Pages

Friday, December 31, 2010

बाँकि एउटै मत
- आनन्दराम पौडेल
anandarampaudel@yahoo.com



पुष १५गते सोमबार बिहान उठ्नासाथ यस्ता समाचारहरु सुन्नुपर् यो- समयमै सम्बिधान निर्माण होस्,शान्तिप्रकृया टुङ्गोमा पुगोस् र सङ्घीय प्रणालीमा जान नपरोस् भनेर राष्ट्रिय जनमोर्चाले झापामा आयोजना गरेको कार्यक्रममा लिम्बुवान राज्यपरिषदका कार्यकर्ताले एक्कासि हिंस्रक आक्रमण गरे, माइक भाँचभुच पारे, पर्चापम्पलेट जलाए र जनमोर्चाका नेता वीरबहादुर गोलेलाइ लछारपछार गर्दै लगेर भक्कुमार गोदे। यो भीषण आक्रमणको एउटैमात्र कारण फरक मत रहेछ। राष्ट्रिय जनमोर्चाले सङ्घीयता आबश्यक छैन भनेछ,जुन उनीहरुलाइ मन परेनछ। मननपर्ने वाक्य कानमा पर्नासाथै अरिङ्गालको गोलो खनिएसरी एक्कैचोटी धावा बोल्न पुगेछन्। यसैगरि एनेकपा माओबादीको बैतडी जिल्ला कमिटीमा फरक मत राखेकै कारणले हरिलाल बिश्वकर्मा,कबिता बिक,मानबहादुर बिक र नरेन्द्र बिक निर्ममतापुर्वक कुटिएछन्। कुवाकोट,बैतडीमा उनीहरुको घरघरमै पसेर वाइसिएल जिल्ला अध्यक्ष शैलेन्द्र धानुक,पार्टी जिल्ला कमिटी सदस्य बिर्खबहादुर कुँवर र मनिलाल बिकले निर्घात् चुटेका रहेछन्। यो अनुष्ठान सभासद नरेन्द्र कुँवरको योजना र निर्देशनमा सम्पन्न भएको रहेछ।
आज ४बर्षदेखि नेपालको ध्वनीआकासमा “नयाँ नेपाल निर्माण” र “लोकतन्त्र” शब्दजति अरु गुञ्जिएको छैन। के लोकतन्त्र भनेको निर्बाचनमा जित्नु,संसदमा बहुमत ल्याउनु र सरकार चलाउनु मात्रै हो ? हामीले बुझेको लोकतन्त्र त लोकतान्त्रिक संस्कृति,जीवनपद्धति र लोकतान्त्रिक संस्कार हो। हामीले निर्माण गर्न लागेको यो कस्तो नयाँ नेपाल हो जहाँ फरक मतलाइ कतै ठाउँ रहँदैन ? यो कस्तो सभ्यता हो जुन सधैं ठालू पल्टिन र अरुलाइ टाँगमुनी छिराउन उद्यत रहन्छ ? यो कस्तो संस्कृति हो जो चरम असहिष्णु छ र अरुलाइ झम्टन दाह्रानङ्ग्रा तिखारेर बस्छ ?
बैतडी,कुवाकोटको घटना सभासद नरेन्द्र कुँवरको योजना अनुसार भएको भन्ने सुनेदेखि घाउ अझै गहीरो भयो। ती असहमहरुलाइ ठेगान लाउनको लागि कुँवरले आफ्ना सेनामेनालाइ पठाएछन् र अर्कोतिर आफूचाहीं घटनास्थलमा जान लागेको प्रहरीलाइ रोकेर बसेछन्। तिनीहरुलाइ अस्पताल जान नदिने प्रपञ्चपनि उनैले रचेछन्। यस्ता सभासदले कस्तो सम्बिधान बनाउलान् ? कस्तो कानुन बनाउलान् ? कसरी राष्ट्रिय चरित्रको निर्माण होला ?
२०४६सालमा आएको बहुदल आफ्नो आकारप्रकारसमेत् लिन नपाइ र स्वच्छ श्वाससमेत् लिन नपाइ अवसानमा गयो। त्यस्लाइ सिध्याउने काम यिनै राजनीतिकर्मी र नेताहरुको कर्म,ब्यवहार र चरित्रले गरेको थियो। त्यसबेलापनि आफ्नो गुटमा आउनेको ७खत माफ हुन्थ्योभने असहमतलाइ किनारा लगाइन्थ्यो। ७खत माफ गर्दागर्दै यो निम्छरो मुलुकको ढाडै भाँच्चिने गरी भ्रष्टाचारको बोझ थुप्रियो। पक्षपात यतिबिधि भयोकि दुनियाँले बहुदल भनेकै पक्षपात र मनपरी रहेछ भनेर बुझ्न थाले। कुनैपनि ब्यवस्था आफैं अभिब्यक्त हुँदैन। त्यस्का जिम्मेवारहरु,सम्बाहकहरु र लाइनएजेन्सी मार्फत् अभिब्यक्त हुन्छ। दुनियाँले सम्बाहकको चरित्र र संस्कृति हेरेर ब्यवस्थाको चरित्र बुझेका हुन्छन्। अगुवाहरुले अख्तियार गरेको बाटो,दिशा र चालेका पाइला हेरेर ब्यवस्थाको गन्तब्य अनुमान गर्छन्। केही महिनाअघि यही जनमोर्चाले काठमाडौंमा आयोजना गरेको यस्तै कार्यक्रममा उनीहरुका कुरा मन परेन रे भनेर नेवा मुक्ति मोर्चाले भीषण आक्रमण मात्र गरेन,एकजना नेताको नाकै काटिदियो। यस्ता कर्मले कस्तो सन्देश प्रवाह गरिरहेछ ?
एउटा भ्रम,भ्रान्ति,अन्यौल र द्विबिधा ब्याप्त भैरहेछ। कहिले लाग्छ,नेताहरुले जे बोलिरहेछन् त्यही सत्य हो। तुरुन्तै यो भ्रमको तुवाँलो हट्छ र लाग्छ,जनताले जे भोगिरहेछन् र ब्यहोरिरहेछन् त्योचाहीं सत्य हो। कहिले लाग्छ,यिनै नेताको पछि लाग्ने ब्यक्तिहरु सत्य हुन्। फेरि लाग्छ, हैन स्वाभिमानी नागरिकहरु सत्य हुन्। कहिले लाग्छ,बहुमत र भीड नै सत्य हो। हैन, बहुमतको हल्ला र भीडबाट जोगिन सत्य किनारा लागेर बसेकोचाहीं सत्य हो। कहिले लाग्छ,सङ्गठन,शक्ति र बर्चस्व सत्य हो;त्यसैले नेवा मुक्ति मोर्चा,लिम्बुवान राज्यपरिषद,नरेन्द्र कुँवर र प्रचण्डहरु सत्य हुन्। तर हैन,बिचार र भीजन सत्य हो; त्यसैले चित्रबहादुर केसी र बाबुराम भट्टराईहरु सत्य हुन्। यो सबै किन भैरहेछभने सतहभरी भ्रम र भ्रान्ति छपक्कै छ र सत्य र यथार्थजति अन्तर्धारामा प्रवाहित भैरहेछ। चेतनाको कुचोले भ्रमलाइ बढारेर जागरणको औजारले खोतलेपछि मात्र सत्य र यथार्थको मुहार देख्न पाइने भएको छ।
लिम्बुवान राज्यपरिषद र नरेन्द्र कुँवरहरु जताततै छन्। कतै यिनीहरु यातायातमा सिण्डिकेटराज चलाइरहेका भेटिन्छन् त कतै मैथिली,भोजपुरी र अवधीलाइ किचेर हिन्दी भाषाको सिण्डिकेटराज चलाइरहेका हुन्छन्। यिनीहरुले यस्तो माखेसाङ्लो तैयार गर्छन्, जहाँ मुक्तिका निकास कतै केही बाँकि रहँदैन। हाम्रो सभ्यता, लोकतान्त्रिक संस्कृति, सम्बिधानमा बर्णित मौलिक अधिकार र कानुनको शासन त्यहाँ मुर्च्छित भएर ढलिरहेका हुन्छन्। माखेसाङ्लोको यस्तो ढाँचा तैयार भैसक्छ,जस्को स्टेरिङ्ग वा लगाम एउटा ब्यक्ति वा समूहको नियन्त्रणमा हुन्छ। यस्तो स्वेच्छाचारी माहौल तैयार हुन्छ, जहाँ करोडौं नागरिकको लागि मानवीय गरिमा र मर्यादाका न्यूनतम ब्यवहार भेटिंदैन। राजनीतिक संरचनाहरु आत्ममुग्ध छन्, आत्मरतिमा लीन छन् र बिचारलाइ पन्छाएर र आफैंलाइ छलेर गोलचक्करमा कुदिरहेछन्। “ब्रह्म सत्य जगत मिथ्या”कै शैलीमा राजनीतिक संस्थाहरुले आफूलाइ चुनावमा समर्पित गरेका छनभने प्रशासनले बजारमा आत्मसमर्पण गरेको छ। “सवै रोगको औषधि हिमालय तेल” भनेझैं यसैबाट आफ्नो सवै काम तमाम हुन्छ भनेर सोचेका छन्।
राजनीतिक नेताहरुले राज्यलाइ सही तरिकाले चलाउने छन् र ठीक बाटो र दिशातिर लैजानेछन् भनेर भरोसा राखिएको थियो। यस्तो राज्य जस्ले आलोचनात्मक चेत भएको जागरुक नागरिक तैयार गर्ने छ। यस्तो राज्य जस्ले श्रृजनशीलता र उद्यमशिलताको लागि उत्प्रेरीत गर्ने छ र स्वाभिमानको कदर गर्ने छ। तर,यी नेता र शासकहरुले आफूलाइ शक्तिकेन्द्रमा स्थापित गराइराख्नको लागि गुटलाइ मात्र मजबूत पारे। गुटलाइ मजबूत पार्न राष्ट्रलाइ कमजोर पारे र जनतालाइ भ्रममा राखे। यिनीहरुको यो बोक्सीतन्त्रले नरेन्द्र कुँवरहरु र लिम्बुवान राज्यपरिषदहरुको मात्र उत्पादन र पुनर्उत्पादन गर्नेछ, स्वाभिमानी नागरिकको लागि ठाउँ रहने छैन।

No comments:

Post a Comment