Pages

Monday, July 22, 2019

फिल्मसमीक्षा र कविता ,


कविता

छिमेकी

यो त्यही हो
हाम्रै घरमा आएर
हामीसँग
हाम्रो हैसियत सोध्नेगर्छ
हामीभित्रै
विद्वेष सृजना गर्छ
घरभित्रको विवादमा
जबर्जस्त हस्तक्षेप गर्छ
हामीलाइ कुँज्याएर राख्छ
हाम्रो हातपाउ फैलेला भनेर
हरदम चनाखो रहन्छ
शुरुमै उस्को घरमा लगेर
हाम्रो झगडा मिलाएको थियो
त्यहाँदेखि घरभित्रै पसेर
हैकम चलाएको हो
उसका तीखा नजर
मेरो घरको भित्ता छेडेर
भित्रै पसिरहन्छ
उसका चौकस नजरले
मेरो पिछा गरिरहन्छ
उस्को चङ्गुलबाट उम्कन खोजे
नाकाबन्दी गरिदिन्छ ।
अझै पीडादायी कार्य यो गर् यो
मेरै अभिभावकहरुको आत्मा उस्ले खरिद गर् यो
जब उस्ले घरमै आएर अर्ति दियो
तब यस्तो आवाज गुञ्जिरह्यो
“सर्व धर्मान् परित्यज्य मामेकं शरणं व्रज।
अहिले पनि घरमा झगडा छ
उस्ले आफ्नो भूमिका खोजिरहेछ।




फिल्म-समीक्षा
४ अरब फेहमिदाको भविष्य
              -आनन्दराम पौडेल

धेरै बर्षअघि “फेहमिदाकी कहानी उस्तानी राहतकी जवानी” शीर्षकको पाकिस्तानी टेलिफिल्म हेरेको थिएँ। यस्मा सम्पन्नहरुको संसर्गमा रहेका विपन्नहरुको मनोदशालाइ जीवन्त उतारिएको छ।
    फेहमिदा बी.ए. मा पढ्दै गरेकी २१ बर्षीया जेहेन्दार युवती हो। बाबुको ८ बर्ष अघि नै मृत्यु भैसकेकोले प्राथमिक बिद्यालयकी शिक्षिका आफ्नी आमा राहासँग डेरामा रहेर अध्ययन गर्दैथिई। सस्तोमा गुजारा चलाउनुपर्ने भएकोले सस्तो डेरा खोज्दा एउटा सम्पन्न परिवारको घरमा मिल्कियत कोठा सस्तोमा पाउँछन्। यसअघि अत्यन्तै सादा र किफायती जीवन बाँचिरहेकी फेहमिदाले यो घरमा बस्नथालेपछि सम्पन्न, धनीमानिहरुको जीवनचर्या र जीवनशैलि देख्नथाल्छे। अत्यन्तै खर्चालु, विलासी उक्त धनाढ्य परिवारमा आतेजाते गर्दा देख्थी – सामान्यभन्दा सामान्य बिषयमा समेत् उरलधुरल खर्च गरिरहेका हुन्थे। घरबेटीकी छोरी मिनाको बिहेको निम्ति खातकाखात महँगा लुगा-कपडा, शयौं जोर जुत्ता, विश-वाइश लाखका गहना जम्मा गरेको देख्छे। घरपक्षबाट किनिएका कपडा र गहना धेरै कम भएको भनेर टिप्पणि गरेको, फलाना-फलानाको छोरीको बिहेमा घरपक्षबाट पठाएका लुगा-कपडा, गहनाको उदाहरण दिइएको, सम्पत्तिको धाक लगाइएको, घरपक्षकाहरुमाथि रवाफ जमाउने कुरा गरिरहेको आदि देखेर फेहमिदाको मनमस्तिष्कभित्र आफ्नो निम्नस्तरको आर्थिक हैसियत हुनुको पीडावोध बल्झिनथाल्छ। झन् त्यतिखेर नै प्रसङ्ग-प्रसङ्गमा आमाले  उस्को पनि बिबाह गर्नुपर्ने प्रसङ्ग निकाल्छिन्। छोरीको भविष्यबारे आफ्नो पतिको सपना सुनाउँछिन्।
     आफूलाइ उक्त अति सम्पन्न घरबेटीकी छोरीसँग तुलना गर्दा फेहमिदाले आफूसँग केहीपनि नभएको पाउँछे। बास्तवमा फेहमिदाहरुसँग केहीपनि रहेनछ। उनीहरुको केही हैसियत नै रहेनछ। यो भावनाले उ चिमोटिन्छे। मन भरङ्ग भैरहन्छ। पढाईमा मनलाग्दैन, खानामा रुची हुँदैन र सरसफाइमा जाँगर चल्दैन। उत्साह मर्छ र जोस-जाँगर हराउँछ। “आमा ! कुनै तरिकाले हाम्रो स्तर, हैसियत बढ्न सक्दैन ?” उ आमासँग चिन्ता पोख्छे। “यो धेरै जेलिएको बिषय छ। तँ अहिले वुझ्नसक्दिनस्।” भन्दै आमाले पढाईमा ध्यान दिन र परीक्षाको तैयारी गर्न अह्राउँछिन्। तर, फेहमिदाको मन-मस्तिष्कमा हुण्डरी मच्चिन छोड्दैन। घरबेटीकी छोरी मिनासँग उस्को गहना, कपडा, जुत्ता, कपडाहरु किन्न बजारमा साथी गएर फर्केको साँझदेखि उस्को बेचैनि झन् बढ्छ। तिनै लुगा-कपडा, गहना, जुत्ताका चित्र मात्र आँखाभरी झल्झलि नाचिरहन्छ। घरबेटीकी छोरीको बिहेको निमन्त्रणाकार्ड एउटाकै पचाश रुपैयाँ परेको, हजार जनालाइ कार्ड बाँड्दा पचाशहजार त कार्डमै खर्च भएको हिसाब गर्दा झन् झस्कन्छे। बिहेको दिनमा आतिशवाजी, सिङ्गारपटार, गजल, गानाबजाना र भव्य भोज-समारोहको बीचमा आफ्नो निरीह गरिबीको तुलना गर्नथाल्छे। यो सबको तुलनामा आफ्नो सानो स्थानसमेत् नभेट्टाएपछि टाउको दुख्नथाल्छ। धेरैबेर हेर्ननसकेर आफ्नो कोठामा गएर पल्टन्छे। दुलहीको गहनैगहना र लाखौं रुपैञा नगदले भरिएको ब्रिफकेस बोकी दुलहीको आमाकहाँ पुर् याएर आफ्नो कोठामा फर्किएकी फेहमिदा त्यत्तिकैमा कोठामा सुतेकोसुत्यै राती मस्तिष्कको नशा फुटेर मर्छे।
       छोरीको मृत्युले आमा राहालाइ केही दिन बिक्षीप्त गराउँछ। एकदिन लडखडाउँदै वकीलको फर्ममा पुग्छिन्, र आफ्नी छोरीको हत्याराका बिरुध्द मुध्दा लडिदिन वकीलसँग अनुरोध गर्छिन्।
     उनी ठान्छिन् – उनकी छोरीलाइ मानसिक पीडा दिइयो। धनाढ्यहरुको समाजले फजुलखर्चको जुन बाढी चलाए र सम्पत्तिको धाकधक्कु लगाए त्यस्ले मेरी छोरीको मस्तिष्कमा गहीरो असर पर् यो। उनीहरुको शानसौकत र बैभवको अगाडी आफूलाइ निरीह ठानी। उनीहरुको चमकदमक जीवनशैलिले आफ्नो अभाव र गरिबीलाइ गिज्याएको महसुस गरी। उ भित्रभित्रै पिल्सिई र सताइई;  त्यसैले मरी। उ आफैं मरेकी हैन, धन, बैभवको प्रदर्शन गर्नेहरुले उस्को मस्तिष्कमा थिचोमिचो गरे; त्यो मनोबैज्ञानिक पीडा खप्न नसकेर उ मरी। त्यसैले उ मारिई। उस्को हत्या भयो। उनी ती तमाम हत्याराहरुलाइ कार्यवाही गर्न चाहन्छिन्, तर कानुन त्यसो गर्न तैयार छैन। वकील उनलाइ कानुन नबुझेको आरोप लगाउँछ। उनी असहाय हुन्छिन्। छोरीको मृत्युको पीडालाइ गाँठो पारेर वकीलको कोठाबाट निस्कन्छिन्। टेलिफिल्म समाप्त हुन्छ।
     अन्तर्राष्ट्रिय संस्था ‘अक्सफाम इण्टर्नेशनल’ ले प्रकाशित गरेको “एन इकोनोमी फर दि वन पर्सेण्ट” शीर्षकको अध्ययन-प्रतिवेदन पढ्दैगर्दा मैले फेहमिदा र राहालाइ सम्झें। अक्सफामको रिसर्च-प्रतिवेदन अनुसार धनाढ्यहरु झन्-झन् धनी हुँदै गएका छनभने विपन्नहरु दरिद्र हुँदै गएका छन्। सन २०१० मा विश्वका आधा जनसंख्या (विपन्न वर्गका) को सम्पत्ति बराबर ३८८ जनाको सम्पत्ति थियो। तर, अहिले विपन्न वर्गका ४ अरब मानिसको सम्पत्ति बराबर १०० जना धनाढ्यको सम्पत्ति छ। यी धनाढ्यहरुले आफ्नो पुरुषार्थ र वैध प्रकृयाबाट मात्र धन आर्जन गरेका र सम्पत्ति थुपारेका होइनन्। कर छलेका छन्, कानुनका कमजोरीबाट फाइदा उठाएका छन्, छद्म आर्थिक कारोबार चलाएका छन् र कर छुटवाला देशमा धन लुकाएका छन्।
     नेपालको बिषयमा भन्नुपर्दा, नेपाल अपराधी, तस्कर र दुई नम्बरीको लागि स्वर्ग बनेको छ। अपराधी, गुण्डाहरुकै भरमा पार्टीका नेताहरु आफ्नो राजनीति परिचालन गर्छन्। उनीहरुसँगै मिलेमतो गरेर प्रशासकहरुले बन्दोबस्त मिलाउँछन्। अधिकांश न्यायाधीशहरु समेत् यही पङ्क्तिमा उभिएका छन्। राष्ट्रका अगुवा हुनुपर्ने नेताहरु भ्रष्ट र पतीत भएकोले यस्को बिषाक्त असर तल-तलसम्म फैलिएको छ। भूईंफुट्टा वर्गको विकास भएको छ र टपर्टुइयाँ संस्कृति स्थापित हुँदैगएको छ। नेपाल विश्वकै अराजक, छाडा राष्ट्रको नमुना बन्नपुगेको छ।
     अक्सफामको रिसर्च तथा वर्तमान विश्वले अङ्गीकार गरेको बाटो र दिशालाइ केलाउँदा यही ढाँचा, प्रणालि, पध्दति र शैलिमा अघि बढिरहने होभने धनी र गरिबबीचको खाडल झन्-झन् गहिरिंदैजानेछ र ४ अरब फेहमिदाहरुको भविष्य घोर अन्धकारमा बिलिन हुने निश्चित छ।
     









No comments:

Post a Comment