Pages

Monday, April 18, 2011

स्वच्छ न्यायालयको कल्पना ।



स्वच्छ न्यायालयको कल्पना
                           -आनन्दराम पौडेल /  anandarampaudel@yahoo.com

जहाँ कृया हुन्छ त्यहीं बराबरको बिपरीत प्रतिकृया हुन्छ भन्ने न्यूटनको तेश्रो नियम अहिले नेपालको न्यायपालिकामा प्रष्ट दृष्टिगोचर भैरहेछ। प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र उहाँलाइ साथ दिने बलराम केसी, प्रकास वस्ती जस्ता केही न्यायाधीशहरुले न्यायालयलाइ सर्वसुलभ न्यायको स्वच्छ मन्दीर बनाउन कम्मर कसेर जहाँ लाग्नुभएको छ, त्यस्ले एकथरीको ऐश्वर्यमहलका जगहरु हल्लिन थालेका छन्। अदुअ आयोगले सर्वोच्चमा पुनराबेदन गरेका मुद्दाहरु पेशीमा नचढाउन र चढेको भएपनि सार्नको लागि भ्रष्टाचारीहरुको पक्षमा दह्रोसँग उभिएका कानुन ब्यवशायीहरु इमान्दारीपुर्बक लाग्नुभएको छ।  रामप्रसाद श्रेष्ठको कार्यकाल बैशाख २३गते सकिंदै छ र कमसेकम त्यतिञ्जेल पेशि छल्न पाए अभियुक्तहरुलाइ जोगाउन सकिन्छ भनेर सचेत संरक्षकको भूमिकामा उहाँहरु देखिनुभएको छ। उहाँहरुले बाधाअवरोध खडा नगरेकोभए चीरञ्जीवी वाग्ले ४महिना अघि नै जेल परिसकेका हुन्थे। उहाँहरुको सहानुभूति र सकृयता अभियुक्तको पक्षमा मात्रै हैन, भ्रष्टाचारीको पक्षमा नाङ्गिएरै लागेका न्यायाधीशहरुको लागि समेत् त्यत्तिकै देखियो। नेपालको न्यायीक इतिहासमै भ्रष्टाचारीका नाथ भनेर सुपरिचित न्यायाधीशहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र राणाले गरेका फैसलामा न्यायमाथि ठाडै बलात्कार भएको देखेर सर्वोच्चका न्यायाधीश बलराम केसीजी स्तब्ध हुनुभो र सोही टिप्पणी न्याय परिषदमा पठाउने निर्णय गर्नुभो। उक्त टिप्पणीले केही कानुन ब्यवशायीको मुटुमा झीर रोपिन पुगेछ र उनीहरु कोकोहोलो मच्चाइरहेछन्। नेपाल बारका बर्तमान अध्यक्ष प्रेमबहादुर खँड्का र पूर्व अध्यक्ष शम्भु थापाले मुखै फोरेर आपत्ति जनाइसक्नुभएको छ। उहाँहरुले जति कडा प्रतिकृया दिएपनि बिशेष अदालतका फैसलाको बिषयमा गरिएका टिप्पणी यो पहिलो थिएन। २०६५सालको अन्ततिर सर्बोच्च अदालतका तत्कालीन न्यायाधीश श्री अनुपराज शर्माले दिनुभएको निरीक्षण प्रतिवेदनमा पनि बिशेष अदालतका फैसलाहरुमाथि कडा टिप्पणी गरिएको थियो। त्योभन्दा अघिल्लो सालको टोलीले पनि बिशेष अदालतका अधिकांश र पुनराबेदन अदालत पाटनका कतिपय फैसलाहरुमा कानुनको पर्याप्त बिश्लेषण नगरिएको  र प्रमाणको उचित मूल्याङ्कन नभएको भनि टिप्पणी गरेको थियो।          
      त्यसबेला अदुअआयोगको छानबिनको दायरामा कांग्रेसका नेता र कांग्रेस समर्थक उच्चपदस्थ कर्मचारीहरु परेकोमा  गिरिजाबाबु  चिन्तित भएका थिए र जे गरेर भएपनि यिनीहरुलाइ चोख्याउनै पर् यो भनेर नै ती न्यायाधीशहरुलाइ जिम्मेवारी दिइएको थियो । ती न्यायाधीशहरु न्याय सम्पादन गर्न हैनकि मिशन पुरा गर्न त्यहाँ जानुभएको थियो भन्ने सामान्य जानकारी समेत् बलराम केसीजीसँग रहेनछ।
सरकारको, राज्यको एउटा अङ्गको, संस्थाको वा सङ्गठनको नेतृत्व गर्ने एकजना ब्यक्तिमात्र ठीक हुँदा आनकोतान फरक पर्दोरहेछ भन्ने पछिल्लो उदाहरण रामप्रसाद श्रेष्ठ हुनुभएको छ। नेपालको न्यायीक इतिहासमा हरिप्रसाद प्रधानको छेउछाउसम्म पुग्ने प्रधान न्यायाधीश एउटापनि निस्केका थिएनन्। २०५२ भदौ १२को फैसलामा चर्को आग्रह नराख्नुभएको भए बिश्वनाथ उपाध्यायबाट धेरैले आशा राखेका थिए। उहाँजस्तो ब्यक्तिले समेत् आफ्नो पोजिशन जोगाउन नसक्नु भएपछि हामीले आशा मारिसकेका थियौं। त्यसपछि न्यायपालिका बिकृति उत्पादनको थलो बन्न पुगेको थियो । बिकृतिको रछानले पुरिएर न्यायपालिकाले पहिचान गुमाइसकेको थियो । न्यायपालिका फेला पर्दैनथ्यो, फोहोरको डङ्गुर मात्रै भेटिन्थ्यो। न्यायपालिकालाइ यो अवस्थामा पुर् याउन परमानन्द झा, भूपध्वज अधिकारी,कोमलनाथ शर्मा र चोलेन्द्र राणा जस्ता न्यायाधीशहरुले कम्ति मिहेनत-परिश्रम गर्नुभएको छैन। रामप्रसाद श्रेष्ठ लगायत केही न्यायाधीशहरुले अहिले अर्थोक बढी केही गर्नु भएको छैन, केवल फोहोरले पुरिएको न्यायपालिकालाइ त्यहाँबाट निकालेर धोइपखाली मात्र गरिरहनुभएको छ।
न्याय सम्पादनमा जति कानुनका दफाको प्रयोग हुन्छ त्यत्तिकै बिवेकको प्रयोग भैराखेको हुन्छ। बिवेकको प्रयोग  न्यायिक मनचित्तले मात्र गर्न सक्छ। न्यायिक मनचित्त उच्च नैतिक धरातलमा प्राप्त हुन्छ र  नैतिक मनोवल स्वच्छ ब्यक्तित्वसँग मात्र हुन्छ। रामप्रसादलाइ यो आँट र हिम्मत त्यसै प्राप्त भएको छैन। आर्थिक जीवनमा र् याल मिसिएको हुँदो होत उहाँले आफ्नो सम्पतिबिवरण वेबसाइटमा राख्नुहुने थिएन। वेबसाइटमा राख्न ऐन-नियम, परम्परा र कुनै निर्णयले बाध्य पारेको थिएन। न्यायाधीशले बिवेकको प्रयोग गर्छन् भने सम्बिधानकै पालन गरिरहेका हुन्छन्, तर बिवेकको प्रयोग गर्दैनन्, केवल कानुनका दफा मात्र केलाएर बस्छन् भने सम्बिधानको पनि पालन गर्दैनन्। न्याय सम्पादनमा जव बिवेकको प्रयोग हुन्छ तव न्याय पर्नेगरी फैसला हुन थाल्छ, कानुनका दफाहरुले मात्र लपेटेर फैसला हुन थाल्छभने काइते,रकमी फैसला भैरहेको हुन्छ। मानव जीवन र सामाजिक जीवनका कतिपय बिषय र पाटाहरु यस्ता हुन्छन् जुन एउटा ढाँचा,तोकिएको बाटो र निर्धारित नियम अनुसार चलिराखेका हुँदैनन्, बरु पींढी दरपींढीको बिवेक अनुसार चलिराखेका हुन्छन्। जव समाज र ब्यक्तिहरु सभ्य,सुसंस्कृत र सम्बेदनशील बन्दै जान्छन् तव त्यहाँ उच्च बिवेकको प्रयोग भैरहेको हुन्छ, जव समाजमा छट्टु र धूर्तहरुको बोलवाला बढ्दै जान्छ तव त्यहाँ स्वभावैले हरेक कार्यब्यवहार काइते,रकमी हुँदै जान्छ।
रामप्रसाद श्रेष्ठ प्रधान न्यायाधीश हुनुअघि उहाँले न्यायपालिकाभित्र थुप्रिएको फोहोरको बिषयमा अध्ययन गर्नुभएको थियो। प्रधान न्यायाधीश मात्र ठीक हुँदा न्यायपालिकाभित्रका बिकृति आधा घट्ने रहेछ भन्ने उहाँको प्रतिबेदनको निस्कर्ष छ। अध्ययनको क्रममा न्यायपरिषदका पूर्व र बहालवाला सचिवहरुसँग परामर्श गर्दा प्रधान न्यायाधीश ठीक भए नाताबाद,कृपाबाद,चाकडी र चाप्लुसी स्वाट्टै घट्ने थियो भनेर उहाँहरुले बताएका थिए। न्यायपरिषदमा ५किसीमका शक्तिकेन्द्रले समानान्तर काम गरिरहेको छ र त्यसमध्ये एउटालाइ समाते काम बन्छ भन्ने मानसिकता बनेको पनि उहाँहरुको दावी थियो। न्यायाधीशका नियुक्तिहरु ब्यक्तिलाइ मात्र फाइदा हुने,तर न्यायपालिकालाइ पुरै क्षति हुने खालका भएको भनि पूर्व सचिवहरुले चिन्ता जाहेर गर्नुभएको थियो।  प्रहरीसँग परामर्श गर्दा सरकारी वकीलले प्रहरीको निस्कर्ष र रायलाइ फाल्ने गरेको तथा न्यायाधीशले तथ्यप्रमाणको आधारमा न्याय पर्नेगरी फैसला गर्न छाडी ब्याकरण र प्राबिधिक आधारमा टेकेर आफ्नै हिसाबले अनौठा फैसला गर्नेगरेको गुनासो गरेका थिए। बिशेष अदालतका साविकका न्यायाधीशहरु भूपध्वज अधिकारी,कोमलनाथ शर्मा र चोलेन्द्र राणा तथा भूतपूर्व न्यायाधीश परमानन्द झाले गरेका फैसलाहरु हेर्दा प्रहरीले लगाएको आरोप पुरै पुष्टि हुन्छ। जे होस्, रामप्रसाद श्रेष्ठ प्रधान न्यायाधीश हुनुअघि नै रोग कहाँ-कहाँ छ भनेर डाइग्नोसिश गरिसक्नुभएको र उपचारको बिषयमा समेत् सोचिसक्नुभएको रहेछ भन्ने बुझिन्छ। राष्ट्रको लागि, सिष्टमको लागि र राष्ट्रिय चरित्र निर्माणको लागि अहिले उहाँहरुजस्ता १\२जना मात्र अगाडी सर्नुभएको छभने पनि उहाँहरुलाइ प्रोत्साहित गर्नु हाम्रो कर्तब्य हुन आउँछ।   

  

No comments:

Post a Comment