भने दिगेन्द्र राजबंशी मारिएका थिए।उनलाइ आफ्ना भन्नेले नै मारेका थिए।सङ्घर्षको मोर्चामा हिजो सँगै हिंडेका सहयोद्धा कमरेडले मारेका थिए।ती सहयोद्धा जस्ले सपना तुहाए,अन्तर्घात् गरे र बिश्वास चक्नाचुर पारे,तिनैले दिगेन्द्रलाइ मारे।सपना तुहाएर
बिश्वास भत्काएपछि एउटा योद्धा कतिन्जेल बाँच्छ ? दिगेन्द्रको बाँच्ने आधार सवै समाप्त पारेर मृत्युको मुखमा पुर् याउने तिनीहरुमाथि कारवाही हुनुपर्ने होकि हैन, कानुन ब्यवसायीले भनुन्।“जुरिस्प्रुडेन्स”ले के भन्छ,न्यायबिद र बिधिशास्त्रीहरुले केलाउन्।एउटा जीवन्त नागरिकको बाँच्ने आधार समाप्त पारिदिएको बिषयमा मानव अधिकारका शास्त्रले के भन्छ,मानव अधिकारकर्मीले बुझुन्।पञ्चायतकाल र ज्ञानेन्द्रकालमा
समेत नढलेको त्यो सतिसाल गणतन्त्रमा आएर किन ढल्यो,राजनीतिक अभियन्ताहरुले निस्कर्ष निकालुन्।एउटा मानिस हाडमासुको शरीर र एकमुठी सास मात्र हैनभने उस्का सपना र बिश्वाससम्म पुगेर
मेडियाले समाचार दिउन्।आफूलाइ सचेत र जिम्मेवार ठान्ने नागरिक अगुवाहरुले हजारौं दिगेन्द्रहरु जो पल-पल मरिरहेछन् तिनीहरूको बारेमा सोचुन्।

No comments:

Post a Comment