[समाज]
भाँडभैलो समाजको चीरफार \
अवश्य नै,
आफ्ना सपनाहरू मरेपछि मान्छेले राज्यलाई आलोचना गर्छ । तर, सुन्नुपर्नेले जब बुझ
पचाउँछन् आलोचनाहरू स्वतः गालि, आक्रोश र अराजकतामा फेरिन्छन् । स्वाभाविक छ, विस्तारै बोल्दा नसुनेपछि मान्छे चर्को बोल्छ
। अहिले यत्रतत्र जुन भाँडभैलो सुनिँदैछ,
यो त्यही आक्रोशको चर्को स्वर हो ।
आजकल हाम्रो
राजनीति तर्क गर्दैन, गाली गर्छ । यो विनम्र छैन, पूर्वाग्रही छ । सामाजिक सञ्जाल पत्रु तर्कहरूले भरिन्छन् र सत्यको
हुर्मत काढिन्छ पलपल । बजारमा सिद्धान्त, विचार र
मुद्दा हैन, चटक बिक्छ महँगोमा । सार्वजनिक
जीवनमा गम्भीरता छैन, निष्ठाको मानमर्दन हुन्छ चोक चोकमा ।
कर्म रुन्छ अरबको मरुभूमिमा र भाग्यको रजगज चल्छ देशमा ।
मतदाताहरू नेता हैन, पालनहार
खोज्छन् । मान्छेहरू देखिएको कुरामा अविश्वास गर्छन् र रहस्यलाई पत्याउँछन् ।
प्रश्न आउँछ, कसले भाँड्दैछ हाम्रो समाज ? को हो दोषी, जसले समाजलाई यतिधेरै पूर्वाग्रही, शंकालु, तर्कहीन र लयहीन बनाएको छ ? को हो त्यो जसले समाजमा ‘मास हिस्टेरिया’को आगो झोसेको छ र उ कतै बसेर
मनमख्ख रमिता हेर्दैछ ?
पछिल्ला दिनमा पूर्वाग्रहको आँधी
यसरी चल्दैछ कि, सबै एक-अर्कालाई तान्न, झार्न र पछार्न उद्दत छन् । न त लोकतन्त्रको आदर्शलाई स्थापित गरिँदैछ, न त नागरिकका सपना फक्रिँदै छन् । सबैमा एक अर्काप्रति तीव्र अविश्वास
छ ।
यस्तो लाग्छ, मानौं सबै मनोगत आग्रहले पीडित छन् ।
राजनीति त झन् यस्तो देखिन्छ, जस्तो
कि सबै दलहरू सत्यको हुर्मत लिन तम्तयार छन् । सबै दलहरू एउटाले अर्कोलाई नांगो
बनाउन प्रतिस्पर्धा गर्दैछन् । र, उनीहरू
जे गर्दैछन् वस्तुत: उनीहरू स्वयं सबै नांगिदैछन्। अवश्य नै संक्रमणकालीन समाजमा
अविश्वास स्वाभाविक हुन्छ । तर, यसलाई
विश्वासमा बदल्नु नेतृत्वको काम हो । अन्यथा, भाँडभैलो
सामाजिक तथा राजनीतिक प्रवृत्ति बन्छ ।
प्रश्न आउँछ, यो सबै भाँडभैलो र अन्योललाई हाम्रो
ज्ञान, विवेक, सुझबुझ
र शिक्षाले किन रोक्न सकेन ? अथवा, यति ठूलो संकटमा पनि हाम्रो ज्ञान किन मौन छ ? किनभने यतिबेला स्वयं हाम्रो ज्ञानको सुर हराएको छ । उ आफैँ
भाँडभैलोको शिकार भएर सामाजिक सञ्जालदेखि संसद् भवनसम्म, विश्वविद्यालयदेखि पार्टी कार्यालयसम्म रक्ताम्य लडेको छ ।
आज हाम्रा
औपचारिक र अनौपचारिक पाठ्यक्रम, ज्ञान र
चिन्तन प्रणालीहरू भत्किएका छन् । औपचारिक विश्वविद्यालयमा ज्ञानको उत्पादन
अवरुद्ध छ। अनौपचारिक ज्ञानशालाहरू, राजनीतिक
दल, सार्वजनिक संस्था, सामाजिक ज्ञान र चिन्तन केन्द्रहरू पार्टी राजनीतिको टाँगमुनि छिरेर
सत्ताको दलाली गर्न व्यस्त छन् । दलहरू जो अनौपचारिक ज्ञानका केन्द्र हुन् उनीहरू
स्वयं ज्ञानको हुर्मत लिन उद्त छन् । जब ज्ञानका केन्द्रहरूमा अराजकता र अहंकारको
छिपछिपे मनोग्रन्थी व्याप्त हुन्छ तब समाजमा गतिलो चेतना बन्छ कसरी ? यस्तो समाज संयमित र गम्भीर कसरी हुन्छ ? ज्ञानको हुर्मत लिने समाज ज्ञानी रहन्छ कसरी ?
हाम्रो समाजमा अहिले अल्पज्ञानको रजगज चल्दैछ । अल्पज्ञानले
भुइँफुट्टा जमात तयार गर्छ । भुइँफुट्टा चरित्र के भने, उसले न त संस्थागत ज्ञानलाई मान्दछ, न त
नयाँ ज्ञानको उत्पादन नै गर्छ । सबैलाई इन्कार गरेर आफ्नो महत्त्व स्थापित गर्ने मनोरोगले
उ ग्रसित हुन्छ । अर्थात्, उसले स्वयंबाहेक अरु सबैलाई इन्कार
गर्छ । जस्तो की, अरुको सत्यलाई इन्कार गर्छ र आफ्नो
भ्रमलाई सत्य ठान्छ । अरुको तथ्यलाई झुटो ठान्छ, आफ्ना
मनोगत अनुमानहरूलाई तथ्यांक मान्दछ ।
आज हामीलाई निरास कसले बनायो ? हाम्रा लोकतान्त्रिक आदर्शहरूको तेजोवध कसले गर्यो ? हाम्रा परिवर्तन, समृद्धि र सामाजिक
न्यायका सपनालाई कसले चिहानमा पुर्यायो ? हाम्रो विश्वास, आदर्श र सपनाहरूको हत्या कसले गर्यो ? राजनीतिले । पछिल्ला वर्षहरूमा
राजनीति यतिधेरै विशृंखलित भयो कि न त आन्दोलनले स्थापित गरेका आदर्श कसैले सम्झिए, न त सडकमा पोखिएको
सपनाको बिस्कुन नै कसैले देख्यो । भाँडभौलोको पहिलो कारण यही हो ।
जब हाम्रा राजनीतिक दल शासनसत्ता सञ्चालनमा असफल भए, आफ्ना असफलतालाई
स्विकार गर्ने विनम्रता उनीहरूमा देखिनुपर्थ्यो । लोकतन्त्रको सुल्टो बाटो हो त्यो
। तर, उनीहरू त आफ्नो असफलता ढाकछोप गर्न उल्टो कम्मर कसेर पो निस्किए । यसका
लागि उनीहरूले आफ्ना पक्षमा अनेक भाष्यहरू निर्माण गरे । सत्यको हुर्मत लिने भाष्य
। तथ्यलाई गिज्याउने भाष्य । तर्कलाई अल्मल्याउने भाष्य । निष्ठा बिनाको भाष्य ।
नीति र राजनीति विनाको भाष्य । गाली, आवेश र पूर्वाग्रहको भाष्य । ज्ञानको धज्जी उडाउने
भाष्य । मान्छेलाई भ्रमित गर्ने भाष्य ।
केही
भावनात्मक भएर भन्दा हाम्रो समाजलाई चारवटा कुराले लयमा फर्काउन सकिन्छ । पहिलो
आशा र सपना जागृत गर्ने । दोश्रो साझा राष्ट्रिय लक्ष्य बनाउने र मान्छेलाई गोलबन्द
गर्ने । तेश्रो आदर्शहरूबाट मान्छेलाई उत्प्रेरित गर्ने । चौथो सुसंस्कृत र
सिर्जनशिल राजनीतिले त्यसलाई नेतृत्व दिने ।
यी चारवटा पक्ष कसरी स्थापित हुन्छन् ? यी
भावनात्मक पक्षलाई ठीक ठाउँमा ल्याउन भौतिक र संरचनागत पक्षको पुनर्गठन आवश्यक
पर्छ । त्यसका लागि राजनीति पुनर्गठन त मुख्य कुरा हो नै, हाम्रो सार्वजनिक संरचना, ज्ञान, नेतृत्व र सोचको समेत पुनर्गठन आवश्यक छ । सचेत सामाजिक हलचल । अन्यथा
चर्का नारा उरालेर र अराजकतामा रमाएर कतै पुगिँदैन । मुख्यतः विवेकहीन अराजकताले
आखिर भ्रष्ट सत्ताकै रक्षा गर्छ । त्यसैले, अहिलेको
भड्काव र भाँडभैलो निकै खतरनाक छ । विचार गरौं ।
No comments:
Post a Comment