Pages

Sunday, December 3, 2023

 

 

कुनैबेला तरकारी, फलफूल, मह, च्युरी र केराका लागि प्रसिद्ध यो बोगटान फुड्सिल गाउँपालिका-६, को ‘लासा’ गाउँ (डोटी) अचेल भने रित्तो छ । गाउँ नै रित्तिनुको पछाडि भने एक दर्दनाक घटना कारक छ । मुलुकमा सशस्त्र हिंसा-आतङ्क मच्चिरहेको बेला तत्कालीन माओवादीले यस गाउँमा पनि आतङ्क मच्चायो। आतङ्क मात्रै मच्चाएन, हिंस्रक जत्था नेकपा माओवादीले यस गाउँका एकजना निर्दोष सज्जन व्यक्तिको हत्या गर्यो। त्यसपछि माओवादी हिंसादेखी आतङ्कित भएर सबै गाउँलेहरू घर नै छाडेर हिँडे ।

"जम्मा १८ घर परिवार थिए, सवै बिनाडी परिवार नै हुन् । १८ परिवारमध्ये पाँच परिवारको दोघरी (तराईमा पनि घर भएका) थियो भने बाँकी १३ परिवार त्यही गाउँमा बस्थे। त्यो घटना भइसकेपछि सबैले डराएर गाउँ छोडे", गाउँनजिकै मट्घरमा दोकान गर्दै आएका कविराज बिनाडी भन्छन् । "रोजगारी भएका र शिक्षितहरुले त तराईतिर घर बनाइसकेका थिए, तर आर्थिक अवस्था कमजोर भएर कतै जानै नसक्ने परिवार पनि त्यो घटनापछि डराएर गाउँ छोड्न बाध्य भए", उनी सुनाउँछन् । "गाउँ छोड्नेमध्ये एक परिवारले त गाडी भाडासमेत नहुँदा डोकोमा आफ्ना भाँडाकुँडा बोकेर पैदलै कैलालीको जोशीपुर पुगेको उनी सम्झिन्छन् । मटघरमा अर्को घर भएकाले आफूहरू यता सरेको" उनले बताए । उनी आफ्नो बुबाले २०२८ सालमै त्यो गाउँमा काउली फलाएको बताउँछन् । कविराजले भने, "क्षेत्रमै पहिलो पटक काउली फलाउने हाम्रो गाउँ पहिलो हो रे । बुबा (चन्द्रदेव बिनाडी) ले त्यतिबेलै काउली फलाएपछि उक्त गाउँ तरकारीका लागि प्रसिद्ध भएको हो । अचेल कतैकतै आँप, च्युरी र ओखरका बोटमात्रै भेटिन्छ।" "के थियो घटना ?" "लासाका देवराज विनाडीका तीन भाइ छोरामध्ये जेठा छोरा यज्ञराज विनाडी वयस्क अवस्थाका थिए । २२ वर्षीय यज्ञराज स्थानीय विद्यालयको पढाइ सकेर उच्च माध्यमिक शिक्षाका लागि कैलालीको जोशीपुरमा रहेको रघुनाथ क्याम्पसमा भर्ना भए । उनी कक्षा ११ को परीक्षा दिएर घर आएका थिए । हक्की स्वाभावका यज्ञराज स्थानीय विकास निर्माणमा पनि चासो राख्थे । उनी गाउँ विकास समितिका योजनाबारे बुझिरहन्थे । माओवादी आतङ्कका कारण पढाइ पनि प्रभावित भइरहने भएकाले केही समय घरमै बसे र सामाजिक कार्यमा संलग्न भए । गाउँमा अलि टाठोबाठो उनको यी काम मन नपराउने माओवादीले उनीमाथि निगरानी बढायो । कक्षा १२ मा भर्ना हुनुपर्ने र पढाइ पनि शुरू हुने भएपछि २०६० असोज १८ गते दशैं मनाएर उनी असोज ३० गते कैलालीका लागि हिँडे । हिंस्रक माओवादीले बीच बाटोमै नियन्त्रणमा लियो । त्यतिबेला सडक बनिसकेको थिएन, कैलाली जान दिपायलसम्म पैदल गएर त्यहाँबाट बसमा जानुपर्थ्यो। अल्लेबन भन्ने ठाउँबाट समातेर घाँटी सेर्दैसेर्दै हलाल गरेर मारेछन् । लास नठाउनू, जसले लास छुन्छ, उसको पनि यस्तै हाल हुन्छ’ भनेपछि गाउँमा झन् त्रास बढ्यो।"

घटनाको बेला आफू सानै भएको बताउने कविराजले यज्ञराजको मृत्यु दर्दनाक भएको सुनेका छन् । "पहिले खुकुरीले आधा घाँटी काटेको रहेछ, त्यसपछि घिसार्दै तल लगेछन्", कविराज भन्छन्, "अन्ततः मारेर देउरडी (हालको केआई सिंह गाउँपालिका-३) को पिपलमा ठड्याए बाँधेछन् । ठूलीआमाले (यज्ञराजको आमा) मार्न त मारिहाल्यौ, अन्तिम पटक छोराको मुख हेर्न त देउ भन्दा पनि मानेनन् रे ।" घटना भएको तेस्रो दिन नेपाली सेनाको टोली आएर देउरडीकै स्थानीयलाई केही रकम दिएर शव जङ्गलमा गाड्न लगाएको कविराजले सुनाए । यज्ञराजको दाहसंस्कार समेत गर्न नपाउँदा घरपरिवारमा झन सङ्कट भएको कविराज बताउँछन् ।

"धेरै पटक प्रयास गरियो तर समाधान नभएपछि गत वर्ष गाउँकै जीर्ण घरमा बसेर उनको किरिया गरियो । "उनलाई गाडेको ठाउँबाट माटो ल्याएर अन्तिम संस्कार गरियो", कविराजले भने, "त्यसपछि विधिवत् रुपमा किरिया गरियो, अचेल अलि शान्ति भएको छ । यो घटना नभएको भए लासा गाउँ रित्तिने थिएन । दुःखद बिडम्बना के भयोभने, माओवादी हिंसाको क्रममा मारिएका डोटीका ६३ जनालाई सरकारले राष्ट्रिय शहीद घोषणा गर्दा यज्ञराज भने उक्त सूचीमा अटाएनन्।"

 

 

No comments:

Post a Comment