Pages

Monday, January 17, 2011

फासिबादको नेपाली संस्करण ।


फासिबादको नेपाली संस्करण
                                      -आनन्दराम पौडेल
                                 anandarampaudel@yahoo.com        

   बनेपाका यातायात ब्यवशायी साहुहरुलाइ आफ्नो बस्तीछेउको राजमार्ग एकलौटी कब्जा गर्ने इच्छा जाग्यो। इच्छा जाग्नु के थियो,उनीहरु सडकमा निस्के र जिल्लाबाहिरबाट आएका बसहरुलाइ तोडफोड गर्न थालिहाले। ड्राइभरलाइ भक्कुमार गोदे र गाडीको स्टेरिङ्गमा साङ्लाले बाँधे। अन्यायमा परेका बसधनीहरु प्रहरी कार्यालयमा गएका थिए, प्रहरीले तिनै तोडफोड गर्ने समूहकहाँ जानु र मिल्नु भनेर मिठो उपदेश दिएर पठायो। काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष सुरकृष्ण बैद्यले हामीले रोड कब्जा गर्ने इच्छा गरिसकेपछि तिनीहरुले हाम्रो अनुमति लिन आउनुपर्थ्यो भने। काभ्रेका साहूहरुको मनोमानीकै अनुशरण गरेर कैलालीका साहूहरुपनि हाम्फाल्दै रोड कब्जा गर्न आइपुगे। रोड कब्जालाइ ब्यवस्थित गर्न उनीहरुले मुन्द्रे-गुण्डाहरु तैनाथ गरे। गुण्डा र राजनीतिक नेताहरुलाइ पोस्न ब्यापारी र उद्योगपतिबाट जबर्जस्ति असुली गर्न थाले ।कैलालीका साहूहरुलाइ रोड कब्जा गर्न हरि ज्ञवाली अखण्ड लगायतका एमाओबादी नेताहरुले खुलेरै सहयोग गरे।  हरि ज्ञवालीले बलात् सडक कब्जा गर्ने  यातायात ब्यवसायीलाइ खुलेर सहयोग गरेको देखेपछि नेकपा एमालेका नेताहरु देवबहादुर बम र यज्ञ बाँस्तोलापनि सण्डमुसण्डकै पक्षमा सकृय भए। काभ्रे र कैलालीकै जस्तो बलात् कब्जाको स्थिति गोर्खा,पोखरा,तातोपानीलगायत् यत्रतत्र सर्बत्र छ।
    हामी सर्वसाधारण जनताले सत्ता भन्नासाथ राज्यसत्ता मात्रै र सत्तावान भन्नासाथ राज्यसञ्चालनको निर्णायक स्थानमा रहनेलाइ मात्र बुझ्छौं। पार्टीभित्रको सत्ता र सत्तावानहरु, संस्था र सङ्गठनका सत्ता र सत्तावानहरु, घरपरिवार भित्रको सत्ता र सत्तावानहरु, समाजका पिठाधीश र मठाधीशहरु, डनहरु, राष्ट्रिय स्तरका र स्थानीय स्तरका गैरसम्बैधानिक शक्तिकेन्द्रहरु तथा सिण्डिकेट र कार्टेलिङ खडा गर्ने ब्यवसायिक सण्डमुसण्डहरुले जबर्जस्ती पक्डेको सत्ताको लगामलाइ हामी भुल्छौं। ४बर्षयता नेपालमा बाढीसरी उर्लेर आएको जातीय अहङ्कार  र त्यस्ले समाजलाइ मुठ्ठीभित्र जक्डन खोजेको योजनालाइ पनि हामी नजरअन्दाज गर्छौं। सत्ता भन्नासाथ राज्यसत्ता मात्रै सम्झने गरेकाले फासिबाद, सर्वसत्ताबाद र तानाशाहीकरणलाइ पनि हामी राज्यसत्तासँगै जोडेर हेर्छौं। सामाजिक फासिबाद, जातीय-साम्प्रदायीक फासिबाद, क्षेत्रीय फासिबाद र ब्यवसायिक फासिबाद झन चर्को र खपिनसक्नु हुन्छ भनेर हामीले छुट्ट्याएर महसुसै गर्दैनौं।
     फासिबाद यस्तो दर्शन हो, जस्ले आफ्नो सोचलाइ सर्वोपरी ठान्छ र असहमतीको अधिकारलाइ अस्वीकार गर्छ। असहमतीलाइ अस्वीकार मात्रै हैन, मूल गेटबाटै निषेध गर्छ। निषेध मात्र गरेर पुग्दैन त्यस्को अस्तित्वै नामेट पार्न खोज्छ। त्यस्को लागि दमनको जाँतो चलाउँछ। राज्यसत्तामा घोषित रुपमै प्रयोग गरिएको हुनाले आजपनि हामी फासिबाद भन्नासाथ हिटलरकालको जर्मनी र मुसोलिनीकालको इटालीलाइ सम्झन पुग्छौं। उनीहरुले राज्यसत्तामै प्रयोग गरेको कारणले बढी टड्कारो भएर देखिएको मात्रै हो। सुक्ष्म दृष्टिले नियालेर हेर्ने होभने जनजीवनका हर क्षेत्र र आयाममा आजपनि उत्तिकै सकृय मुसोलिनी र हिटलरहरु झन् बिकराल छन्। आफूलाइ मनपर्ने कुरा मात्रै बोल्नुपर्नेमा फरक पर्ने कुरा गर् यो रे भनेर पोहोर काठमाडौंमा र यस्पाली झापामा राष्ट्रिय जनमोर्चामाथि आक्रमण गर्ने नेवा मुक्तिमोर्चा तथा लिम्बुवान-खम्बुवान राज्यपरिषदहरु झन चर्का फासिबादी हुन्। हिटलर मुसोलिनीकालभन्दा जटील र भयङ्कर स्थिति कसरी बनेको छभने त्यसबखत उनीहरुको फासिबाद घोषित र प्रष्ट थियो। प्रष्टसँग आएकोले त्यस्ले के गर्न खोज्दै छ र आफूले के गर्नुपर्ला भनेर रणनीति तय गर्न सकिन्थ्यो। आज यो क्षणमा पब्लिक कन्ज्युमका लागि लोकतन्त्र,सामाजिक न्याय र समतामूलक समाजको झ्याली पिट्ने राजनीतिक पार्टीकै संरक्षण र उनीहरुकै मलजलमा फासिबाद हलक्क बढिरहेको र झ्याङ्गिएर फैलिरहेको देख्नुपर्दा पो दुनीयाँलाइ बढी सकस भएको हो। फासिबाद नयाँ अनुहार,रुपरङ्ग, चालढाल र शैलीमा जुन देखा परिरहेछ त्यस्लाइ बुझ्न नसकेर दुनीयाँ अहिले कुहिराको काग भएको छ। फासिबादको नेपाली संस्करण तैयार भैसकेको छ,जुन सर्बत्र उपलब्ध छ। फासिबादको नेपाली संस्करणलाइ लागू गर्दै अहिले हरेक पार्टी र नेता आफुलाइ ओभरइस्टिमेट र अर्कोलाइ अण्डरइस्टिमेट गर्न तल्लीन छन्।
      ८बर्षअघि नोबेल पुरस्कार प्राप्त गर्ने हङ्गेरी कथाकार इमरे कार्तेज भन्छन्, दम्भ,उन्माद,
हिंसा र दमन कुनै नयाँ खोज हैन। तर, ब्यवस्थित सर्वसत्ताबाद जसरी पूर्ण तैयारीसँग आउँछ र हाम्रो नियमित जीवनको वरपर एउटा ब्यवस्था बनेर स्थापित हुन्छ, तव योचाहीं पक्कै नौलो बिषय बन्न पुग्छ। हिंसा र दमनलाइ स्वीकारिएको छ। जनजीवनलाइ यसरी अभ्यस्त बनाउँदै लगिएको छकि हिंस्रक संस्कृतिपनि चल्न सक्छ; यहीभित्र कतै बाँच्ने स्थान फेला पार्न सकिन्छ र अन्ततोगत्वा जीवनप्रणाली बन्न सक्छ। प्रसिद्ध उपन्यास क्याडिश फर ए चाइल्ड नट बर्न मा  कार्तेज भन्छन्, हर दुष्ट्याईंलाइ पुष्टी गर्न सकिन्छ। हर निकृष्ट र अमानवीय कर्मको कारण र तर्क दिन सकिन्छ। तर, सफा नियत, असल मनसाय र इमान्दार भावनाले गरिएका कर्महरु सम्झाउन गाह्रो छ। समाजमा त्यस्को लागि कुनै स्थान बाँकि छैन जस्तो देखिन्छ। यो कथन भारतको सङ्कटकालमा भएका ज्यादती र अत्याचारको जाँचबुझ गर्ने शाह आयोगको प्रतिबेदनमा उल्लेखित निस्कर्षवाक्यसँग ठ्याक्कै मिल्छ। त्यहाँको निस्कर्षवाक्य थियो, सही के हो भन्ने चेतनाबिना र जे सही हो हामीले त्यही गर्नुपर्छ भन्ने सोच,दृष्टिकोण र इच्छाबिना गरिने कामकार्यवाहीहरुको कुनै धरातल हुँदैन। सङ्कटकालमा धेरै पदाधिकारीहरुको लागि सही र गलत तथा नैतिक र अनैतिक बीचको विभाजनरेखा नै बाँकि रहेन।
    आज नेपालमा जुन द्वन्द घमासान चलिरहेछ, त्यो राजनीतिक शक्ति र नैतिक शक्तिबीचको द्वन्द हो। साम्राज्यसत्ता, राज्यसत्ता, ब्यापारसत्ता सँगसँगै साम्प्रदायिक सत्ताको दबदबा बढिरहेछ। समयसँगै आएको चेतनाले राजनीतिक सत्ताको परिबर्तन गर्न त सिकायो तर लोकतान्त्रिक संस्कृतिको प्यास जगाएन।  जनमुखी अर्ततन्त्र र सामाजिक न्यायलाइ सँगसँगै लानुपर्छ भन्ने चेत पलाएन। राष्ट्रिय जीवनका बिबिध आयामको उत्तिकै महत्व हुन्छ भन्ने सन्तुलित दृष्टिकोण राखिएन, जस्को परिणाम आज देखिंदै छ।   
              
      

No comments:

Post a Comment