Pages

Tuesday, June 13, 2023

 

[प्रगति]

अनुकरणीय विकास              \

 

दक्षिण कोरिया

दक्षिण कोरियाले सन् १९६२ मा पहिलो पञ्चवर्षीय योजना निर्माण र कार्यान्वयनमा लग्यो जसले कोरियन अर्थतन्त्रलाई आयात प्रतिस्थापन गरी निर्यातमुखी बनाउने सोच राख्यो। त्यस्तै, कोरियाले ६० को दशकमा पूर्वाधार निर्माण एवं औद्योगिक विकासमा लगानी केन्द्रित गरेको थियो। दक्षिण कोरियाले पहिलो योजनामा राखेका आर्थिक नीतिहरूलाई निरन्तरता दिँदै निजी क्षेत्रको प्रवर्धन गर्ने, ठूला उद्योगहरू स्थापना गर्ने र वैदेशिक व्यापार सहजीकरण गर्ने नीति अवलम्बन गरेको पाइन्छ। हालसम्मको योजनाले रसायन उत्पादन, फलाम, यातायात उपकरण, इलेक्ट्रोनिक्स धातुहरू र जहाज उत्पादनमा तुलनात्मक लाभ हासिल गरेको देखिन्छ।  

त्यस्तै सन् १९७० मा ‘नयाँ गाउँ अभियान’ सुरु गरी ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाइयो। मूलतः दक्षिण कोरियाको आर्थिक समृद्धि दुई प्रमुख कुरामा अडिएको छ– आर्थिक नीतिहरूको निरन्तरता र तुलनात्मक लाभ भएका वस्तुहरूको विश्व बजारमा निर्यात।

कम्बोडिया

त्यसैगरी कम्बोडिया पनि पछिल्लो दशकमा आर्थिक समृद्धिमा फड्को मारिरहेको छ जसले आर्थिक नीतिलाई मूलतः सुशासन, समष्टिगत आर्थिक तथा वित्त नीतिको सुधार, कृषि क्षेत्रको आधुनिकीकरण, पूर्वाधार निर्माण र सुदृढीकरण, मानव संशाधन विकास जस्ता विषयमा केन्द्रित गरेको छ। पछिल्लो दुई दशकको औसत आर्थिक वृद्धि दर ७.७५ रहेको छ जुन विश्वमै उदाहरणीय छ। निर्यातमा आधारित तयारी पोशाक एवं पर्यटन उद्योगको विकासले कम्बोडियाले लिएको आर्थिक विकास नीति सही र सफल मार्गमा हिँडेको पाइन्छ।

बंगलादेश

बंगलादेशमा आर्थिक योजनाको थालनी सन् १९७३ बाट भएको थियो जहाँ संविधानमै योजना बनाउनुपर्ने बाध्यकारी व्यवस्था छ। समाजवादी आर्थिक नीति सुरुमा अवलम्बन गर्दा धेरैजसो उद्योगको राष्ट्रियकरण गरियो। तर सन् १९८० को दशकपछि आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने आधारलाई स्वीकार गरी आर्थिक नीतिमा सुधार गरिएको पाइन्छ। सन् २००२ सम्ममा आर्थिक नीतिले मूलतः आर्थिक विकास, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, गरिबी निवारण, आधुनिक शिक्षा प्रणालीको विकास, वित्तीय पहुँचको विस्तार आदिलाई प्राथमिकीकरण गरेको देखिन्छ। बंगलादेशको आर्थिक नीति र सन् २०१०–२०२१ को गुरुयोजनाले समृद्ध तथा सुदृढ प्रजातान्त्रिक बंगलादेशको परिकल्पना गरेको छ। सन् २०२१ सम्ममा मध्यम आय भएको राष्ट्र बन्ने कल्पना गरेको थियो र यस देशको आर्थिक नीतिले मुख्यतः तीव्र आर्थिक वृद्धि र नागरिक सशक्तीकरणमा बढी जोड दिएको पाइन्छ।

भियतनाम

भियतनाममा लक्ष्य हासिल नहँुदासम्म योजना, कार्यक्रम र नीतिहरूको निरन्तरता भएको एवं विकासका सबै साझेदारहरू र अन्तरसरकारी निकायसँग समन्वय र सहकार्य गरेको देखिन्छ। भियतनाममा तीन वर्षे राज्यको बजेट योजना र पाँच वर्षे वित्त योजना बनाइन्छ। यसको कारणले गर्दा ठूला आयोजनाको स्रोतको व्यवस्थापन र परिचालनमा धेरै सहयोग पुगेको देखिन्छ र समयमै आयोजना सम्पन्न भएका देखिन्छ। शिक्षा क्षेत्रमा गरिएको सुधारले मानव संसाधनको विकास भई आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको देखिएको छ।

निष्कर्ष  

पछिल्लो ४० वर्षको सेरोफेरोमा केही एसियाली मुलुकले आर्थिक समृद्धि र स्थायित्व हासिल गरिरहेका ज्वलन्त उदाहरण हामीसँगै छन्। त्यसमध्ये दक्षिण कोरिया र मलेसियाले कृषिको रूपान्तरण, औद्योगिकीकरण र मानव संसाधन विकास जस्ता तीन खम्बे अर्थनीति लिएका देखिन्छ। साथै सिंगापुर र ताइवान जस्ता मुलुकले पूर्णरूपमा औद्योगिकीकरणको नीति लिएर सामाजिक र आर्थिक रूपान्तरण गर्न सक्षम भएका छन्।

  

No comments:

Post a Comment