Pages

Tuesday, January 9, 2024

 हिंसात्मक अत्याचार  ।।


हिंसात्मक अत्याचार

घटना शुक्रबारदेखि भएको रहेछ मैले सारदा थापालाई अदालतमा देखेको आईतबार थियो । उनी श्रीमान श्रीमतिको सम्बन्ध विच्छेदका लागि अदालतले तोकेको पेशीका लागि उपस्थित हुन अदालत गएकी रहिछन् । उनीसँग अदालत परिसरमा उनका श्रीमान पनि थिए । म एक अर्को मेरै वडाको अंश मुद्दाको वकपत्रका लागि अदालत गएकी थिएँ । करीब एक बजेदेखि साढे तीन बजेसम्म म अदालत परिसरमै रहेको फूलबारीमा घाम तापेर बसेकी थिएँ । म पत्रकारीता पेशाको हिसाबले भन्दा पनि साक्षीको तर्फबाट बकपत्र गर्न गएकाले पनि अन्य विषयमा खासै ध्यान थिएन ।

 

त्यहिँ बस्दै गर्दा सारदा अदालतको मूल ढोकानिर कराएको सुनेँ । उनले भन्दै थिईन, ‘म यहाँबाट जान्न मलाई यीनिहरुले मार्छन । बरु म यहिँ बस्छु ।’ उनको आवाज चर्किएसँगै उनका श्रीमानले अलि नजिक गएर के भने मैले बुझिन । तर सारदा कराई रहिन । उनको कुरा नत त्यहाँ भएका प्रहरीले सुनेका थिए नत कुनै अदालतभित्र रहेका कोहि कसैले सुनेका थिए (सुनेर पनि नसुने जस्तो गरेका थिए) । जहाँ वकिल, नागरिक, कर्मचारी, प्रहरी लगाएत सबै थिए । न कसैले उनलाई हेरेको थिएन नत बोलेका थिए । (मानौं उनी मानसिक विरामी हुन, बोल्नुको अर्थ छैन जस्तै गरि)

 

मैले त्यहाँ भएका केहि वकिल, केहि न्यायका लागि गएका मान्छे लगाएत केहिसँग यी महिला किन यसो भनिरहेकी ? को रहिछन ? भनेर सोधें । सबैको एउटै एउटै कुरा थियो । यो महिला खराब हो । यीनले गाउँलेको ऋण लिएर नतिरेको र श्रीमानसँग सम्बन्ध विच्छेद हालेको बताए । केहिले लेनदेनको मुद्दा पनि छ भने ।

 

म वकपत्रको समय कुरिरहें । त्यहि समयमा अदालत भवन बाहिर परिसरमा २ जना महिलाहरु पनि भुत्भुताए । उनीहरु रिसले चुर छन भनि छुट्याउन मलाई कुनै समय लागेन । उनीहरु म बसेकै नजिकै बसेका थिए । उनीहरुलाई मैले देखेको हो चिनजान हैन । उनीहरुले महिला बोलिरहेकै बेला भने यसलाई अदालतबाट बाहिर मात्रै आओस न सास मात्रै बाँकी राखेर कुट्नुपर्छ भने । मैले भनेँ, किन कुट्ने ? खास कुरा के हो ?

 

उनीहरुले भने, ‘यसले पैसा खाएर काठमान्डौमा जग्गा किनी । अहिले ऋण नतिर्ने ? यसलाई नकुटेर कसलाई कुट्नु ?’

 

मैले त्यो महिलालाई कुट्छन भन्ने आँकलन गर्न सकिन । अनि उनीहरुलाई भनेँ, ‘किन कुट्नु ? कुटेर पैसा आउँछ र ?’ उनीहरुले अब अरु विकल्प छैन भन्दै थिए । अनि उनीहरुलाई सोधेँ, घर कहाँ हो तपाईँहरुको ? उनीहरुले ढकालगाउँ भने । म त्यसपछि वकपत्रमा गएँ । बकपत्र सकियो । म अदालतबाट फर्किएँ । सम्बन्ध विच्छेद र लेनदेनको मुद्दा भएकाले ती महिलालाई मैले केहि सोधिन । उनीहरु त्यतै थिए । प्रहरी प्रशासन जसरी पनि महिलालाई त्यहाँबाट घर पठाउने दाउमा रहेको देखिन्थ्यो ।

 

जब म घर आएँ त्यसको करीब डेढ, घण्टामा ती महिलालाई पोलमा बाँधेर गाउँलेले कुटेको अवस्थामा एसपी राजकुमार सिलवालले उद्धार गरेर सिन्धुली अस्पतालमा भर्ना गरेको खबर पाएँ । महिला अर्धचेत रहेको खबर आयो । त्यसको करीब आधा घण्टा जतिमा तीन दिनदेखि महिलालाई बन्धक बनाई कुटेको समाचार सिन्धुली खबरमा आयो । अनलाईन खोलेर हेरें तीनै अदालतमा सुरक्षा माग्ने महिला रहिछिन् फोटोमा । म छक्क परेँ । कुट्छौं, भन्थे कुटिसकेछन् । कति अमानवीय मान्छे रहेछन् जस्तो लाग्यो ।

 

तर मैले तीनदिनसम्म महिलालाई बन्धक बनाएको कुरा पत्याउन सकिन । समाचारले दोधार बनायो । कुटेको कुरामा विमति रहेन तर सदरमुकाममा तीनदिनसम्म बाँधेर कुट्दासम्म प्रहरीले सूचना नपाउनु, अदालतको ढोकामा सुरक्षा माग्दा ती महिलाले सुरक्षा नपाउनु, फेरी कुटिनु ? हैट हाम्रो सुरक्षा जस्तो लाग्यो ।

मङ्गलवार, जनवरी 09, 2024

 

म मेरो कार्यालयको कामले अलि व्यस्त थिएँ । तीन दिन बाँधेको घटना पुष्टि गर्ने आधार नपाउँदासम्म समाचार नलेख्ने निर्णय गरेँ । समाचार लेख्ने की नलेख्ने विषयमा हाम्रो पत्रिकाको टिममा छलफल चलिरहेको थियो । तथापी त्यसलाई तुरुन्तै लेख्नुभन्दा तीनदिन बन्धक बनाईएको कुरा के हो भन्ने विषयमा खोज्न हाम्रो टिम लाग्यो । उद्धार भएको भोलीपल्टसम्म पनि हामी यहि विषयमा छलफल र प्रमाणको खोजीमा रहयौं ।

 

त्यो बिचमा पत्रिकाको टिमबाट प्रहरीसँग बुझ्ने, समाचार तयार गर्ने काम भयो । पत्रिका र आफ्नो अनलाईनमा समाचार हाल्न तेस्रो दिन बिहान प्रमाण प्राप्त भएपछि हामी तयार भयौं । त्यो दिन समाचार मैले फाइनल गरें र पत्रिकामा प्रकाशित ग-यौं । अनलाईन अपडेट भयो । एकै दिन नयाँ पत्रिका दैनिक, प्रभात समाचार दैनिक र इसाझा नेपाल डटकममा समाचार प्रकाशन भयो । त्यसपछि देशभरका मिडियाले समाचार प्रकाशन गरे । कति सञ्चारमाध्यमले त्यो समाचार प्रकाशन प्रसारण गरे त्यसको आँकलन नै गर्न सकिएन ।

 

यति ढिलो समाचार प्रकाशन हुनुमा मैले त्यो घटनालाई विश्वास गर्न नसक्नु पहिलो कारण थियो । समाचार ब्रेक गर्ने नाममा हतारो हुन्छ की भन्ने आशंका हामीमा थियो । हामीले समाचार लेख्दा प्रहरीले घटनामा संलग्न भएका ७ जनालाई पक्राउ गरिसकेको थियो ।

 

अर्को कुरा सिन्धुलीको ढकालगाउँ राजनीतिक, सामाजिक रुपमा शिक्षित र सचेत नागरिक बस्ने गाउँका रुपमा चिनिन्छ । सदरमुकामको मुटुमा तीन दिनसम्म एउटा महिलामाथि समाज नै लागेर संगठित रुपमा यस्तो निकृष्ट व्यवहार हुन्छ भन्ने पत्याउन पनि सकस थियो । नपत्याउन पनि सकिएन ।

 

मलाई भने समाचार लेखिसक्दा पनि त्यहि अदालतको दृष्यले चिमोटिरहेको थियो । शिक्षित र सचेत समाजले त्यो खालको हर्कत गर्ला भन्ने भएको भए त्यो महिलालाई सोध्थें होला ? सायद सेफ हाउसमा पठाउँथे होला ? प्रहरीलाई सुरक्षा किन नदिएको भनेर सोध्थें होला ? त्यहाँसम्मको कल्पना गर्न समेत मैले सकिन । मैले एक पटक सारदालाई सोधेको भए पछिल्लो घटना अर्थात पोलमा बाँधेर अर्धचेत बनाउने अवस्था आउँदैन थियो होला ? मैले सारदालाई प्रश्न नगर्दा उनले थप सजाय पाईछन त्यसमा मलाई निकै पछुतो छ सधै पछुतो लागिरहने छ ।

 

अर्को कुरा प्रहरीलाई सबै घटनाक्रम थाहा थियो भन्ने बुझ्न बाहिर जानै पर्दैनथ्यो । त्यहाँ भएका सुरक्षा, कर्मचारी, नागरिक जो कोहिले महिलालाई दोष लगाईरहेका थिए ।

 

अदालत परिसरमा हुने जो कोहि सुरक्षा त्यतिकै मागिने चिज हैन भन्ने विषयमा संवेदनशिल थिएन । यसले सुरक्षा दिने प्रहरी नै यो घटनामा संलग्न थिए की भन्ने प्रश्न उब्जिन सक्छ । सुरक्षाको सूचना प्रहरीलाई थियो भने तत्काल रेस्कु किन भएन ? किन प्रहरी प्रमुख नै रेस्क्युमा खटिनु प-यो ? यसको चिरफार सुरक्षा क्षेत्रले पनि गर्न आवश्यक छ । जसको बदनामी समाजभरी फैलिएको छ । प्रहरी प्रमुख भन्दा तल्लो तहलाई घटनाको पूर्ण जानकारी थियो भन्ने चर्चा छ । जुन चर्चा चिर्न प्रहरीले सक्छ या सक्दैन त्यो हेर्न बाँकी छ ।

 

यो सँगै अदालत परिसरमा सुरक्षा माग्दा नपाउने कस्तो सुरक्षा दिईरहेका छौं भन्ने विषयमा पनि सुरक्षा क्षेत्र संवेदनशिल हुन आवश्यक छ । अदालतमै कुट्छौं भन्ने ती महिला कहाँ छन ? ती त पक्राउ परेका छैनन । तिनको खोजी प्रहरीले किन गरेन ? प्रहरीलाई घटनास्थलमा जान नदिई फर्काउने व्यक्तिहरु पनि खुलेआम छन भन्ने चर्चा छ त्यो पाटोबाट अनुसन्धान हुनु नपर्ने हो त ?

 

अर्को पाटो आर्थिक विषय पनि यो घटनामा जोडिएको छ । के सारदाले ऋण लिएर नतिरेकै हुन्, ऋण दिनेले लाखौं रुपैंया आम्दानी कसरी गरे ? त्यसको सरकारलाई तिर्नपर्ने कर तिरेका छन की छैनन । कतै बाँधेर चेक र कागजातमा हस्ताक्षर गरेका थिए की ? मिटरव्याजको प्रभाव त छैन घटनामा ? यो विषयमा समेत अनुसन्धान तेर्सिन आवश्यक छ । अर्को कुरा अहिले पनि पीडितका परिवारलाई बयान फेर्न र घटनालाई प्रभाव पार्न राजनीतिक दवाव, सामाजिक दवाव बढेको कुराहरु बाहिरिएका छन । ती प्रभाव रहनु हुदैन । घटनाको निष्पक्ष छानविन आवश्यक छ ।

मङ्गलवार, जनवरी 09, 2024   \  बिमला पाण्डे


No comments:

Post a Comment