Pages

Wednesday, April 24, 2013

टीका भाइको कविता-

"विश्व पुस्तक दिवस"को अवसर पारेर कवि मित्र टीका ‘भाइ’कृत "पैतालातल्तिर" कवितासङ्ग्रह-२०१२ पढ्दै छु । त्यही संग्रहबाट मलाई धेरै मन परेको एक सरल र सुन्दर कविता ।
धन्यवाद ।

नानीहरु कति छिट्टो सिक्छन् !
- Tika Bhai

कति छिट्टो सिक्छन् नानीहरु
आमा हुन्छन् , बाउ हुन्छन्
कपड़ामा पोको पारेर ढुङ्गाको नानी बनाउँछन्
नानी चेपेर आमा खाना पकाउँछिन्
बाउ बनेको रतन काममा जान्छ ।
घर मातेर फर्किन्छ ।
निहु खोज्छ घरमा
छिमेकका आउँछन् मिलाएजस्तो गर्छन्
फेरि खाना मन नपरेको बहानामा थाल झटार्छ रतने
भाँड़ाकुटीमा नानीहरु
एक दिनमै जीवनको आधै सच्चाई खेल्छन्
कति छिट्टो सिक्छन् नानीहरु !

कुसुम मिस भएर बिमला
हातमा लौरो बोकेर हिड़्छे
अरु विद्यार्थी बन्छन्
"यू होपलेस् ! ह्वेयर ईज योर होम वर्क ? ''
यसरीनै चिच्याँउदै लौरो उज्याउँछिन्
अङ्ग्रेजीका सम्भ्रान्त गालीहरु बक्दै एक एक विद्यार्थीमाथी रोब जमाउँछिन् !
कति छिट्टो सिक्छन नानीहरु ।

रवि सँधै पुलिस अफिसर हुन रुचाउँछ
तगड़ा अमरे चोर हुन्छ
पकड़ा पर्दा अमरेले पुलिसलाई कागतको काल्पनिक पैसा तिरेजस्तो गर्छ ।
पैसा थापेर रवि खुट्टा हल्लाउँदै सानसित
फिल्मी अन्दाजमा हप्काउँछ
'अमरे ! आज त छोड़ेँ फेरि थानामा देख्नु नपरोस् !'
कति छिट्टो सिक्छन् नानीहरु !

हुल हुल छुट्टिएर पार्टी बनाँउछन्
झण्डा बोक्छन्
नारा लगाउँछन्
बाटो ढुकाढुक गरेजस्तो गर्छन् । फेरी कुटाकुट गरेजस्तो गर्छन् ।
खेल्छन् नानीहरु
खेल्दा खेल्दै नानीहरु जीवनको कति नजीक पुग्छन् ।
कति छिट्टो सिक्छन् नानीहरु ।

नानीहरु अचेल बन्दुक बोकेर हिँड़्रदैछन्
छुरी बोकेर हिड़दैछन्
माटोको डल्लालाई ग्रिनेड
बनाएर युद्धको खेल खेल्दैछन्
गोर्खाल्याण्ड र मुक्तिको तमाम नाराहरु गुञ्जाउँदै
यिनीहरु भाषण दिने खेल खेल्दैछन्।
काठको खुकुरी भिरेर कम्मरमा युद्धको ट्रेनिङ लिंदैछन्
कसरी कहाँ देख्छन् थाहा छैन
तर नानीहरु कत्ति छिट्टो सिक्छन् ।
 

No comments:

Post a Comment